३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

ओली र नेपालबीच ‘आइस ब्रेक’

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच लामो समयपछि बुधबार एकल वार्ता भएको छ । पुस ५ गतेपछि दुई नेताबीच पानी बाराबारको अवस्थामा एकल संवाद हुन सकेको थिएन । सर्वोच्च अदालतले फागुनमा एमाले र माओवादी ब्युँताइदिएपछि पार्टी कार्यालय धुम्बाराहीमा सामूहिक भेटघाट भएको थियो । त्यहाँ कुरा नमिलेपछि नेपाल समूहले पार्टीभित्र समानान्तर गतिविधि सञ्चालन गर्दै आएको छ । लामो समयदेखिको संवादहीनता तोड्दै बुधबार साँझ दुवै नेताबीच ६ बजेदेखि ७ः४५ सम्म एकल भेटघाट भएको होे ।  

तत्कालीन नेकपा हुँदा गत वर्षको वैशाख ८ मा प्रधानमन्त्री ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि पार्टीभित्र विवाद उत्पन्न भएको थियो । त्यसपछि नेकपा विभाजनको अवस्थामा पुगेकै बेला सर्वोच्च अदालतले फागुनमा पूर्वएमाले र माओवादी केन्द्रलाई साबिक अवस्थामा फर्काइदियो । सर्वोच्चको फैसलासँगै नेकपा विवाद एमालेमा सरेपछि दुवै नेता कठोर आरोपप्रत्यारोपमा ओर्लिएका थिए । एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेको थियो ।  

एक घण्टा ४५ मिनेट वार्ता गरेपछि होटल मेरियटबाट बाहिरिएका ओली र नेपाल प्रफुल्ल मुद्रामा देखिएका थिए । वार्तामा केके विषयमा कुरा भयो भन्नेबारे दुवै पक्षले बाहिर ल्याएका छैनन् । वार्तामा ओलीले नेपाललाई निसर्त पार्टीभित्र आउन र काम गर्न आग्रह गरेको तर नेपालले फागुन २८ को निर्णय खारेज गर्दै पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थाबाट अघि बढाउँदा कसैलाई पनि आपत्ति नहुने बताएको स्रोतको दाबी छ । ‘दुवै नेताले पहिलो चरणमा आफ्ना कुरा राखेको केही व्यक्तिगत कुराकानी गरेको र पार्टीगत संरचनामा ओलीले निसर्त पार्टीमा काम गरौं भनेको तथा नेपालले २०७५ जेठ २ गतेअघिको पार्टी संरचनाबाटै अघि बढौं भनेको बुझिन्छ ।

वार्तामा ओलीले नेपाललाई निसर्त पार्टीभित्र आउन र काम गर्न आग्रह गरेको तर नेपालले फागुन २८ को निर्णय खारेज गर्दै पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थाबाट अघि बढाउँदा कसैलाई पनि आपत्ति नहुने बताएको स्रोतको दाबी छ । 

यो संवादबाट दुवै नेताले हठ छाड्ने अवस्था आउन सक्ने सम्भावना पनि उत्तिकै छ’, एमाले उच्च स्रोतले भन्यो । स्रोतका अनुसार दुवै नेता एकअर्काप्रति आस्वस्त भएर बाहिर आएका छैनन् । उनीहरूमा शंका कायमै छ । आजको भेटघाटले शंका निवारण गर्नेभन्दा पनि संवाद सुरु भएको तहमा मात्र लिनुपर्ने ब्रिफिङ दुवै नेताले आफू निकटकालाई गरेका थिए । यसअघि बालुवाटारमा समूहसहित भेटघाट गरेका नेपालले बुधबार भने एक्लै संवाद गरेका थिए । लामो समयदेखि ओलीसँग टाढा रहेका नेपाललाई ओलीले नै फोन गरेर भेटौं भनेका थिए । नेपालले बालुवाटार नआउने बताएपछि होटलमा भेटघाटको व्यवस्था गरिएको थियो ।  

भट्टराईको पहलमा भेटघाट  

नेपालसँग भेटघाट गर्नुअघि एमाले अध्यक्ष ओलीले नेपाल पक्षका नेता एवं पार्टी सचिव योगेश भट्टराईलाई बालुवाटार बोलाएका थिए । दिउँसो बालुवाटार पुगेका भट्टराईले ओलीलाई भेटेर उदार मनका साथ पार्टीमा सबैलाई समेटेर अघि बढ्न आग्रह गरेका थिए । भट्टराईले एमालेलाई एकताबद्ध राख्न अध्यक्ष ओलीकै भूमिका रहेकाले उनी उदार मनका साथ अघि बढे सबैलाई सहज हुने बताएका थिए । ‘तपाईं पार्टी अध्यक्ष र संसदीय दलको नेता भएका कारण तपाईंको भूमिका महत्वपूर्ण रहन्छ ।  

