रुकुम– एक सातादेखि फैलिएको झाडापाखालाले महामारीकै रूप लिन थालेको छ। अहिलेसम्म चार बालबालिकाको मृत्यु भइसकेको छ भने ४४ जना बिरामी परेको जिल्ला अस्पताल प्रमुख चिकित्सक भोजराज गौतमले जनाए।
उनका अनुसार जिल्लामा उपचार हुन नसक्दा ३ बालबालिकालाई थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको छ। जिल्ला अस्पतालमा १२ बालबालिका भर्ना भएका छन्। सबैभन्दा प्रभावित एक वर्षमुनिका छन्। उनीहरूमा पातलो पखला लाग्ने, वान्ता हुने जस्ता समस्या देखिएको छ। रोगले प्रभावित पारेको २४ घन्टाभित्र बालबालिकाको मृत्यु हुने गरेको छ।
पखालाप्रभावित बालबालिकामा निमोनियाको समेत समस्या देखिएको छ। पखालाबाट खलंगा २ का ११ महिनाका हेमराज खड्का, खलंगा ६ का ११ महिनाका विक्रम केसी, जाङ गाविस १ का एक वर्षीया विनोद रोका र खारा १ का चार महिने आशीष खड्काको मृत्यु भएको जिल्ला अस्पतालले जानकारी दिएको छ।
पखालाको प्रकोप फैलिएपछि स्वास्थ्य विभाग र विश्व स्वास्थ्य संगठनका चिकित्सकको एक टोली रुकुम पुगेको छ। बुधबार पुगेको टोलीले बिरामीको दिसापिसाबको नमूना संकलन गरेको छ। बच्चाहरूमा अनौठो खालको समस्या देखिने र पहिलोपटक जाँच गरेको रिपोर्ट नआउँदै मृत्यु हुने गरेको छ।
'बिरामी बालबालिकामा श्वासप्रश्वासमा समस्या, निरन्तर पखाला, आँखा टोल्हाउने जस्ता लक्षण देखिने गरेको छ,' उपचारमा संलग्न डा. भोजराज गौतमले भने, 'कुन कारणले पखाला फैलिएको हो भन्ने अझै पत्ता लागेको छैन। ल्याब परीक्षण गर्ने विशषज्ञको टोलीले पत्ता लगाउँदैछ।'
बालबालिका बिरामी हुँदा सुरुमा घरमै उपचार गर्ने र अन्तिम समयमा अस्पताल ल्याउँदा उपचारमा समस्या हुनुका साथै ज्यान जाने गरेको उनी बताउँछन्। चिसो मौसम भए पनि प्रकोप फैलिन सक्ने भन्दै स्थानीय चिन्तित छन्। केही वर्षअघि जाजरकोट, रुकुमलगायत जिल्लामा फैलिएको महामारीजस्तै हुन सक्ने त्रास उनीहरुमा छ। विस्तारै जिल्लाका खारा, मुरु, रुघा, मग्मा, बाफिकोटलगायत गाविसमा यस्तो लक्षण देखिन थालेको छ। उपचारका लागि आवश्यक औषधि र जनशक्ति अभाव नभए पनि बालबालिकामा निमोनिया र झाडापखाला दुवैको लक्षण देखिएकाले उपचारमा समस्या आएको अस्पतालले जनाएको छ।
प्रकाशित: १५ माघ २०७० ०६:३९ बुधबार





