२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

आयोगको फैसलापछि मात्र यादव पक्ष सरकारमा जाने

तस्बिर: रासस

जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष आधिकारिकताको विषयमा निर्वाचन आयोगको फैसला पछि मात्र सरकारमा जाने भएको छ। आयोगमा आधिकारिकताको मुद्दा अहिले विचाराधीन अवस्थामा छ। आयोगले यस विषयमा टुंगो लगाउन इजलाससमेत गठन गरेको छ। साउन ३ गते इजलासले यस विषयमा छलफल गर्ने भएको छ।  

जसपाको आधिकारिकताको दाबी गर्दै महन्थ ठाकुर र उपेन्द्र यादव पक्षले निर्वाचन आयोगमा निवेदन दिएका छन्। सरकारमा जाने विषयमा उपेन्द्र यादव पक्षले मंगलबार पार्टी कार्यालय बालकुमारीमा कार्यकारिणी समितिको बैठक बोलाएको थियो। उक्त बैठकले निर्वाचन आयोगको फैसला पछि मात्र सरकारमा जाने निर्णय गरेको कार्यकारिणी समितिका सदस्य महेन्द्र यादवले बताए। अहिले आफूहरू सरकारमा नगए पनि सरकारलाई सहयोग र समर्थन गर्ने उनको भनाइ छ।  

जसपा स्रोतका अनुसार पहिलो चरणमै सरकारमा जाने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्का अध्यक्ष पुष्पकमल दाहालले जसपा अध्यक्ष उपेन्द्र यादवलाई आग्रह गरेका थिए। तर यादव भने आधिकारिकताको टुंगो लागे पछि मात्र आफूहरू सरकारमा जाने बताए। स्रोतका अनुसार अध्यक्ष यादवले यसपटक आफू सरकारमा नजाने आफूनिकटसँग बताएका छन्। 

उनी सरकारमा नगए यादव पक्षको तर्फबाट राजेन्द्र श्रेष्ठ या महेन्द्र यादवले सरकारको नेतृत्व गर्ने भएका छन्। यसपटक सरकारमा जान उपेन्द्र यादव पक्षबाट रेणु यादव, रामसहाय यादव, इस्तियाक राई, मृगेन्द्रसिंह यादव, प्रदीप यादवलगायतकाले चासो देखाएका छन्। मृगेन्द्रसिंह यादवले कित्ता परिवर्तन गरी ठाकुर पक्षबाट यादव पक्षमा गएका छन्। त्यसैले उनलाई मन्त्री बनाउन यादवलाई दबाब परेको छ।

निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दियो भने ठाकुर पक्षका केही सांसदहरूले कित्ता परिवर्तन गरी उपेन्द्र यादव पक्षमा आउने यादव पक्षका नेताहरूको बुझाइ छ। ‘अहिले नै अर्को पक्षका केही नेताहरू हाम्रोतिर आउन चाहनु भएको छ। आयोगले हामीलाई आधिकारिकता दियो भने केपी ओली नेतृत्व सरकारमा मन्त्री नभएकाहरू हाम्रोतीर आउने सम्भावना प्रवल छ’यादवले भने। स्रोतका अनुसार ठाकुर पक्षबाट प्रमोद साह, रानीमण्डल तथा अमृता अग्रहरिलगायतकाले यादव पक्षमा जान चासो देखाएका छन्। 

प्रमोद साहले पार्टी अध्यक्ष यादवसँग सोझै कुराकानी गरेका छन। उनलाई मन्त्री बनाउने आश्वासन अध्यक्ष यादवले दिएको स्रोतले बतायो। ओली सरकारमा मन्त्री नबनाएकोमा साह ठाकुर र राजेन्द्र महतोसँग असन्तुष्ट छन्। आजाभोली उनी ठाकुर र महताको सम्पर्कमा छैनन।  

यादव निकट एक नेताले भने,‘आयोगले हामीलाई आधिकारिकता दियो भने ठाकुर पक्षका ४÷५ जना सासद हाम्रोतीर आउने निश्चित छ। उहाँहरूलाई मन्त्री बनाउन हामीलाई दाबाब पर्छ।’ती नेताले भने,‘त्यसैले आयोगले आधिकारिकता दिएपछि मात्र सरकारमा जाने हाम्रो योजना हो।’ 

स्रोतका अनुसार उपेन्द्र यादव पक्षबाट महेन्द्र यादव र इस्तिायक राईले ठाकुर पक्षका केही सासदहरूसँग छलफल र कुराकानी अघि बढाएका छन्। प्रतिनिधिसभामा जसपाका ३४ जना सांसद छन्। तीमध्ये हरिनारायण रौनियार र रेशम चौधरी निलम्बित अवस्थामा छन्। बाँकी ३२ जना सांसद मध्ये ठाकुरको पक्षमा २० जना र यादवको पक्षमा १२ जना सांसद छन्। तर यादव पक्ष सरकारमा जाने भएपछि यो संख्यामा फेरबदल हुने जसपाका नेताहरू बताउँछन्।

प्रकाशित: ३० असार २०७८ ०३:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App