१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सामान्य प्रशासनमा ओली चलखेलः मन्त्री र सचिव फेरिएको फेरियै

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको प्रशासनलाई अस्थिर भनेर विश्लेषण गर्न थालिएको छ। उनले सरकारको निरन्तर नेतृत्व गर्दै आएको तीन वर्ष चार महिना भएको छ। सो अवधिमा १८ पटक मन्त्रिमण्डल हेरफेर गरिएको छ। त्यसक्रममा ६७ जना मन्त्री बनाइए। सोही अवधिमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा मात्र चार मन्त्री फेरबदल भए। सचिव पनि पाँचजना फेरिए।  

२०७८ साल लागेयता दुई महिनाको अन्तराल पनि नबित्दै वैशाख ३१ तथा जेठ २१ र २७ मा गरी तीनपटक मन्त्रिमण्डल हेरफेर भएको छ। यसबीचमा सबै मन्त्रालयमा कम्तीमा पटकपटक मन्त्री र सचिव फेरिएकै छन्। तर सिंगो प्रशासन सञ्चालनको जिम्मेवारी लिएको सामान्य प्रशासन मन्त्रालय भने ओलीले शासन हाँकेयता सबैभन्दा अस्थिर बन्न पुग्यो।

सामान्य प्रशासनमा मन्त्री मात्र नभएर सचिव, सहसचिवलगायत माथिल्लो तहका कर्मचारीको फटाफट फेरबदल भयो। यसो गर्दा प्रशासन क्षेत्र अस्थिर बन्न पुग्ने प्रशासन विज्ञहरूको बुझाइ छ। ‘पहिलोपटक मन्त्री भएको व्यक्तिलाई मन्त्रालय बुझ्न मात्रै तीन–चार महिना लाग्छ। बल्ल मन्त्रालयबारे बुझ्न थाल्दा उसको फेरबदल हुन्छ,’ पूर्वसामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले भने, ‘त्यसपछि उसले लोकलाजले मैले राम्रो काम गरेको छु भन्नेबाहेक अरू केही गर्न सकेको हुँदैन।’

सामान्य प्रशासनमन्त्रीको संयोजकत्वमा गठन गरिने सचिव सरुवा सिफारिस समितिमा मुख्य सचिव र सामान्य प्रशासन सचिव पदेन सदस्य रहने व्यवस्था निजामती सेवा ऐन, २०४९ मा गरिएको छ। उक्त व्यवस्थालाई प्रधानमन्त्री ओलीले पटकपटक लत्याएका छन्।

आफू पहिले पनि सामान्य प्रशासनमन्त्री भइसकेकाले दोहोर्‍याएर मन्त्री हुँदा मन्त्रालय बुझ्न त्यति समय नलागेको उनले बताए। त्यसपछि पटकपटक मन्त्री र सचिव फेरबदल भइरहेकाले आफूले सुरु गरेको काम अहिले पनि त्यही अवस्थामा रहेको उाले बताए। ‘मैले मन्त्रालय छाड्दा जेजे काम भएका थिए, अहिले पनि त्यही नै अवस्था छ,’ उनले भने।

सामान्य प्रशासन मन्त्रालयमा पण्डित मन्त्रीका रूपमा २० महिना रहे। ओली प्रधानमन्त्री भएको बेला सबैभन्दा लामो समय सामान्य प्रशासन मन्त्रालय चलाउने उनी नै हुन्। उनका पालमा पनि तीनपटक सचिव फेरिए। उनी सामान्य प्रशासनमन्त्री हुँदा दिनेश थपलिया सचिव थिए। थपलिया निर्वाचन आयोगमा गएपछि करिब तीन महिना सुरेश अधिकारीले कार्यवाहक सामान्य सचिव भई काम गरे। अधिकारीपछि यादव कोइराला आए। पण्डितले सामान्य मन्त्रालय छाड्ने बेला सूर्य गौतम सचिव थिए।

पण्डितपछि हृदयेश त्रिपाठी सामान्य प्रशासन मन्त्री भए। उनले पनि त्यहाँ धेरै लामो समय काम गर्न पाएनन्। २०७७ कात्तिकमा त्रिपाठी बिरामी भई घरमा बसेका थिए। प्रधानमन्त्री ओलीले मन्त्री त्रिपाठीलाई समेत थाहै नदिई तत्कालीन सचिव गौतमको सरुवा गरे। सरुवा हुने गौतमले पनि पछि मात्र आफू सरुवा भएको थाहा पाए। त्यतिबेला उनी कोरोना संक्रमणभएर होम आइसोलेसनमा थिए। जबकि सचिव सरुवाका लागि छुट्टै कानुनी व्यवस्था छ।

उक्त व्यवस्थाअनुसार सामान्य प्रशासनका मन्त्री र सचिवले थाहा नपाउनेगरी सरुवा हुने भन्ने कुरै हुँदैन। किनकि सामान्य प्रशासनमन्त्रीको संयोजकत्वमा गठन गरिने सचिव सरुवा सिफारिस समितिमा मुख्य सचिव र सामान्य प्रशासन सचिव पदेन सदस्य रहने व्यवस्था निजामती सेवा ऐन, २०४९ मा गरिएको छ। उक्त व्यवस्थालाई प्रधानमन्त्री ओलीले पटकपटक लत्याएका छन्।

त्यसो त सचिव सरुवा सिफारिस समितिलाई लत्याएर २०७७ कात्तिकमा ओली सरकारले करिब एक दर्जन सचिवको फेरबदल गर्‍यो। सामान्य प्रशासन मन्त्रालयमा गौतम सात महिना पनि टिकेनन्। त्यसो त यादव कोइराला पनि नौ महिना मात्रै रहे। नौ महिनामै कोइरालाको सरुवा भएर आए। हाल एकनारायण अर्याल सामान्य सचिव भएका छन्। त्रिपाठीपछि गणेश ठगुन्ना सामान्य प्रशासन मन्त्री भए। उनी पनि पाँच महिनाभन्दा बढी टिकेनन्। हाल गणेश पहाडी सामान्य प्रशासनमन्त्री छन्।

प्रकाशित: ३१ जेष्ठ २०७८ ०२:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App