१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संसद्लाई गतिशील बनाउने विषयमा छलफल

सभामुखले गरे प्रधानमन्त्रीसँग सम्बन्ध सुधारको प्रयास

सरकारले बिजनस नदिएर संसद् बिजनेसबिहीन भइरहेका बेला प्रधानमन्त्री केपी ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच आइतबार भेटघाट भएको छ। 

सभामुख सापकोटाले प्रधानमन्त्रीलाई भेटन खोजेपछि प्रधानमन्त्री ओलीले आइतबार समय दिएका थिए । दिउँसो बालुवाटारमा भएको भेटघाटमा संसद् गतिशिल बनाउन आग्रह गरेका थिए । एक महिनाबीचमा जम्मा ६/७ वटा बैठक मात्र बस्ने, संसद्मा विचाराधीन विभिन्न विधेयक अगाडि नबढेको अवस्था तथा सरकारले संसद्लाई नयाँ विधेयक पनि नदिँदा संसद् बैठक सञ्चालनमा निकै कठिनाइ भएपछि सभामुखले प्रधानमन्त्रीलाई भेट गरेका हुन्।  

संसद् प्रभावकारी बनाउने विषयमा कार्यपालिका प्रमुख र व्यवस्थापिका प्रमुखको भेटघाट हुनेगरेको परम्परागत अभ्यास छ । तर, प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भने यस्तो भेटघाट धेरै भएको छैन। स्रोतका अनुसार प्रधानमन्त्रीले सभामुखलाई धेरैपटक भेटका लागि समय दिएका थिएनन् । गत भदौदेखि यता प्रधानमन्त्रीको र सभामुखको भेट भएको छैन।

 संसद् विघटन पछि सभामुख सापकोटाले नै प्रधानमन्त्रीलाई मुद्दा हालेका थिए। सर्वोच्चले संसद् पुनःस्थापनापछि फागुन २३ गतेदेखि संसद्को हिउँदे अधिवेशन सुरु भएको थियो। तर चैत १४ गतेसम्म आइपुग्दा पनि संसद्ले ‘बिजनेस’ अगाडि बढाउन नसकेपछि सभामुख सापकोटा अलमलमा परेका थिए । सभामुखले सरकारले संसदमा ल्याएका अध्यादेशलाई पेश गर्नका लागि नियम निलम्बन गरेर अघि बढाउन खोजेपनि सरकारले रोकेको थियो।

सात अध्यादेशलाई नियम निलम्बन गरेर जाने कार्यक्रम सरकारले रोकेपछि ती अध्यादेश अलपत्र छन्। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म भएको दुई घण्टासम्म भएको दुई जनाबीच एक्लाएक्लै भेट भएको थियो । संसद्मा बिजनेस भएपनि सरकारले बिजनेस नदिँदा सातामा एक दिन मात्र बैठक बस्नुपरेको अवस्थामा कसरी संसद् चलाउने भन्ने छलफलको मुख्य विषय भएको स्रोतको दाबी छ।  

प्रतिनिधिसभामा पारितको प्रक्रियामा रहेका नागरिकता विधेयक, संघीय निजामती सेवासम्बन्धी विधेयक रहेका छन्। प्रतिनिधिसभा र राष्ट्रियसभामा गरी करिब ५५ विधेयक छन्। प्रतिनिधिसभामा मात्र ३६ विधेयक छन् । गत सालको असार १८ गते संसद्को बर्खे अधिवेशन अन्त्य गर्दा सभामुखलाई थाहै नदिइकन अन्त्य भएको थियो। पुस ५ गते संसद् विघटन भएपछि प्रधानमन्त्री र सभामुखबीचको तित्तता झन् बढेको थियो। 

सभामुख सापकोटाले विज्ञप्ति निकालेर संसद् विघटन गर्ने प्रधानमन्त्रीको कदमको विरोध गरेका थिए । दिउसो दर्ता भएको अविश्वासको प्रस्ताव बिहानको समय राखेर दर्ता गरेको भन्दै प्रधानमन्त्रीले सभामुखलाई किर्ते काम गरेको आरोप लगाएका थिए। प्रधानमन्त्री र सभामुखको तित्तता बढ्दै जाँदा प्रधानमन्त्रीले सभामुखलाई हटाउने खेल खेलेको स्रोतले बतायो। स्रोतका अनुसार सभामुखले आग्रह गरेपनि प्रधानमन्त्री ओलीले संसद्लाई बिजनेस दिन्छन् भन्ने देखिँदैन।  

प्रधानमन्त्री ओलीले नेपाली कांग्रेससँग मिलेर सभामुखलाई नै हटाउने खेल खेलेको अनुमान सभामुख सापकोटाले पनि गरेका छन्। सभामुख हटाउनका लागि १८३ सांसदको सहमति अर्थात् दुईतिहाइको समर्थन आवश्यक पर्ने भएपछि एमालेको १२० र कांग्रेस ६१ र अन्य दुई दलको समर्थन भएमा दुई तिहाइबाट हटाउन सम्भव देखिन्छ।

त्यो खेललाई रोक्न पनि सापकोटाले प्रधानमन्त्रीसँग सम्बन्ध सुधार गर्न बालुवाटार पुगेको स्रोतले बतायो। संसद्को पहिलो बैठकमा प्रमुख विपक्षी नेपाली कांग्रेसको नाराबाजीबीच संवैधानिक परिषद्सम्बन्धी अध्यादेश टेबुल भएको थियो। तर बाँकी सात अध्यादेश टेबुल हुन सकेका छैनन् । संसद् अधिवेशन सुरु भएको अवसरमा सत्तापक्ष र प्रतिपक्षका संसदीय दलका नेताले भनाई राख्ने परम्परा यसपटक तोडेर दोस्रो तहका नेताहरूलाई बोल्न समय दिइयो। एक पटक शुन्य समयमा मात्र बोल्न समय दिइयो । त्यसबाहेकका सबै बैठकमा शोक प्रस्ताव पारित गरेर बैठक सकिएका छन्। छैठौ बैठक चैत १८ गते राखिएको छ त्यो दिन कार्यसूचीमा के विषय राख्ने अन्योल छ।  

प्रतिनिधिसभाको चैत १० गते मंगलबारको बैठकमा बैठकमा शून्य समयमा बोल्दा प्रतिपक्षका सांसद गगन थापाले प्रधानमन्त्री ओली जहिलेसमम रहन्छन् त्यो बेलासम्म संसद्ले काम गर्न नसक्ने अवस्था आएको बताएका थिए। उनले कानुन बनाउने कार्य रोक्न कै लागि राष्ट्रियसभाको अधिवेशन नबोलाएको बताए। ‘हामी स्पष्ट छौं, जतिदिन यो सरकार रहन्छ, संसद्को तिरस्कार, अपमान र उपेक्षा गर्नेकाम अझ बढ्दै जानेछ, किनकी प्रधानमन्त्रीलाई यो संसदसँग बदला लिनुछ,’ उनले भनेका थिए।

प्रकाशित: १६ चैत्र २०७७ ०२:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App