८ वैशाख २०८१ शनिबार
राजनीति

सरकार र पार्टी सञ्चालनको जिम्मा दोस्रो पुस्तालाई हस्तान्तरण गर्नुपर्छ : पूर्व पर्यटनमन्त्री भट्टराई

नेकपाका स्थायी समिति सदस्य तथा पूर्व पर्यटनमन्त्री योगेशकुमार भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसहितका शीर्ष नेताले सरकार र पार्टीबाट विश्राम लिई नयाँ पुस्तालाई सरकार र पार्टी सञ्चालनको जिम्मा दिए पार्टी अहिले पनि जीवित रहने बताएका छन्। प्रेस संगठन ताप्लेजुङद्वारा शुक्रबार फुङलिङमा आयोजित पत्रकार सम्मेलनमा नेता भट्टराईले मदन भण्डारी जन्मेको जिल्लाको नेताका नाताले पार्टी जीवित राख्ने सूत्र बताउँदै त्यसका लागि प्रधानमन्त्री ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताए।  

ओलीसहित पार्टीप्रमुख भइसकेका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालले समेत पार्टीलाई जीवित र पार्टीमा एकता राख्ने सर्तमा आफूहरू अहिलेको परिस्थतिमा प्रधानमन्त्री र पार्टीको शीर्ष नेतृत्वमा नबस्ने र पार्टीका दोस्रो पुस्ताका प्रतिनिधिसभा सदस्यमध्ये एकजनालाई प्रधानमन्त्री स्वीकार गरेर जाने अवस्था भएमा पार्टी जीवित र एकीकृत हुने उनको भनाइ छ। नेता भट्टराईले यो अवस्थामा पार्टी सञ्चालनका लागि दोस्रो पुस्ताका नेताको अध्यक्ष मण्डल बनाउने, अध्यक्ष मण्डलले पार्टीको सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा लैजाने प्रस्ताव तयार पार्ने, पार्टी एकताका क्रममा देखिएका असन्तुलनमा सन्तुलित बनाउने र बृहत् राष्ट्रिय भेलामार्फत एकताको सन्देश दिने अवस्थामा पार्टीका लागि सबैभन्दा उत्तम विकल्प हुने बताए। यो अवस्थामा आगामी स्थानीय र संघीय तथा प्रदेशसभाको निर्वाचनपछि राष्ट्रिय एकताको महाधिवेशन गरेर पार्टीका सबै किसिमका समस्याको हल गर्न सकिने धारणा राखे।  

२३ फागुनदेखि सुरु हुने संसद् अधिवेशनमा नेकपाका सांसद कोही सत्ता पक्ष र कोही प्रतिपक्षमा बस्न थालेपछि विभाजनको सुरुआत त्यहीँबाट हुने भट्टराईले संकेत गरे। ओली, दाहाल र नेपालसहितका नेकपा नेताहरूमा रहेको विजयको घमण्डले पराजयको अवस्थामा पुर्‍याउन लागेको भन्दै भट्टराईले आफू पराजित भए पनि पार्टी, सरकार र देश बचाउन शीर्ष नेतृत्वले योगदान दिनुपर्ने बताए। उनले कोमामा रहेको पार्टी एकताका लागि एक कुशल चिकित्सकको खाँचो रहेको तर त्यो चिकित्सक नभेट्टाउनु नै अहिलेका लागि दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे।

प्रकाशित: २२ फाल्गुन २०७७ ०३:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App