८ वैशाख २०८१ शनिबार
राजनीति

मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिँदै

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले आज (मंगलबार) प्रदेशसभा बैठकबाट विश्वासको मत लिँदै छन्। विश्वासको मत लिने व्यवस्था मिलाई दिन भनेर मुख्यमन्त्री भट्टले सभामुखलाई लेखेको पत्र आइतबार साँझ प्रदेशसभा सचिवालयमा दर्ता भएको थियो। मंगलबार बिहान ९ बजे मुख्यमन्त्रीको विश्वास मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक बोलाइएको प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले बताए।  

सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र पार्टीलाई ब्युँताइदिएपछि सुदूरपश्चिम प्रदेश सरकार नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) को गठबन्धन सरकारमा परिणत भएका थियो। नेपाल–खनाल पक्षको समर्थनका कारण १३ मात्र सांसद भएको माओवादी केन्द्रका मुख्यमन्त्री भट्टको नेतृत्वको सरकार अहिलेसम्म टिकेको हो। 

गत जेठ १० गते एमाले स्थायी कमिटीको बैठकले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री भट्टलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। नेकपा एमाले स्थायी कमिटीको बैठकलाई चुनौती दिँदै जेठ १२ गते माधव खनाल पक्षको बाहुल्य रहेको सुदूरपश्चिम प्रदेशसभा नेकपा एमाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन कायम राख्ने र मन्त्रीहरू सरकारबाट फिर्ता नभई सरकारमा थप प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गर्‍यो। त्यसको दुई दिनपछि जेठ १४ गते एमालेका थप सांसद प्रदेश सरकारमा सहभागी भएका थिए। एमाले प्रदेशसभा संसदीय दलले २ मन्त्री फिर्ता बोलाएर ३ मन्त्री र ३ राज्यमन्त्री प्रदेश सरकारमा पठाएको थियो।

११ सदस्यीय मन्त्रिमण्डलमा मुख्यमन्त्री र दुई मन्त्री र एक राज्यमन्त्री गरी ४ माओवादी केन्द्र र ४ मन्त्री, ३ राज्य मन्त्री गरी ७ मन्त्री एमालेका छन्। सुदूरपश्चिम प्रदेशसभामा नेकपा एमालेबाट २५ प्रदेशसभा सदस्य छन्। यीमध्ये ९ जना सासंद ओली पक्षतिर खुलेका छन्। संसदीय दलका नेता र प्रमुख सचेतक माधव खनाल पक्षकै रहेका छन्। ५३ सदस्य रहेको प्रदेशसभामा नेकपा माओवादी केन्द्रबाट १३ सांसद रहेका छन्। 

ओली पक्षमा लागेकाले माओवादी केन्द्रबाट निर्वाचित झपट बोहरा सांसद छैनन्। नेपाली कांग्रेसबाट १२ र जसपाका २ जना प्रदेशसभा सदस्य छन्। माधव–झलनाथ पक्षका सांसदले समर्थन गरेर विश्वासको पक्षमा मतदान गरेमा मुख्यमन्त्री विश्वासको प्रस्ताव हुने सम्भावना छ।

प्रकाशित: २५ जेष्ठ २०७८ ०२:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App