विगतका तीतामीठा भुलेर वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसँग संवाद गर्नुस्, पार्टीलाई एक ढिक्का बनाएर लैजानुस्, हाम्रो सहयोग हुन्छ’, भट्टराईले भनेका थिए । उनले दुवै नेताबीच भेटेर बुधबार नै छलफल गर्न पनि आग्रह गरेका थिए । उनले नै दुवै नेतालाई बालुवाटार वा धुम्बाराहीमा नभई अन्यत्र भेट्न सुझाव दिएका थिए । सोही अनुसार प्रधानमन्त्री ओलीले बुधबार साँझ मेरियट होटलमा भेटघाट गर्ने समय मिलाएका थिए ।  

भट्टराईले ओलीसँग तीनवटा कुरा स्पष्ट राखेका थिए । उनले पार्टी अध्यक्ष भएको नाताले विवाद मिलाउने जिम्मा ओलीकै भएको, गिरिजाप्रसाद कोइरालाले पनि मध्यावधि निर्वाचन गराउँदा परिणाम कांग्रेसको पक्षमा नआएको र बाहिर हेर्दा परिस्थिति सहज नभएको तथा ओलीबाहेक मास अपिल गर्ने नेता नभएका कारण परिणाम सहज नहुने भनाइ राखेका थिए । त्यसपछि ओलीले सकेसम्म पार्टीलाई मिलाएर जाने बताएका थिए । भट्टराई बुधबार दिउँसो १२ बजेतिर बालुवाटर प्रवेश गरेका थिए । उनी करिब पौने २ बजे निस्केका थिए । बालुवाटारबाट भट्टराई बाहिरिएलगत्तै होटल मेरियटमा प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार मोती दुगडको नाममा स्विट रुम बुक गरिएको थियो ।  

पार्टी विभाजन नगर्न सांसदको दबाब  

नेपाल पक्षका अधिकांश सांसद पार्टी विभाजन हुनु नहुने पक्षमा देखिएका छन् । बुधबार बिहान नेपाल पक्षका सांसदको बैठक बसेको थियो । बैठकमा सहभागी प्रायः सबैले नयाँ दल बनाउनेतिर नलागी एमालेभित्रै संघर्ष गरेमात्रै उपलब्धि हुने बताएका थिए । सांसदको बैठकपछि स्थायी कमिटीका सदस्यको बैठक बसेको थियो । स्थायी कमिटी बैठकमा सांसदको बैठकबारे घनश्याम भुसाललगायतका नेताले ब्रिफिङ गरेका थिए ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले मंगलबार नेपाल पक्षका २७ सांसदलाई स्पष्टीकरण सोधेका थिए । नेपाल पक्षीय सांसदलाई नयाँ दल गठन गर्न लागेको, पार्टीहित विपरित कार्य गरेको भन्दै दुई दिनभित्र स्पष्टिकरण बुझाउन उनले निर्देशन दिएका थिए । नेपाल पक्षले पनि समयभित्रै स्पष्टीकरण बुझाउन तर पार्टी विभाजन नगर्ने बताएका थिए ।  

मिलाउन ओलीलाई दबाब  

केही दिनअघि ओली पक्षका अधिकांश सांसदले पनि पार्टीलाई एक ढिक्का बनाएर नलगे आगामी निर्वाचन दुर्भाग्यपूर्ण हुने बताएका थिए । माओवादी एक ढिक्का नै रहेको, एमालेमात्रै विभाजन हुन खोजेका कारण आगामी निर्वाचनमा एकाध नेताबाहेक अन्यले निर्वाचन जित्ने सम्भावना नरहेको बताउँदै पार्टी एकता कायम राख्न सुझाव दिएका थिए । त्यसको जवाफमा ओलीले माधव नेपाल समूहका साथीहरूसँग कुराकानी भइरहेको र नेपालसँग पनि कुराकानी गर्ने तयारी भएको बताएका थिए । ओली पक्षका सांसदले नेपाल पक्षका नेताले जित्ने सम्भावना नभए पनि हराउनसक्ने प्रशस्त सम्भावना भएकाले पार्टी मिलाएरै जानुपर्ने सुझाव दिएका थिए । त्यसअघि नेपाल पक्षका सोमप्रसाद पाण्डे र ओली पक्षका विष्णु पौडेलबीच कुराकानी भए पनि सकारात्मक बन्न सकेको थिएन । अर्थमन्त्रीसमेत रहेका पौडेल बुधबार दिउँसो होटल मेरियटमै थिए । ओली र नेपाल पुगेपछि उनी निस्केर हिँडेका थिए । ‘बजेटसम्बन्धी छलफल थियो । उहाँहरूको भेटवार्ता पनि रहेछ । म कार्यक्रम सिध्याएर निस्किएँ’, अर्थमन्त्री पौडेलले भने।

प्रकाशित: ९ वैशाख २०७८ ०१:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App