१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

बागमती प्रदेशका मुख्यमन्त्री पौडेल भक्तपुरमा

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेले प्रदेश सरकारले प्रदेशका सबै अस्पतालमा आवश्यकताअनुसार स्वास्थ्य सामग्री र आवश्यक सहयोग गर्दै आइरहेको बताएका छन्। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिबीच नगरपालिकाको सभाकक्षमा सोमबार भएको भेटवार्तामा उनले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई पनि विभिन्न हिसाबले सहयोग गर्ने उल्लेख गरे। 

अरु स्थानीय तहले भन्दा भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण र पर्यटन उद्योगको विकासमा उदाहरणीय काम गरिरहेको भन्दै उनले प्रशंसा गरे। बागमती प्रदेशले सुरुमा शून्यबाट सुरु गर्दै हाल आवश्यक ऐन नियम बनाई प्रदेशलाई व्यवस्थित गर्दै लगिएको बताउँदै मुख्यमन्त्री पौडेलले संघ, प्रदेश र स्थानीय तहबीचको आपसी समन्वयले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय लक्ष्यलाई अगाडि बढाउन मद्दत पुग्ने विचार व्यक्त गरे। उनले सीमित स्रोतसाधनलाई अधिकत्तम सदुपयोग गर्दै तीनै तहका सरकारहरुले आअफ्नो क्षेत्रको समानुपातिक विकास गर्न सके देशको सन्तुलित विकास हुने धारणा राखे। 

देशका सबै स्थानीय तहहरुका आआफ्नै विशेषता, क्षमतामा साधन र स्रोतको उपलब्धता भिन्नभिन्न हुने भएकोले विकासका मोडलहरु पनि फरक फरक हुने बताउँदै उनले आफ्नो आवश्यकताअनुसार आफ्नो क्षेत्रको विकास योजना तर्जुमा गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

भेटमा नगर प्रमुख प्रजापतिले नगरपालिकाले नपाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, विकास निर्माण, सरसफाईलगायतका क्षेत्रमा गरिरहेका गतिविधि र उपलब्धीबारे जानकारी गराए। भक्तपुर नपाद्वारा सञ्चालित ख्वप अस्पताल निर्माणको लागि प्रदेश सरकारबाट प्राप्त सहयोगको लागि आभार प्रकट गर्दै प्रमुख प्रजापतिले आगामी दिनहरुमा पनि प्रदेश सरकारकोतर्फबाट ख्वप अस्पताल निर्माण तथा उपकरण व्यवस्थाको लागि आवश्यक सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे। उनले सक्षम स्थानीय तहहरुलाई विश्वविद्यालय सञ्चालन गर्न अनुमति दिनुपर्नेमा जोड दिँदै भक्तपुर नपा ख्वप विश्वविद्यालय सञ्चालन गरी समाजलाई बुद्धिजीवीकरण गर्ने उद्देश्यका साथ अगाडि बढिरहेको बताए।

भेटघाटपश्चात मुख्यमन्त्री डोरमणि पौडेलका साथ बागमती प्रदेश सभा सदस्य दिपक निरौलालगायतको प्रतिनिधिमण्डलको टोलीले भक्तपुर नपाद्वारा सञ्चालित ख्वप मावि, ख्वप कलेज, जनस्वास्थ्य सेवा केन्द्र, ख्वप अस्पताल, ख्वप अस्पताल कोभिड युनिट र ख्वप इन्जिनियरिङ कलेज तथा ख्वप कलेज अफ इन्जिनियरिङको स्थलगत अवलोकन भ्रमण गरेका थिए।

प्रकाशित: ४ श्रावण २०७८ १४:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App