१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कर्णाली प्रदेश: बजेट अधिवेशन अन्त्य, अध्यादेशमार्फत बजेट ल्याइने

एमालेको लगातारको अवरोधका कारण कर्णाली प्रदेशसभाको बजेट अधिवेशन बुधबार मध्यराति अन्त्य गरिएको छ। सरकारले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेसँगै एमालेले छलफल हुन नदिएर लगातार संसद अवरुद्ध गर्दै आइरहेको थियो। 

संसदबाट बजेट पारित हुने संभावना टर्दै गएपछि मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको आठौं अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसँग सिफारिस गरेको थियो। प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले राति १२ बजेदेखि लागू हुने गरेर प्रदेशसभाको आठौं अधिवेशन अन्त्यको घोषणा गरेका थिए।  

प्रदेश सरकारले अव अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरेको छ। त्यसका लागि बिहीबार मन्त्रिपरिषद्को बैठक बोलाइएको छ। आर्थिक वर्ष २०७८/०७९ का लागि प्रदेश सरकारले कुल ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार रुपैयाँ बजेट संसदमा प्रस्तुत गरेको थियो। प्रमुख प्रतिपक्षी दल एमालेले फ्लोरक्रस गरेर मन्त्री बनेका आफ्ना तीन जना सांसदको राजीनामा माग्दै बजेटमाथि छलफल हुन दिएन्।  

‘बजेटमाथि छलफल गरेर पारित गराउने विषयमा कार्यव्यवस्था परामर्श समिति र राजनीतिक संयन्त्रको बैठक पटक पटक बसेपनि कुनै निस्कर्ष निस्किएन्,’ सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले भने, ‘संसदबाट बजेट पारित हुने अवस्था नदेखिएकाले संसद अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याउने तयारी सरकारले गरेको हो।’  

सरकारले बजेट प्रस्तुत गरेलगत्तै असार ४ गतेदेखि बजेटमाथि दफावार छलफल गर्ने कार्यसूचि थियो। एमालेले त्यसयताका १० वटा बैठक लगातार अवरुद्ध गर्‍यो। असार ४, ६, ८, ११, १३, १८, २४, २७, २९ र ३० गते बैठक बसेपनि एमालेले बजेटमाथि छलफल हुन दिएन्।

प्रकाशित: ३१ असार २०७८ ०७:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App