१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

औषधिमा भ्रष्टाचार अक्षम्य अपराध : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड–१९ महामारी नियन्त्रण र रोकथामका लागि सरकारले ध्यान नदिँदा जनताले अस्पताल खोज्दाखोज्दै एम्बुलेन्समा ज्यान गुमाउने अवस्था आएको बताएका छन् । प्रमुख प्रतिपक्षी दलको नेतासमेत रहेका देउवाले शुक्रबार विज्ञप्ति जारी गर्दै पर्याप्त समय हुँदाहुँदै पनि सरकारले जनताप्रतिको न्यूनतम जिम्मेवारी बोध नगरेको आरोप लगाएका छन् । समयमा कोभिड–१९ विरुद्धको खोप व्यवस्था नगर्दा अहिले नेपाल विश्वमा नै कोभिड–१९ को उच्च जोखिममा रहेका देशहरूमा गनिन पुगेको देउवाले उल्लेख गरेका छन् ।

महामारी दिनानुदिन विस्तार हुँदै गएको, दैनिक हजाराैंको संख्यामा संक्रमित थपिएको र देशभरिका अस्पतालमा संक्रमितका लागि अत्यावश्यक अक्सिजन, भेन्टिलेटरसहितका आइसियु बेड र औषधि अभाव भएका बेला पनि सरकार कमिसनको चक्करमा फसेको आरोप देउवाले लगाएका छन् । ‘अक्सिजन नपाएर बिरामी छट्पटाएर मर्नुपरेको र अस्पतालमा बेड खोज्दै घरमा, बाटैमा र एम्बुलेन्समा ज्यान गुमाउनुपरेको दयनीय घटना देखा परेका छन् । कोभिड–१९ को यति लामो समयसम्मको निरन्तर प्रकोपका बावजुद सरकारले नियन्त्रण र रोकथामको कुनै व्यवस्था गरेन,’ देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अहिले कमिसनको कारण खोप आउन नसकेको कुरा सार्वजनिक भइसकेको छ ।’

वर्तमान सरकार सर्वत्र भ्रष्टाचारमा चुर्लुम्म डुबेको विषय नेपाली जनताका लागि नौलौ नभएको जनाउँदै देउवाले जनताको जीवन रक्षा गर्ने औषधिमा पनि भ्रष्टाचार गर्नु अमानवीय, अनैतिक र गैरजिम्मेवारीको पराकाष्ठा एवं जनताविरुद्धको अक्षम्य अपराध भएको उल्लेख गरेका छन् । ‘जनताको जीवन रक्षा गर्नुपर्ने सरकार स्वयं जीवनदायिनी औषधि (खोप) को भ्रष्टाचारमा संलग्न हुनुले यो सरकारको अनैतिक चरित्र उदांगो भएको छ । सरकारको अनैतिक र भ्रष्टाचारजन्य कार्यको घोर निन्दा र भत्र्सना गर्छु,’ देउवाले भनेका छन्, ‘यस्तो भ्रष्टाचारको काममा जोसुकै संलग्न भए पनि कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गर्छु ।’

उनले देशभरि अक्सिजन, आइसियु बेड, खोपलगायत औषधिको तत्काल व्यवस्था गर्न माग गरेका छन् । उनले सबैलाई स्वास्थका मापदण्ड अपनाउन आग्रह पनि गरेका छन् । पार्टीका नेता तथा कार्यकर्तालाई स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउँदै संकटमा परेकालाई सक्दो सहयोग गर्न देउवाले आग्रह गरेका छन् ।

प्रकाशित: २५ वैशाख २०७८ ०१:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App