१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

लुम्बिनी प्रदेश : आफ्नै गृह जिल्लाका डाँगीले पनि छोडिदिए मुख्यमन्त्री पोखरेलको साथ

लुम्बिनी प्रदेश सभाका सदस्य अमरबहादुर डाँगीले पदबाट राजीनामा दिएका छन्। उनी एमालेका तर्फबाट दाङको निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित भएका थिए। डाँगीले मुख्यमन्त्री शंकर पोखरेलको साथ छोडेर विपक्षी गठबन्धनका उम्मेदवार नेकपा मओवादी केन्द्रका कुलप्रसाद केसीको पक्षमा उभिएका छन्।  

डाँगीले बुधबार प्रदेश सभा सचिवालयमा राजीनामा पत्र बुझाएको प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरले बताए। संविधानको धारा १८० को क बमोजिम राजीनामा आएको भन्दै सचिव पुनले सभामुखको निर्देशन अनुरुप प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।  

प्रदेश सभामा राजीनामा दिएसंगै उनी एमाले छोडेर माओवादी केन्द्रमा प्रवेश गर्ने बताइएको छ । घोराही उपमहानगरपालिकाका पूर्वमेयरसमेत रहेका डाँगी यसअघि एमाले भित्र माधवकुमार नेपाल पक्ष भनेर चिनिन्थे । लोकतान्त्रिक विधि र प्रक्रिया विपरित गतल संस्कृतिको सुरुवात गरेका भन्दै उनले राजनीतिक खिचातानीबाट मुक्त हुन खोजेको राजीनामा पत्रमा उल्लेख गरेका छन्। डाँगीले राजीनामाको कारण आफनो स्वास्थ्य भएको पनि उल्लेख गरेका छन् ।  

यसअघि उपनिर्वाचनमा नेकपाबाट जितेकी दाङकै बिमला खत्री वली पनि पोखरेलको साथ छोडेर मओवादी केन्द्रमा प्रवेश गरीसकेकी छन्। एमालेबाटै निर्वाचन जितेका कापिलबस्तुका सांसद दृगनारायण पाण्डेयले पनी संसदबाट राजीनामा दिइसकेका छन् । पाण्डेयले एमाले पार्टी नै परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।  

अल्पमतमै रहेका एमाले संसदीय दलका नेता शंकर पोखरेलले आफूमाथिको अविश्वासको प्रस्ताव छल्न संसद नै अन्त्य गरी गत आइतबार पुन मुख्यमन्त्रीमा नियुक्त लिएका थिए । संविधानको धारा १६८ को १ बमोजिम एकल बहुमतको सरकार गठन गर्ने भनिएपनि अल्पमतमै रहेका बेला प्रदेश प्रमुखले पोखरेलाई मुख्यमन्त्रीमा नियुक्त गरी मुख्यमन्त्रीकै कार्यालयमा पुगी सपथ खुवाएका थिए । एकल बहुमतको सरकार बनाएको भन्दै पोखरेलले मन्त्रीमण्डल विस्तार गरी १० सदस्यीय बनाए पनि उनकै दलका ३ जना सांसदले उनको साथ छोडिसकेका छन् । पोखरेलसँग एमालेमा अहिले जम्मा ३८ सांसद छन् ।  

८७ सांसद मध्ये जसपाका ४ जना र माओवादी केन्द्रका २ जना यसअघि नै कारबाहीमा परेर सांसद पद खुस्केको छ । अव लुम्बिनी प्रदेश सभा ७९ सदस्यीय भएको छ ।  

प्रकाशित: २२ वैशाख २०७८ ११:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App