१५ चैत्र २०८० बिहीबार
राजनीति

ओली अडानले फुकेन गाँठो

नेकपा एमालेका युवा नेता आन्तरिक विवाद समाधान गर्ने प्रयासमा खटिए पनि पार्टी अध्यक्ष केपी शर्मा ओली मौन बस्दा समस्या समाधानमा कुनै प्रगति हुन सकेको छैन । दुई दिनदेखि विवाद मिलाउन कस्सिएका नेता एमालेको पुरानै पार्टी संरचनाअन्तर्गत बैठक राखेर त्यहींबाट समाधान खोज्ने पक्षमा सकारात्मक बने पनि ओली मौन बस्दा उनीहरूको प्रयाससमेत निरर्थक बनेको छ । एमालेको नेपाल–खनाल पक्ष विवाद मिलाउन सबैभन्दा पहिले २०७७ फागुन २८ गतेको निर्णय सच्चिनुपर्ने अडानमा छ ।

प्रधानमन्त्रीसमेत रहेका ओलीले फागुन २८ को निर्णय सच्याउन असहमति जनाएपछि शुक्रबार हुने भनिएको ओली–नेपाल निर्णायक वार्तासमेत हुन सकेन । बालुवाटारमा दोस्रो तहका नेताले कार्यदल बनाएर विवाद निरुपण गर्नेसम्मको विषयमा छलफल गरे पनि शुक्रबार यसले निकास पाउन सकेन ।

ओलीले फागुन २८ को निर्णय सच्याउन असहमति जनाएपछि शुक्रबार हुने भनिएको ओली–नेपाल निर्णायक वार्तासमेत हुन सकेन ।

बालुवाटार निकट स्रोतका अनुसार उपप्रधानमन्त्री ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, प्रमुख सचेतक विशाल भट्टराई, मन्त्रीहरू पार्वत गुरुङ, लीलानाथ श्रेष्ठ, स्थायी कमिटी सदस्यहरू किरण गुरुङ, छविलाल विश्वकर्मालगायतले ओलीलाई विवाद मिलाउन दबाब दिएका थिए । उनीहरूले फागुन २८ गते गरेकै निर्णय पुरानै केन्द्रीय कमिटीको बैठक राखेर गर्न र पार्टीलाई सुरुकै अवस्थामा ल्याउनुपर्ने नेपाल पक्षको माग सम्बोधन गरेर अघि बढ्न आग्रह गरे पनि ओली त्यसमा सहमत हुन सकेनन् । शुक्रबार दिनभर दुवै पक्षका दोस्रो तहका नेता छलफलमै क्रियाशील थिए । नेपाल पक्षले माओवादी केन्द्रसँग एकीकरण हुनुपूर्वकै सांगठनिक संरचना क्रियाशील बनाउनुपर्ने अडान कायमै राखेको छ ।

बिहीबार राति अबेरसम्म राष्ट्रपति विद्यादेवी भण्डारीसहित पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच छलफल भएको थियो । त्यस क्रममा नेपालले पार्टीलाई २०७५ जेठ २ अघिकै संरचनामा फर्काउन आग्रह गरेका थिए । यसबारे नेपालले शुक्रबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकताबद्ध एमाले चाहन्छौं किनकि यो हामीले निर्माण गरेको पार्टी हो । यसका लागि वार्ता र लचकता दुवै अपनाउछौं तर अहिलेसम्म कुनै सहमति भएको छैन । २०७७ फागुन २८ गते र तत्पश्चात् बसेका बैठकहरू र तिनले गरेका निर्णयहरू फिर्ता लिनुपर्छ र २०७५ जेठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन हो ।’

अघिल्लो दिन राति अबेरसम्म शीतल निवासमा राष्ट्रपति भण्डारी र नेता नेपालबीच एमाले विवादबारे छलफल भएको थियो । त्यसक्रममा प्रधानमन्त्री ओलीसँग पनि छलफल भएको थियो । दुवै नेताबीच सहमति भइसकेको भन्ने प्रचारबाजी भएपछि नेता नेपालले सामाजिक सञ्जालमार्फत स्पष्ट पारेका हुन् । यसबीचमा ओलीले नेपाल र झलनाथ खनालाई वरिष्ठ नेता कायमै राख्ने र अन्य नेतालाई आयोजक कमिटीमा समावेश गर्ने जनाएका थिए । नेपाल पक्षका नेताले भने २०७५ जेठ २ गतेको अवस्थामा पार्टीलाई फर्काउने र माओवादीबाट आएका नेताहरूलाई त्यहींबाट मनोनयन गर्ने तथा अन्य निर्णय पनि त्यहीं गर्ने प्रस्ताव गरेका छन् ।

शुक्रबार दोस्रो तहका नेताबीच छलफल भएको थियो तर सहमति निस्केन । ‘हामीले २०७५ जेठ २ गते निर्वाचित पदाधिकारीसहितको बैठकले निर्णय गर्ने भनेका छौं, उहाँहरू पनि सहमत हुनुहुन्छ । यसो संवाद हेर्दा नमिल्ला जस्तो पनि छैन, मिलिहालेको पनि छैन’, छलफलमा सहभागी नेपाल पक्षधर नेता योगेश भट्टराईले भने, ‘कार्यदल बनाएर जाने कुरा पनि चलेको छ तर कार्यदललाई स्पष्ट निर्देशन हुनुपर्छ त्यसो भएमात्रै विवाद निरुपण हुनेछ ।’ उनका अनुसार शुक्रबार दुवै पक्षका नेताले ओली र नेपाललाई ब्रिफिङ गर्ने र शनिबार पनि संवादलाई निरन्तरता दिने सहमति भएको छ । नेपाल पक्षले एमाले र माओवादी केन्द्रसँग एकीकरण हुनुपूर्वको दुई सय २१ सदस्यसहितको केन्द्रीय कमिटी ब्युँताएर त्यसकै बैठक राख्न आग्रह गरिरहेको छ ।

प्रकाशित: २५ वैशाख २०७८ ००:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App