१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

हाम्रा डाक्टरहरु अलि सुरा जस्तो लाग्यो : प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले देशले विज्ञान प्रविधिको क्षेत्रमा फड्को मारेको बताएका छन्।  

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)द्वारा गत वर्ष विज्ञान र प्रविधिका क्षेत्रमा उदाहरणीय काम गर्ने व्यक्तिहरुलाई सम्मान गर्न बिहीबार आयोजित कार्यक्रममा प्रधानमन्त्रीले उक्त कुरा बताउँदै सोही कारण आफ्नो दोस्रो मृगौला प्रत्यारोपण स्वदेशमै सफल भएको बताएका हुन्।

‘हाम्रा डाक्टरहरु अलि सुरा जस्तो लाग्यो। बाहिरका डाक्टरहरुले केही समय डायलाइसिस मै बस्नुपर्ने जस्तो कुरा गरेका थिए, यहाँका डाक्टरले हामीले गर्छाै भने’, उनले भने, ‘पहिलो पटक गर्दा बारम्बार संक्रमणहरुले सताउने गरे पनि दोस्रो पटकको प्रत्यारोपणपछि भने त्यस्तो संक्रमण झेल्नु परेन, १२/१३ दिनमै कार्यक्रममा भाग लिन थालेँ।’

सो अवसरमा उनले प्रकृति प्रदत्त साधन स्रोत र पूर्वजका ज्ञानलाई उपयोग गर्न सके विश्वस्तरकै आविष्कार गर्न नेपाली वैज्ञानिकहरु सक्षम रहेको बताए। प्रधानमन्त्री ओलीले  हरेक नागरिकलाई आआफ्ना प्रतिभा पत्ता लगाउने र  रुचिका विषयमा खोज अनुसन्धान गर्ने अवसर दिइनु पर्ने बताए।

नास्टका कूलपति समेत रहेका उनले समृद्ध नेपाल सुखी नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न अभाव र विभेदरहित, शान्त सभ्य र मानवता युक्त समाजको आवश्यकतामा जोड दिए।  ‘हामी मानवीय आवश्यकता परिपूर्ति भएको समाज निर्माण गर्न चाहन्छौ भने हरेकलाई प्रतिभा प्रस्फुटन गर्ने अवसर उपलब्ध हुनुपर्छ’, उनको भनाइ थियो।  

कार्यक्रममा प्रधानमन्त्री ओलीले देशको विज्ञान प्रविधि क्षेत्रमा उल्लेखनीय कार्य गरेबापत २०७७ सालको नास्ट प्रकृति संरक्षण पुरस्कार, विश्व वन्य जन्तु कोष नेपाललाई र नवप्रवर्तनको नयाँ उचाईमा प्रबद्र्धन गरे बापत सोही वर्षको कुलपति राष्ट्रिय नवप्रर्तन पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरे। यसै गरी उनले हिमाली क्षेत्रमा जलवायु प्रभावबारे सफल अनुसन्धान गरेबापत उत्तमबाबु श्रेष्ठलाई विज्ञान प्रविधि पुरस्कार तथा  कोभिड सम्बन्धी विशेष अनुसन्धानका लागि शुक्रराज ट्रपिकल अस्पतालका शेरबहादुर पुन, उपत्यकको  भूमिगत जल संचयबारे अनुसन्धानका लागि भेषराज थापा, कोभिड एन्टीबडीसम्बन्धी अनुसन्धानका लागि सुनिता गौतमलाई विज्ञान पुरस्कार प्रदान गरेका थिए।  

कार्यक्रममा डा. आनन्द मिश्रलाई  धानको भुसबाट विशेष मल तयार गर्ने प्रविधि विकास गरे बापत,  डा अनुपमान श्रेष्ठलाई  बालिरोग नियन्त्रणमा जैविक विषादी सम्बन्धी अनुसन्धान गरेबापत र  डा. सागर रेग्मीलाई क्यान्सर र व्यायामको अन्तरसम्बन्ध सम्बन्धी अनुसन्धानका लागि विज्ञान पुरस्कार प्रदान गरिएको थियो । यसैगरी महिला विज्ञान पुरस्कार डेंगुरोग फैलनमा तापक्रमको भुमिकाबारेको अनुसन्धानका लागि रेश्मा तुलाधरलाई प्रदान गरिएको थियो।

विद्यालयमा विज्ञान शिक्षाको प्रवद्र्धन गरेबापत राजधानीको ज्ञानोदय माविका प्रधानाध्यापक नातिकाजी महर्जनलाई समेत पुरस्कार प्रदान गरिएको थियो।

यसैगरी खगोल विधा र स्पेस रोबोटिकका लागि मनिषा द्वार, विज्ञान पत्रकारिताका लागि गोविन्द प्रसाद पोखरेललाई विज्ञान पुरस्कार प्रदान गरिएको थियो।

प्रकाशित: २४ असार २०७८ १२:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App