१६ चैत्र २०८० शुक्रबार
राजनीति

गोसाइँकुण्डमा शिवको मूर्ति निर्माण गर्नका लागि 'माग्ने अभियान' सुरु गर्छौंः मन्त्री फुयाल

रसुवाको गोसाइँकुण्डमा २७ फिट अग्लो शिवको मूर्ति निर्माण हुने भएको छ। २६ औं वन्यजन्तु सप्ताह–२०७८ को समापन कार्यक्रममा बोल्दै बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले माग्ने अभियान सञ्चालन गरेर मूर्ति निर्माण गर्न लागिएको बताएका हुन्।  

मूर्ति निर्माणको लागि रसुवाको सदरमुकाम धुन्चेबाट माग्ने अभियान सुरु गरिने उनको भनाइ छ। ‘यो अभियानमा म पनि सँगै हिँड्छु’, उनले भने, ‘यसका लागि रसुवाली जनताले पनि साथ दिनुपर्छ।’ यसका लागि जिल्लाका नागरिकले आवश्यक सामग्रीहरू उपलब्ध गराउन उनले आग्रह गरे। अभियान धुन्चेबाट सुरु गरेर स्वयम्भुसम्म पुर्‍याइने उनले बताएका छन्।  

मन्त्रालयले गोसाइँकुण्ड एकीकृत विकास योजना सञ्चालनका लागि मन्त्रालयले काम सुरु गरिसकेको छ। जो गोसाइँकुण्ड आएका छैनन् उनीहरूलाई आउनै पर्ने बनाउनका लागि सोही अनुसार काम गरिने उनले दावी गरे।  

मन्त्रालयले बनाएको योजना अनुसार गोसाइँकुण्डमा अमरसिंहको मूर्ति समेत निर्माण हुने छ। उनका अनुसार अमरसिंहको उचाई जति थियो उनको मूर्ति पनि उति नै अग्लो हुने छ। अहिले गोसाइँकुण्डको छेउमा अमरसिंहको गुफा रहेको छ। त्यसैगरी धुन्चे गोसाइँकुण्ड केबलकारको काम आउँदो हिउँदबाट काम सुरु गरिने उनले बताए।  

आउँदो बजेटमा रसुवामा चालु आर्थिक वर्ष २०७७/७८ को तुलनामा दोब्बर बजेट विनियोजन गरिने उनले दावी गरेका छन्। उनले केपी शर्मा ओली सरकारले देश र जनताको निम्ती काम गरेकाले ओली राजनेता भएको समेत दावी गरेका छन्। ‘पहिले सञ्चार माध्यममा बिहानबिहान निराश बनाउने खालको समाचार सुन्न पर्ने अवस्था थियो’, उनले भने, ‘अहिले सरकारले गरेका उपलब्धीको बारेमा सुन्न पाउँदा खुसी लागेको छ।’ सप्ताहको अवसरमा सदरमुकाम धुन्चेमा साताव्यापी कार्यक्रम सञ्चालन गरिएको थियो।

प्रकाशित: ७ वैशाख २०७८ १३:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App