coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

उदयपुरमा नेकपा एमालेको समानान्तर कमिटी

आन्तरिक संघर्ष उत्कर्षमा पुगेको पुनर्जीवित नेकपा (एमाले) को माधव नेपाल र झलनाथ खनाल समूहले उदयपुरमा समानान्तर कमिटी गठन गरेको छ। वरिष्ट नेता नेपालसहित उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई साधारण सदस्यसमेत नरहने गरी ६ महिनाका लागि निलम्बनको कारबाहीपछि चर्केको अन्तरसंघर्षको क्रममा देशव्यापी समानान्तर कमिटी निर्माणको क्रमलाई सो समूहले तीव्रता दिएको हो।  

केही दिनअघि प्रधानमन्त्री तथा पार्टीअध्यक्ष केपी शर्मा ओलीले नेपालसहित अगुवा नेतालाई कारबाही गरेसँगै समानान्तर कमिटी गठन प्रक्रियाको अभियानलाई सो समूहले देशव्यापी बनाएको हो। उदयपुरमा जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष ईश्वरमणि राउतकै अध्यक्षतामा समानान्तर कमिटी निर्माण भएको पार्टीले जनाएको छ।

पार्टीको २०५ सदस्यीय समानान्तर जिल्ला कमिटीमा अध्यक्ष राउत स्वयं छन्। उपाध्यक्षमा कैलाश बस्नेत, सचिव जयराम पञ्जियार थारू र उपसचिवमा गीता खड्का छन्। समानान्तर कमिटीलाई एमाले पोलिटब्युरो सदस्य जगन्नाथ खतिवडाले भर्खरै शपथ गराएका छन्। अध्यक्ष राउत र केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बलदेव चौधरी आफ्नै समूहमा रहेकाले जिल्ला पार्टीदेखि सबै जनवर्गीय संगठनमा एमालेका समानान्तर कमिटी गठन गर्ने क्रम चलिरहेको पार्टीले जनाएको छ।  

शपथ लिइसकेको जिल्ला नेतृत्वले आगामी ३ महिनाभित्र जिल्लाका ४ नगरपालिका र ४ गाउँपालिका गरी ८ वटै स्थानीय तह तथा ७५ वटै वडामा पार्टीको समानान्तर कमिटी गठन गरिसक्ने निर्णय गरेको छ। जिल्लाका धेरैजसो स्थानीय तह र वडा कमिटीहरू आफ्नै समूहका रहेकाले त्यसैलाई कायम राखिने छ भने ओली समूहले खोसेका केही ठाउँमा नयाँ कमिटी गठन गर्ने अध्यक्ष राउतले बताए।  

पार्टीसँगै समूहले एमालेका सबै जनवर्गीय संगठनको पनि समानान्तर कमिटी गठन गर्ने क्रम चलिरहेको राउतले बताए। जसअनुसार युवा संघ, अनेरास्ववियु, अनेमसंघ गठन भइसकेको र मजदुर संगठन, जनसांस्कृतिक महासंघ, किसान महासंघ र जनसम्पर्कलगायत अन्य जनवर्गीय संगठनका समानान्तर कमिटी पनि छिट्टै तल्लो तहसम्म गठन गरिसक्ने पार्टीले जनाएको छ।

प्रकाशित: २८ चैत्र २०७७ ००:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App