१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रदेश सभा बैठक तेस्रो दिन पनि अवरुद्ध

प्रदेश–१ को प्रदेशसभा बैठक लगातार तेस्रो दिन पनि अवरुद्ध भएको छ ।  सोमबारको बैठक पनि प्रतिपक्षी दलहरूले अवरुद्ध पारेका हुन् । सोमबार बसेको प्रदेशसभाको बैठक सुरू भएलगत्तै  नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले अवरुद्ध गरेका हुन् । प्रतिपक्ष दलका सांसदले उठेर विरोध जनाएपछि उपसभामुख सरस्वती पोखरेलले बस्न आग्रह गरेकी थिइन् । तर, प्रतिपक्ष दलका सांसदहरूले निरन्तर बैठक अवरोध गरिरहेपछि उपसभामुख पोखरेलले जनता सामाजवादी पार्टीका संसदीय दलका नेता जयराम यादवलाई बोल्न अनुमति दिएकी थिइन् ।

 संसदलाई सम्बोधन गर्दै यादवले सरकार आफ्नो खुट्टामा उभिन नसकेको बताए । उनले सदनबाट पारित भएको बजेट कार्यान्वयन नगरेर  सरकारले आफ्नो असक्षमता देखाएको बताए । सरकारलाई जवाफदेही बनाउन प्रतिपक्ष दलहरूले बैठक अवरुद्ध पारेको उनले स्पष्ट पारे । उनले भने ‘आफैंले ल्याएको बजेटसमेत कार्यान्वयन गर्न नसक्ने सरकारले कसरी प्रदेश हाँक्न सक्छ भन्ने प्रश्न उठेको  छ ।’ सकारलाई जिम्मेवार बनाउन र बजेट कार्यान्वयनको सुनिश्चितता गर्न प्रदेश सभा बैठकमा अवरोध गरिएको उनले बताए ।  

प्रतिपक्षी दलले अवरोध गरेपछि प्रदेश १ को प्रदेशसभा बैठक वैशाख ५ गतेसम्मका लागि स्थगित भएको छ । उपसभामुख सरस्वती पोखरेलले प्रदेशसभाको सातौ तथा हिउँदे अधिवेशनको आठौं बैठक वैशाख ५ गते दिउँसो १ बजे सम्मका लागि स्थगित गरेकी हुन् । जारी हिउँदे अधिवेशनमा प्रतिपक्षी दलहरूले चालु वर्षका लागि स्वीकृत कार्यक्रमहरू सुचारू गर्नु पर्ने, विकास आयोजनालाई निरन्तरता दिनुपर्ने, अलपत्र रहेका बहुवर्षे विकास आयोजनाको काम सुचारू गर्नुपर्ने बजेट कार्यान्वयनमा लैजानु पर्ने लगायतका माग राखि प्रदेश सभा बैठक अवरुद्ध पारिरहेका छन् । 

संसदको गतिरोध अन्त्य गर्न  मुख्यमन्त्री शेरधन राईले सोमबार बिहान बैठक आह्वान गरेका थिए । तर प्रतिपक्षीको माग सम्बोधन गर्न सरकार तयार नदेखिएपछि अवरोध गरेको यादवले जानकारी दिए । यस अघि पछि चैत २६ र २७ गतेको बैठक प्रतिपक्षी दलले अवरुद्ध पारेका थिए । 

प्रकाशित: ३० चैत्र २०७७ ११:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App