coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

विगतका सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिइने छः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ बाट नेपाली नागरिकलाई जोगाउने सरकारको  पहिलो प्राथमिकता भएको बताएका छन्। आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न विश्वासको मतका लागि प्रतिनिधिसभामा प्रस्ताव पेश गर्दै उनले जनताको जीवनरक्षाका लागि सबै उपाय अवलम्बन गरिने विश्वास दिए।

यस्तै, प्रधानमन्त्री देउवाले विगतका सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिइने पनि बताए। उनले भने, “कोभिड–१९ लोकतन्त्रको चुनौतीका रुपमा रहेको छ, मुलुकमा गरिबी र रोजगारी साझा समस्या रहेका छन्, सङ्घीय लोकतान्त्रिक गणतन्त्र,  शान्ति र विकास हाम्रा साझा दायित्व हुन्। विगतका सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिइने छ।”

राजनीतिक दलबीच शान्तिपूर्ण प्रतिस्पर्धा र स्वस्थ्य आलोचना स्वाभाविक हो भन्दै उनले सबै राजनीतिक दलबीच सहमति र सहकार्य जरुरी रहेकोमा जोड दिए। उनले  मुलुकमा सुशासन कायम गरेर अघि बढ्ने विश्वास दिलाए।

नेपाली कांग्रेसका सभापति देउवाले भने, “मुलुकको हित तथा साझा उद्देश्य प्राप्तिका लागि दलहरुबीच सहकार्य आवश्यक छ।”  

मुलुक निकै जटिल अवस्थामा रहेको जनाउँदै उनले पटकपटकको प्रतिनिधिसभाको विघटनका कारण मुलुकमा थप अन्योल छाएको स्मरण गराउँदै निरन्तर सहयोग र समर्थन गर्न सबै राजनीतिक दललाई आग्रह गरे। प्रधानमन्त्री देउवाले सदनलाई अधिकार सम्पन्न र लोकतन्त्रलाई बलियो बनाउँदै राजनीतिक स्थिरताका लागि आफूलाई विश्वासको मत दिन प्रतिनिधिसभाका सबै सदस्यसँग अनुरोध गरे।

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलले अहिले उक्त प्रस्तावमाथि दलगत धारणा राखिरहेका छन्।

विश्वासको मतसम्बन्धी प्रस्तावमाथि उठेका प्रश्नको जवाफपछि सो प्रस्तावलाई निर्णयार्थ सभामा प्रस्तुत गरिने कार्यसूची छ।

प्रकाशित: ३ श्रावण २०७८ १३:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App