५ वैशाख २०८१ बुधबार
राजनीति

अहिलेको मिसन ओली सरकार हटाउने होः कोइराला

पोखरामा भएको पत्रकार भेटघाटमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोईराला । तस्बिरः नागरिक

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोईरालाले देशलाई निकास दिन कांग्रेसको नेतृत्वमा चुनावी सरकार बनाउनुपर्ने बताएका छन् । प्रेस युनियन कास्कीले सोमबार आयोजना गरेको पत्रकार भेटघाटमा कोईरालाले संसदलाई काम नदिएर अनिर्णयको बन्दी बनाउने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई अब धेरै दिन राखिराख्न नहुने बताए ।  

उनले आगामि मंसिर वा चैत महिना भित्र निर्वाचन गराउने गरि सबै दलको सरकार गठन हुनुपर्ने समेत बताए । नेकपा भित्रको विवादले नेपालको राजनीतिमा अस्थिरता आएको बताउदै उनले भने, ‘अहिले एमाले भित्रको गुटको असर संसद र सरकारमा परेको छ ।’

कोईरालाले माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता नलिनु र मधेसवादी दलले सरकार गठनमा निर्णय नगर्दा ढिलाई भएको बताए । ‘अब छिटै निर्णय लिएर संसद र सरकारलाई बाटो खोलिदिनुपर्छ,’ उनले भने । माओवादीले सरकारको समर्थन फिर्ता नलिएको र मधेसवादी दलले पनि निर्णय नदिँदा अन्योल भएको उनले बताए । ‘उनीहरु (मधेसवादी दल) पनि प्रस्ट हुनुपर्छ । किन मधेसवादी दलहरु एमालेको पछि लागेका छन् भन्ने बुझ्न सकिएन,’ उनले भने । सबैको ध्यान अब ओली सरकार हटाउनका लागि हुनुपर्छ ।’  

ओली सरकार जति समय रहन्छ उत्ति नै समय देशमा अराजकता बढ्ने उनले बताए । ‘अहिलेको मिसन ओली सरकार हटाउने हो । कसको नेतृत्व  हुन्छ भन्ने कुरा पछि छलफल गरेपनि हुन्छ,’ उनले भने । नेता कोईरालाले प्रधानमन्त्री ओलीमा राजनैतीक नैतिकता नभएकाले नै सरकारको विकल्प खोज्नु परेको बताए ।  

नेपाली कांग्रेसको महाधिवेशनको बारेमा बोल्दै नेता डा. कोईरालाले भदौ भित्र महाधिवेशन हुनैपर्ने बताए । आफ्नो उम्मेदवारी सभापति बाहेक अन्य पदमा नुहने उनले प्रस्ट्याए । पार्टी  सभापति शेरवहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सार्वजनिक मञ्चमा देखिने असमझदारी दुर्भाग्यपूर्ण रहेको उनले बताए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतले पनि कांग्रेसको नेतृत्व स्वीकार्ने उनले बताए । 

प्रकाशित: ३० चैत्र २०७७ ०६:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App