coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

लुम्बिनी प्रदेश: जसपाका ४ मन्त्रीलाई फेरि स्पष्टीकरण

लुम्बिनी प्रदेश सरकारमा सहभागी चारजना मन्त्रीलाई जनता समाजवादी पार्टीले पुनः स्पष्टीकरण सोधेको छ । पार्टीको ह्विप उल्लंघन गर्दै सरकारको नीति तथा कार्यक्रमका पक्षमा मतदान गरेको भन्दै जसपा केन्द्रीय समिति ( उपेन्द्र यादव समूह)ले मन्त्रीहरु सन्तोष पाण्डे, कल्पना पाण्डे, बिजयबहादुर यादव र सुमन शर्मा रायमाझीलाई ५ स्पष्टीकरण सोधेको हो । जसपाले तीन बुँदे स्पष्टीकर सोध्दै पाँच दिनभित्र जवाफ दिने निर्देशन दिएको छ ।  

स्पष्टीकरण पत्रको पहिलो नम्बर बुँदामा प्रदेशसभामा पेश भएको नीति तथा कार्यक्रमका पक्षमा किन मतदान गरिएको भनेर सोधिएको छ । ‘प्रदेशसभामा पेश भएको नीति तथा कार्यक्रम समय सापेक्ष नभई त्यसका विरुद्ध मतदान गर्न जसपा लुम्बिनी प्रदेश सभा संसदीय दलले राजनीतिक दल सम्बनधी ऐन जारी गरेको ह्विप तपाईँले किन उल्लंघन गर्नु भएको हो ?’ स्पष्टीकरणको पहिलो प्रश्नमा सोधिएको छ । प्रदेश सरकारले जेठ २५ मा सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गरेको थियो ।   

यसैगरि जसपाले उनीहरुले पार्टीको नीति तोड्दै पार्टी  बिरोधी गतिविधी गरेको प्रति पनि आपत्ति जनाएको छ । साथै उसले पार्टीमा किन रहनु पर्ने भन्दै उनीहरुलाई सोधिएको छ । स्पष्टीकरणको दोस्रो प्रश्नमा सोधिएको छ, ‘जसपा नेपालको नीति, कार्यक्रम र निर्णय प्रति प्रतिवद्ध रहनु पर्नेमा पार्टी हित बिपरित प्रस्तुत भई लुम्बिनी प्रदेशको संसदीय दलको नेता र प्रमुख सचेतकद्वारा जारी ह्विप पालना नगरि पार्टी र संसदीय दल बिरोधी षडयन्त्र र गतिविधी जारी राखि पार्टीमा रहिरहनु के मनासिव हुन्छ ?’ यसैगरि जसपाले उनीहरुले यसअघि गरेको पार्टी ह्विप उल्लंघनलाई पनि कारबाही गर्नुपर्ने अर्को कारण खुलाएको छ । दुई पटक पार्टी ह्विप उल्लंघन गरिनु ‘संसदीय दल बिरोधी गम्भिर कसुर’ ठहर्याएको जसपाले उनीहरुलाई दल त्यागको कसुरमा कारबाही किन नगर्ने ? भनेर स्पष्टीकरणको तेस्रो बुँदामा सोधिएको छ ।  

पाँच दिनको स्पष्टीकरणको समय दिएको जसपा केन्द्रीय समितिले उनीहरुले जवाफ नदिएको वा चित्त बुझ्दो जवाफ नआएमा पार्टीबाट पुनः निष्काशन गर्ने जनाएको छ । ‘पार्टीको नीति बिपरित उनीहरुले गरेको गलत कार्य किन भएको ? भनेर पार्टीले स्पष्टीकरण सोधेको हो,’ जसपा लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोक यादवले भने, ‘उनीहरुले जवाफ नदिएको खण्डमा उनीहरुलाई कारबाही हुन्छ ।’

सरकारमा सहभागी जसपाका चार मन्त्रीलाई यसअघि पनि कारबाही गरिएको थियो । पार्टी ह्विप उल्लंघन गर्दै सरकारको कित्तामा गईपुगेको भन्दै जसपाले उनीहरुलाई सांसद पदबाट निलम्बन गर्ने गरि कारबाही गरेको थियो । उनीहरु पहिलो पटक वैशाख ६ मा सरकारमा सहभागी भएका थिए । प्रतिपक्षमा रहने जसपाको आधिकारीक निर्णयविरुद्ध कदम चालेको भन्दै जसपाले उनीहरुलाई त्यो बेला पनि स्पष्टीकरण सोधेको थियो । तर स्पष्टीकरण नदिएपछि जसपाले उनीहरु सांसद नरहने गरि १६ वैशाखमा कारबाही गरेको थियो ।  

