८ वैशाख २०८१ शनिबार
राजनीति

असंवैधानिक कदमविरुद्ध मतदान: कांग्रेस

नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी एमालेको सरकारको असंवैधानिक र प्रतिगमनका विरुद्धमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका पक्षमा मतदान गरेको जनाएको छ। कांग्रेस केन्द्रीय समितिको बैठकले पनि असंवैधानिक र प्रतिगमनविरुद्ध माओवादीसँग मिलेर जाने निर्णय गरेको थियो। सोहीअनुसार कर्णालीमा कांग्रेसले मुख्यमन्त्री शाहीका पक्षमा मतदान गरेको जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक ढंगले संसद् विघटन गर्दा नेपाली कांग्रेसले देशभरि त्यसको विरुद्धमा विरोध गरेको स्मरण गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता तथा केन्द्रीय सदस्य जीवनबहादुर शाहीले भने, ‘हामीले कुनै लोपलालचमा लागेर मुख्यमन्त्री शाहीका पक्षमा मतदान गरेका होइनौं। हामीले खाली असंवैधानिक र प्रतिगमनका विरुद्ध मतदान गरेका हौंँ।’ ‘तटस्थ बस्ने इच्छा थियो, हामी दुवै पार्टीको प्रतिपक्ष हो नि। हिजो यी दुई पार्टी एउटै थिए,’ उनले भने, ‘तर यस्तो अवस्थामा तटस्थ बस्न पनि मिलेन।’ दान, रक्तदान र कन्यादानमा पैसा खान नमिल्ने भन्दै उनले कुनै लेनदेन नगरि पक्षमा मतदान गरेको बताए।

 ‘एमालेसँग लाग्दा सत्ताको लालायित हुने आरोप लाग्ने र माओवादीलाई मत दिँदा बहुलाएर मतदान गरेको भन्ने आरोप लाग्छ,’ उनले भने, ‘राजनीतिमा फाइदा र बेफाइदा नहेरि दलीयता र राष्ट्रिय राजनीतिका हिसाबले तल परेका साना निमुखलाई तान्ने कांग्रेसको नीतिअनुसार मुख्यमन्त्री शाहीका पक्षमा मतदान गरेका हौं।’ पक्ष वा विपक्षमा मत दिँदा पनि कांग्रेस तेस्रो सिटमा बस्नुपर्ने अवस्था भएको भन्दै उनले दलीय व्यवस्थामा भागेर हिँड्न नसकिने र मत पनि दिन्न भन्न नसकिने उनले बताए। पूर्व मन्त्रीसमेत रहेका शाहीले यदी कांग्रेसलाई सरकारको जिम्मा दिए नाइ नभन्ने उनको भनाइ छ।

त्यस्तै एक सांसदका अनुसार माओवादी र कांग्रेसले सत्ता साझेदारी गर्ने सहमति भएको बताए। ‘सत्ता साझेदारका लागि लिखित सहमति भएको छैन,’ उनले भने, ‘आलोपालो सरकारको नेतृत्व गर्ने मौखिम सहमति भएको छ।’ यता नेपाली कांग्रेसका सांसद हिमबहादुर शाहीले भने मतदान गर्नुभन्दा अगाडि कुनै सहमति नभएको बताए। कांग्रेसले सत्ताका लागिभन्दा असंवैधानिक कदमविरुद्ध मतदान गरेको बताए।  

‘केपीको अतिवादविरुद्ध पक्षमा मतदान’

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका पक्षमा मतदान गरेको नेकपा एमालेका चारजना सांसदले फ्लोर क्रस मन्त्री पदका लागि नभइ केपी शर्मा ओलीको अतिवादका विरुद्धमा मतदान गरेको बताएका छन्। ती सांसद माधव नेपाल समूहका हुन्। उनीहरूले पनि मन्त्रीको लोप नभइ केपीओलीको अतिवादका विरुद्ध आफूहरू उभिएको बताए। ‘हामीलाई एमालेका संसदीय दलका नेता यामलाल कँडेलले पनि मन्त्री दिन्छु भन्नु भएको थियो,’ फ्लोर क्रम गर्नेमध्येका एक सांसद अमरबहादुर थापाले भने, ‘हामी मन्त्री पदका लागि कदम उचालेका होइनौं।’ एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अतिवादलाई झुकाउन मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेको उनले बताए। 

‘माओवादीका नेता रामबहादुर थापालगायत एमालेमा आउँदा राजनीतिक अपराध नहुने,’ उनले भने, ‘हामीले पार्टीभित्र अराजकता मच्चाउनेका विरुद्ध मतदान गर्दा राजनीतिक अपराध हुन्छ ?’ यो राजनीति विषय भएको भन्दै उनले, ‘आन्दोलनपश्चात् पार्टीमा नेता हुन वा सहिद हुन् राजनीतिमा लागिएका हौँ। कुनै पदका लागि लालायित हुन होइन।’ उनले यसो बताइरहँदा पनि एमालेबाट फ्लोर क्रस गर्नेहरू चारजनाबीच सरकारमा जाने नजाने भन्ने विषयमा छलफल चलेको एक सांसदले बताए। ‘सरकारमा जाने वा नजाने छलफलमा छौं,’ ती सांसदले भने, ‘सरकारमा जाने निश्चित भएपछि कस्तो अवस्थामा जाने भन्ने छलफल हुन्छ।’

प्रकाशित: ५ वैशाख २०७८ ०१:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App