३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

मुलुकलाई निकास दिन कांग्रेसले अग्रसरता लिन्छ : खाँण

नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले मुलुकलाई निकास दिन कांग्रेसले अब अग्रसरता लिनुपर्ने बताएका छन्। मुलुकको राजनीतिमा अहिले कालो बादल मडारिएको भन्दै नेता खाँणले कांग्रेस अब लामो समय मौन बस्न नहुने बताएका हुन्।  

बुटवलको राज्य टेलिभिजनले शुक्रबार बुटवलमा गरेको मानव अधिकारको प्रवर्द्धन र सवलीकरणमा मिडियाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्व रक्षामन्त्री समेत रहेका खाँणले संविधान र लोकतन्त्रलाई कमजोर बनाउन खोज्नेहरुसँग सहकार्य हुन नसक्ने पनि बताए। प्रतिगमनविरुद्धको आन्दोलनमा सहभागी दलहरुबीच हातेमालो गरेर अगाडि बढ्नुपर्ने उनले जोड दिए।

संविधानको रक्षा गर्ने जिम्मेवारी र दायित्व सरकारको भएपनि बर्तमान सरकारले  सुरुदेखि नै संविधानको मूल्य मान्यता र मर्ममाथि प्रहार गर्दै आएको बताए। पछिल्लो पटक विकसित राजनीतिक घटनाक्रमले जनतामा निरासा बढेको र त्यसले ठूलो बिद्रोह निम्त्याउन सक्ने चिन्ता व्यक्त गरे।

लोकतन्त्रलाई समाप्त पार्न खोज्नेहरु आफैं समाप्त भएको इतिहास स्मरण गर्दै नेता खाँणले संविधान र लोकतन्त्रमाथि प्रहार गर्ने बर्तमान सरकारको नेतृत्वकर्ताहरु पनि समाप्त हुने दाबि गरे। जनतालाई राज्यसत्ताको मालिक बनाउने आन्दोलनको नेतृत्व कांग्रेसले गर्दै आएको भन्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको रक्षाका लागि कांग्रेसले नेतृत्व लिने बताए।

कार्यक्रममा नेपाल प्राध्यापक संघका अध्यक्ष डा.बुद्धबहादुर थापा, राष्ट्रिय दलित पत्रकार संघका अध्यक्ष बिनोद पहाडी, राज्य टेलिभिजनका अध्यक्ष गोविन्द खनाल, प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष डा.बालकृष्ण चापागाई, प्रकाशन तथा प्रसारण समाजका सचिव माधव नेपाल, पत्रकार महासंघ रुपन्देही उपाध्यक्ष निरा गौतम, टेलिभिजनका सञ्चालक डा.बिनोद पराजुली, कार्यकारी निर्देशक बिष्णु भुसाललगायतले बोल्दै मानव अधिकारको प्रवर्द्धन र सवलीकरणमा मिडियाको भूमिका महत्वपूर्ण रहेको भन्दै त्यसका लागि मिडिया बलियो हुनुपर्नेमा जोड दिए।

प्रकाशित: १३ चैत्र २०७७ १३:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App