१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

खनाल उपचारमा दिल्ली जानुअघि पार्टी एकताका लागि आह्वान

पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफू उपचारमा जानुअघि एमालेको विवाद समाधान गर्न प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरेका छन्। भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारका लागि जान लागेका बेला प्रधानमन्त्री ओलीसँगको टेलिफोन सम्बादमा खनालले ओलीलाई सो आग्रह गरेका हुन्। ओलीले खनालाई स्वास्थ्य लाभको कामनाका लागि फोन गरेका थिए।  

खनाल बुधबार नै नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा भर्ना भइसकेका छन्। दिल्ली जानुअघि प्रधानमन्त्री ओलीले नेता खनालको उपचारका लागि सरकारले सघाउने बताएका थिए। खनालको स्वास्थ्य अवस्थाको पछिल्लो खबर सुनेर आफू चिन्तित भएको भन्दै ओलीले ढुक्क भएर उपचारमा जान आग्रह गरेका थिए। अर्थमन्त्री विष्णु पौडेलले खनालसँग कुरा गरेर प्रधानमन्त्रीसँग कुरा गराएका थिए।  

आफूलाई एकीकृत एमाले चाहिएको भन्दै खनालले ओलीलाई सबै कुरा बिर्सेर पार्टी मिलाइदिन आग्रह गरेका थिए। ओलीले पार्टी मिलाउन आफू अधिकतम लचिलो भएको भन्दै पार्टी मिलाउने आश्वासन दिएका छन्। खनालले बुधबार नर्भिक अस्पतालमा भेट्न पुगेका महासचिव पोखरेललाई पार्टी मिलाउन आग्रह गरेका थिए। नेता खनालले बुधबार नै आफू उपचारको क्रममा नयाँ दिल्ली जान लागेको बताउदै एक विज्ञप्ति प्रकाशित गरेर पार्टी एकताको पक्षमा पहल गर्न सबैलाई आग्रह गरेका थिए।  

‘देशको बिथोलिएको वर्तमान राजनीतिक अवस्थाले मलाई धेरै चिन्तित बनाएको छ। राजनीतिक दलहरू विवाद र ध्रुवीकरणले विभाजनउन्मुख भएका छन्। त्यही अन्तरसंघर्षको पराकम्पन हाम्रो तत्कालीन पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पर्यो र अहिले नेकपा (एमाले) मा परिरहेको छ। राष्ट्रिय एकता–अखण्डता लोकतन्त्र र स्थायीत्वको खम्बाको रूपमा रहेका दलहरूभित्र यस्तो हुनु देश, जनता, लोकतन्त्र, विकास र समृद्धिका निम्ती दुर्भाग्यपूर्ण अवस्था हो,’ उनले भनेका छन्, ‘त्यसैले देशका प्रमुख दलहरू र तिनका नेताहरू विचको अनावश्यक टकराव, महत्वकांक्षा र व्यक्तिगत इगो साध्ने कार्य यथाशीघ्र अन्त्य गरिनु पर्दछ। हामी सबै एकजुट भएर मुलुकका मुलभूत समस्या हल गर्नु पर्दछ भन्ने कुरा म सबैलाई आग्रह गर्न चाहान्छु।’  

