५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रपतिले मलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्नेमा त्यसलाई इन्कार गर्नुभयोः देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्नेमा त्यसलाई इन्कार गरेको बताएका छन्।

‘राष्ट्रपतिले गरेको आह्वानको आधारमा मैले प्रतिनिधि सभामा तत्काल कायम रहेका सदस्य संख्याको स्पष्ट बहुमत सहित १४९ जना सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीका लागि दाबी प्रस्तुत गरेँ। नेपालको संविधान बमोजिम राष्ट्रपतिले मलाई तत्काल प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्नेमा त्यसलाई इन्कार गर्नुभयो,’ प्रेस विज्ञप्तिमार्फत् सभापति देउवाले भने, ‘बरु एकपटक प्रतिनिधि सभाबाट विश्वासको मत लिन असफल भई संसदमा स्पष्ट अल्पमतमा परिसकेका र अर्कोपटक बहुमत देखाउन नसक्ने स्वयं घोषणा गरी सकेका माननीय ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने काम गरिन्।’  

आफू प्रधानमन्त्रीमा नियुक्त नभएपछि प्रधानमन्त्री र राष्ट्रपतिको सो कदम असंवैधानिक भएको बताउँदै उनले सो कदमविरुद्ध लड्ने समेत बताएका छन्।

‘संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षार्थ राष्ट्रपति र प्रधानमन्त्रीका असंवैधानिक, अलोकतान्त्रिक कार्यका विरुद्ध राजनैतिक र न्यायिक लडाई लड्ने दृढ प्रतिवद्धता व्यक्त गर्दछु।’ सभापति देउवाले भने।  

उनले राष्ट्रपतिले प्रधानमन्त्रीमा पुनः केपी शर्मा ओलीलाई नै तोक्ने कार्य असंवैधानिक मात्र नभएर अनैतिकसमेत भएको उल्लेख गर्दै नेपालको संविधानको अक्षर र भावनाविपरीतको काम भएको बताए।

विज्ञप्तिमा सभापति देउवाले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा तीस दिनभित्र विश्वासको मत लिन नसक्ने भनी मन्त्रिपरिषद्बाट निर्णयसमेत गराई राष्ट्रपतिलाई अर्को सरकार गठनका लागि अनुरोध गरेको र सार्वजनिक रुपले पनि आफू विश्वासको मत लिन नसक्ने घोषणा गरे उल्लेख गरेका छन्।  

उनले राष्ट्रपति र प्रधानमन्त्रीले नेपाली जनताको आस्थाको केन्द्र संविधान जस्तो सार्वजनिक दस्तावेजलाई निजी सम्पत्तिका रुपमा आफू अनुकूल प्रयोग गरिरहेको समेत उल्लेख गरेका छन्। ‘प्रधानमन्त्रीले हठात् अर्को सरकार गठनको सिफारिश गर्ने, राष्ट्रपतिले २४ घण्टाको पनि समय नदिई प्रधानमन्त्री नियुक्तिको आह्वान गर्ने, संविधान बमोजिम नियुक्त गर्नु पर्ने म प्रतिनिधि सभाका सदस्यलाई नियुक्त गर्नुपर्ने र दावी नै गर्न नमिल्ने ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने कार्य घोर असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कार्य हुन्। यी काम राष्ट्रपति र प्रधानमन्त्रीको वदनियतपूर्ण ढंगले मिलोमतोमा षड्यन्त्रपूर्वक भएका छन् भन्ने तथ्य प्रधानमन्त्री नियुक्त भएको १ घण्टामा सबै नेपाली जनता सुतेको बेला मध्यराति प्रतिनिधि सभाको हत्या गरेको घटनाबाट प्रमाणित भएको छ।’

राष्ट्रपति र प्रधानमन्त्रीले षडयन्त्र गरी पदको चरम दुरुपयोग गरी नेपालको संविधान समाप्त गर्न उद्दत रहेको समेत नेपाली कांग्रेसको ठहर छ।

प्रकाशित: ८ जेष्ठ २०७८ ०७:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App