उनीहरुको सांसद पद गुमेको संसद सचिवालयले सूचना जारी गरेपछि उनीहरु मन्त्री पदबाट पनि मुक्त भएका थिए । तर वैशाख १९ मा मुख्यमन्त्री शंकर पोखरेलले उनीहरुलाई पुनः मन्त्री नियुक्त गरेका थिए ।  

आफूहरुलाई बिना कारण कारबाही गरिएको दाबीसहित सर्वोच्च अदालत धाएका उनीहरुको पक्षमा सर्वोच्चले ३ जेठमा अन्तरिम आदेश दिएको थियो । सर्वोच्चको अन्तरिम आदेशसँगै उनीहरु पुनः सांसद कायम भएका हुन् । तर यो मुद्दाको अन्तिम फैसला भने हुन बाँकी नै छ ।

यता दोस्रो पटक कारबाहीको दायरामा परेका मन्त्रीहरुले भने स्पष्टीकरण पत्र आफूहरुलाई प्राप्त नभएको र प्राप्त भएपनि स्पष्टीकरण नदिने अडान लिएका छन् । उनीहरुले स्पष्टीकरण सोध्ने उपेन्द्र समूह जसपाको आधिकारीक केन्द्रीय नेतृत्व नरहेको भन्दै आफूहरुले जवाफ दिनुपर्ने कुनै कारण नरहेको बताएका छन् । ‘स्पष्टीकरण पत्र हामीहरुले पाएका छैनौँ र पाए पनि हामीहरुले स्पष्टीकरण दिन्नौँ,’ जसपाबाट सरकारमा सहभागी भौतिक पूर्वाधार बिकास मन्त्री सन्तोषकुमार पाण्डेले भने, ‘हामीहरुलाई जसले स्पष्टीकरण सोधेको छ, त्यो समूह त जसपाको आधिकारीक समूहनै हैन नि, अनि जसपाको आधिकारीकता बाहिरको समूहले सोधेको स्पष्टीकरणको जवाफ हामीले किन दिने ?’  

उपेन्द्र यादवको समूह जसपाको आधिकारीकता माग गर्दै निर्वाचन आयोगमा धाईरहेको भन्दै मन्त्री पाण्डेले आधिकारीकता नभएकै समूहले स्पष्टीकरण सोध्ने आधार के ? भन्दै प्रश्न गरे । ‘उपेन्द्र यादवहरु हामीलाई जसपाको आधिकारीकता चाहियो भनेर निर्वाचन आयोग धाईरहेका छन्, यसको मतलव त उनीहरु जसपाको आधिकारीक रहेनछन् भन्ने पुष्टि भयो नि त ,’ मन्त्री पाण्डेले भने, ‘उनीहरुले नै हामीहरु आधिकारीक हैनौँ, आधिकारीक मानिदिनु पर्यो भनेर बिन्ती बिसाईरहेका छन् भने अनि हामीहरुलाई स्पष्टीकरण सोध्ने अधिकार कसरी छ उनीहरुलाई ?’ साथै उनले उपेन्द्र यादवलाई पहिला जसपाको नेता बनेर आउन चुनौती समेत दिए । ‘जो अल्पमतमा छ, उसैले स्पष्टीकरण सोध्ने ?’ मन्त्री पाण्डेले भने, ‘उपेन्द्र यादव पहिला जसपा बनेर आउन, अनि स्पष्टीकरणको कुरा गरौँला ।’  

जसपाबाट सनतोषकुमार पाण्डे भौतिक पूर्वाधार बिकास मन्त्री, सुमन शर्मा रायमाझी भौतिक पूर्वाधार बिकास रायमन्त्री, कल्पना पाण्डे उद्योग तथा वातावरण मन्त्री र बिजयबहादुर यादव भूमि ब्यवस्था तथा कृषि मन्त्री बनेका छन् ।

 

प्रकाशित: ६ असार २०७८ ०७:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App