उनले नेकपा (एमाले) सयौँ सहिदहरूको वलिदान, हजारौं योद्धाहरूको रगत पसिना, कैयौँको प्रवास, जेल, भूमिगत जीवनको संघर्ष, त्याग र तपस्याको कारण सफलताको यो बिन्दुसम्म आइपुगेको भन्दै एमाले देशको नेतृत्वदायी, राष्ट्र र जनताको हित तथा विकास र समृद्धिको वाहक बनोस् र बन्नेछ भन्ने अपेक्षा राखेको समेत बताएका छन्। जनताको चाहना र अपेक्षा विपरित देखिएका अनेकौं गलत प्रवृत्ति, बदलाको भाव र अनावश्यक ईगोका कारण पार्टी जीवनमा यतिखेर गम्भीर संकट उत्पन्न भएको भनदै उनले देश, लोकतन्त्र र पार्टीको यो अवस्थाले आफूलाई अत्यन्तै चिन्तित बनाएको समेत बताएका छन्। ‘एकता सफलताको बाटो हो भने फुट विनासको। त्यसैले रिस, राग, अहंकार र बदला भाव त्यागेर पार्टीका वैधानिक प्रक्रियाअन्तर्गत यो पार्टी फुटबाट जोगाउन तथा एकताबद्ध पार्न म सबै नेता कार्यकर्ताहरूलाई विशेष आह्वान गर्न चहान्छु। पार्टीलाई फुटतर्फ धकेल्ने होइन, धैर्य र संयमका साथ एकता जोगाउने प्रयत्न गर्यौ भने मात्र हामि सफल हुन सक्छौं र सिंगो राष्ट्रको नेतृत्व गर्न सक्छौं,’ उनले भनेका छन्।  

एमालेभित्रको विवाद मिलाउन दोस्रो तहका नेताहरू सक्रिय रहेका बेला उच्च नेताबीचमा पनि अनौपचारिक संवाद भए पनि कुनै पनि निकास नआएको बेला खनालले सो विज्ञप्ति जारी गर्नुलाई अर्थपूर्ण मानिएको छ।  

खनाललाई के भएको हो ?  

निरन्तर ज्वरो आउन थालेपछि नेता खनाल तीन दिन अघि नर्भिक अस्पतालमा भर्ना भएका थिए। उनको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको तथा ज्वरोसँगै स्वास्थ्यमा थकान महसुस हुने, श्वास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएपछि उनलाई गत जेठ ३१ गते अस्पताल भर्ना गरिएको थियो। केही महिनाअघि नेता खनाल कोभिड–१९ सक्रमणमुक्त भएका थिए। उनको अन्य चेकजाँच पनि गर्नुपर्ने भएको र त्यसको रिपोर्ट ढिलो आउने भएपछि भारतमा उपचार गर्नुनै उपयुक्त ठानिएको थियो। बुधबार नै भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उनको उपचारका भर्ना गरिएको छ।

लगातार ज्वरो आएसँगै सास फेर्न गाह्रो भएपछि तीन दिन अघि नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। त्यसपछि नर्भिकको विशेष वार्डमा राखेर उनको उपचार जारी राखिएको थियो। उपचारमा संलग्न चिकित्सहरूकाअनुसार उनको फोक्सोमा पानी जमेको देखिएको थियो। फोक्सोमा पानी जमेका कारण अक्सिजनको कमी देखिएको थियो। उनलाई निरन्तर अक्सिजनकै सपोर्टमा राखिएको थियो।  

उनमा ज्वरो उल्लेख्य घट्न सकेको थिएन। पिसाब तथा रगतमा समेत ‘इन्फेक्सन’ देखिएको थियो। अस्पतालका अनुसार उनलाई मंगलबार एक पिन्ट रगत समेत दिइएको थियो। हेमोग्लोबिनको मात्रा कमी देखिएपछि रगत चढाइएको थियो। दुई पिन्ट रगत चढाउने योजना बनेको भए पनि शरीरले सपोर्ट नगरेपछि एक पिन्ट मात्र रगत चढाइएको थियो। नेता खनालको निरन्तर खोकी र शरीर शिथिल भएको अस्पतालले जनाएको छ। चिकित्सकहरूले कोभिड हुँदा उनलाई निमोनियाको समस्या देखिएको र सो समस्या फेरि बल्झिएको समेत आशंका गरेका छन्।

नेता खनालमा मृगौलाको समस्याबाट हुने लक्षण र कोभिडपछि देखिने लक्षणहरू देखिएको उपचारमा संलग्न चेस्ट फिजिसियन डा. ब्रजेन्द्र श्रीवास्तवले बताएका छन्। डा. श्रीवास्तवका अनुसार खनालको रगत र पिसाबमा समेत इन्फेक्सन देखिएको थियो।

प्रकाशित: ३ असार २०७८ ०१:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App