७ वैशाख २०८१ शुक्रबार
राजनीति

मुख्यमन्त्री पोखरेलविरुद्ध निर्वाचन आयोगमा काँग्रेसको उजुरी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध नेपाली काँग्रेसले निर्वाचन आयोगमा उजुरी दिएको छ। मुख्यमन्त्री पोखरेलले राष्ट्रियसभा उपनिर्वाचनको मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लंघन गर्दै एमालेका उम्मेदवार रामबहादुर थापा 'बादल'को पक्षमा मत मागेपछि कारबाहीको माग गर्दै काँग्रेसले आयोगमा उजुरी दर्ता गराएको हो।

बागमती प्रदेशमा आज भएको उपनिर्वाचनको मौन अवधि सुरु भइसकेपछि पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै थापालाई मतदान गर्न अपील गरेका थिए। काँग्रेस लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडीयाको सचिवालयले निर्वाचन आयोगलाई इमेलमार्फत पत्र पठाउँदै आचारसंहिता उल्लंघनको कसुरमा मुख्यमन्त्रीलाई कारबाही गर्न माग गरेको छ। कार्यालका स्वकीय सचिव सन्जीब बश्यालले आयोगमा उजुरी दर्ता गराएका हुन्।

‘मुख्यमन्त्री पोखरेलले फेसबुकमार्फत मौन अवधिमा अमूक उम्मेदवारलाई विजयी बनाउन मतादाताहरुलाई अपील गरेर निर्वाचनमा प्रभाव पार्नु स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचनको आधारभुत सिद्धान्त विपरित रहेकाले निर्वाचन आचारसंहिता २०७२ को दफ ५ को घ (३) र (५) र दफा (६) बमोजिम मुख्यमन्त्रीलाई कारबाही गरिनुपर्छ’ पत्रमा भनिएको छ।

प्रकाशित: ६ जेष्ठ २०७८ १३:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App