१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

हनुमानजी र ‘हनुमानहरु’

वीरअस्पतालमा कोरिएको पहाड बोकेका हनुमानजीको चित्र। तस्बिर: उपेन्द्र/नागरिक

वीरअस्पतालको मूल भवनमा बजरङगबली हनुमानले पहाड उचालेको चित्र अझै छ। लक्ष्मणलाई बचाउँन संजीवनी बुटी खोज्ने क्रममा सिंगो पहाड बोकेर ल्याएको कथा धेरैले सुनेकै होला। आइतबार विहान यहि अस्पताल परिसरमा पुग्दा विरामी र तिनका आफन्तको क्रन्दन सुनिन्थ्यो।

कोरोनाका महामारीमा अक्सिजनको अभावले यहि अस्पतालभित्र ‘लक्ष्मणरुपी’ विरामीहरु छटपटाउँदै थिए। हेर्दाहेर्दै मुलुकको सवैभन्दा पुरानो अस्पताल नयाँ रोगको सिकार बन्न पुग्यो।  जीवन बचाउन अस्पताल आएका वीरामी अक्सिजनको अभावमा मृत्युको मुखमा पुगेको भान हुन पुग्यो। उपचारको लागि अस्पतालले नयाँ भवन संचालनमा ल्याउने  निर्णय त गर्यो तर अक्सिजनकै अभावमा यो काम पनि पुरा हुन सकेको छैन।  

कोराना संक्रमण बढ्दै जादा वीरअस्पतालमात्र हैन मुलुकका अधिकांस अस्पतालले अक्सिजनको अभाव भन्दै विरामीको उपचार गर्न नसक्ने जनाए। अस्पतालमा विरामी छाडेर अक्स्जिनको लाइनमा आफन्तहरुको आसु खस्न थालेको छ। उनीहरुको मौन चित्कारले सिंगो मुलुक रोएको छ।  

यस्तोमा जरुरी थियो, संजीवनीरुपी अक्सिजनको सिलिण्डर बोकेर ल्याउने हुनमानजीको। तर मुलुक केही समय सरकार बनाउने र बचाउँने खेलमा अलमलियो। राजनैतिक खिचातानीको कोलाहालमा मृत्युको पदचाप  सत्ताले सुनेन। विरामी अस्पतालमा आएर भगवान पुकार्नु पर्ने बाध्यतामा पुगे।  

त्यसो त मुलुकमा हनुमानहरुको अभाव भएको होइन। आफ्ना नेताका अगाडी बफादार बन्ने हनुमानहरु पार्टीमा अनगिन्ती भेटिन्छन्। तर उनीहरु जनता जोगाउने अक्सिजको खोजीमा भन्दा पनि सत्ता जोगाउने बाटोमा लागेका छन्। त्यस्तै सत्ताको संजीवनीको बूटीको खोजीमा यी हनुमानहरु डोलेश्वरदेखि शिवपुरीक्षेत्रमा चाहर्न पुगे।  

यहिबीचमा अक्सिजनको खडेरीमा केही आशाका थोपा देखिदै छन्। अक्सिजन खोज्न कतिपय यूवाहरु समूह बनाउँदै तराई–पाहाड गर्देछन्। कतिपय अस्पतालले आफै अक्सिजन बनाउँदैछन्। त्यस्तै भर्खरै तातोपानी नाकामा १८,००० अक्सिजन सिलिन्डर आईपुगेको छ भने चीनवाटै क्रमशः १६५० सिलिन्डर फ्लाईटवाट आउँदैछन, यसअघि नै ४०० सिलिन्डर आईसकेको छ, हिजो मात्रै ओमानवाट ५६० सिलिन्डर आयो।तर त्यो प्रयाप्त छैन। समस्याको पहाँड यति अग्लिएको छ अव समाधानको सुमेरु जरुरत भइसकेको छ।

फेरी कुरा त्यहि आउँछ। त्यो समाधानको सुमेरु कसले बोकेर ल्याउने। हनुमानहरुको काध नेतालाई बोक्दा बोक्दै कमजोर बनिसकेको छ।  यति बेला मुलुकमा हनुमानहरुको होइन ‘हनुमानजीहरु’ को खाँचो छ। जसले अक्सिजनको अभावमा छटपटाइरहेका जनतालाई संजिवीनीरुपी अक्सिजनको पहाँड लिएर आओस्।  तर दुर्भाग्य मुलुकमा राम हैन, मर्यादापुरुष रामचन्द्रको मूर्तीहरुमात्र मात्र अनावरण हुदै आएको छ। यस्तोमा  संजीवनी ल्याउने  हनुमानजीहरुपनि मूर्तीमा मात्र सिमित देखिन्छन्।  

प्रकाशित: २ जेष्ठ २०७८ ०६:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App