१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संसद पुन:स्थापना भए देशमा तमासा हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित संसद पुन:स्थापना भए देशमा तमासा सुरु हुने बताएका छन्। कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले संसद पुन:स्थापना भयो भने प्रधानमन्त्री खोज्ने, समीकरणमा अनेक खेल हुने, सांसद किनबेच हुने बताए।  ‘यदि विघटित संसद पुन:स्थापना भएमा देशमा तमासा सुरु हुनेछ,’ उनले भने,‘त्यसपछि प्रधानमन्त्री खोज्न, पार्टी खोज्न हिड्नुपर्छ, सासंद किनबेच, भागबण्डा, बिभिन्न समीकरणको खेल चल्ने छ।’ संसद पुन:स्थापनाका लागि अदालतमा परेको रिटबारे बाल्दै प्रधानमन्त्री ओलीले भने,‘अदालतले जस्तो फैसला गरेपनि हामीलाई कुनै छटपटी हुँदैन, हाम्रो ध्यान देश बनाउने अभियानमा भएकाले जे भए पनि फरक पर्दैन।’

देश निर्वाचनतर्फ गइसकेकाले अबको दुई/तीन दिनभित्र दालतले मुद्दा टुंग्याउने बताउँदैै प्रधानमन्त्री ओलीले भने,‘अबको दुई/तीन दिनमै अदालतमा चलिरहेको संसद विघटन सम्बन्धि मुद्दाको फैसला हुनेछ।’ आफूहरुले कसैलाई धम्की दिन आवश्यक नभएको बताउँदै उनले अदालतलाई धम्की दिने बानी आफूहरुको नभएको बताए। ‘हामी लोकतन्त्रमा विश्वास गर्ने हुँदा न्यायालयलाई धम्की दिदैनौ,’ उनले भने।  संसद विघटनको विषयमा अदालतको फैसला आउन लागेको बताउँदै उनले भने,‘फैसला जे आएपनि हामी देश बनाउने अभियानमा छौँ, नतिजा जे आए पनि हाम्रो राजनीति सकिँदैन ।’ आफूहरु पृथकीकरणको सिद्धान्त र स्वतन्त्र न्यायालयप्रति विश्वास गर्ने उनले बताए ।  

आफूले विराटनगरमा आन्दोलन गर्छु भनेको कुरालाई केहीले दुस्प्रचार गरिरहेको बताउँदै प्रधानमन्त्री ओलीले भने,‘आन्दोलन भनेको नारा, जुलुस, ढुंगामुढा गर्ने भनेको होइन, देश निर्माणको आन्दोलन अर्थात् अभियान भनेको हो।’ समग्र राष्ट्रिय परिवर्तनका लागि आन्दोलन भनिएको उनले प्रष्ट पारे। अहिलेको सरकारले विकासको गतिलाई अगाडि बढाउँदै लगेको बताउँदै उनले भने,‘हामी विकासको गतिलाई अगाडि बढाइरहेका छौँ, अब विकासलाई कसैले रोक्न सक्दैन।’ आफूहरुले सरकारका लागि काम गर्ने नभई सरकारले जनताका लागि काम गर्ने भएकाले विकास निर्माणमा कसैले रोक्न नसक्ने उनले जिकिर गरे। ‘अहिलेको सरकार जनतालाई अलमल्याउनका लागि हैन,’ उनले भने,‘यो सरकार देश बनाउनका लागि काम गरिरहेको छ।’ आफूहरुको काम विध्वंश गर्ने नभई विकास निर्माण गर्ने रहेको बताउँदै उनले भने,‘हाम्रो काम विध्वंश गर्ने होइन, निर्माण गर्ने हो, अब महाकालीदेखि मेचीसम्म रेल कुद्छ, त्यसका लागि काम भइरहेको छ।’ आफू कर्मी माहुरी भएको बताउँदै प्रधानमन्त्री ओलीले प्रचण्ड माधवतिर इंगित गर्दै भने,‘कर्मी मौरीले मह खोजेर ल्याउँछ, तर डायना मौरी बसीबसी खान्छ।’ दुई वर्षको अवधिमै देशमा विकास निर्माणले कोल्टे फेरेको बताउँदै उनले भने,‘अहिले बिजुली नबलेको गाउँनै छैन, यदि विजुली नपुग्न सक्ने दुर्गम गाउँमा हावाबाट बिजुली, सौर्य विद्युतबाट पनि जनतालाई उज्यालो दिएका छौँ।’    

प्रधानमन्त्री ओलीले महाकाली सन्धिको स्मरण गर्दै भने,‘महाकाली सन्धिमा नदी बेचेको होइन, सदूपयोग गरेको हो।’ महाकालीको पानी लिएर भारतले सिँचाइ गरिरहेको, तर नेपालमा सुख्खा रहेकाले अब चाँडै कञ्चनपुरको दोधारा चाँदनीमा सिँचाई पुग्ने बताए। ‘महाकालीको पानीका लागि भारतसँग सहमति भएको छ,’ उनले भने,‘अब सुख्खा भूमि सिंचित हुनेछ।’ यो सरकारले नेपालको गुमेको भूमि समेत आफ्नो नक्सामा समेटेको बताउँदै प्रधानमन्त्री ओलीले भने,‘हामीले गुमेको भूमिलाई नक्सामा समेटेर संविधानमा राखेका छौँ। छिमेकीसँग कुरा गरिरहेका छौँ, हाम्रो भूमि संविधानमा अंकित भएको छ।’ पश्चिम सेतीलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा निर्माण गर्ने बताउँदै उनले भने,‘अब हामी पञ्चेश्वर र पश्चिम सेतीले सुदूरपश्चिमलाई झिलिमिली पार्नेछौँ।’ ५० मिनेटको सम्बोधनमा  सरकारले देश विकासमा गरेका कामको चर्चामा समय खेर्चेका  प्रधानमन्त्री ओलीले निरोगी नेपालको नारा लिएको बताए। ‘हामीले एकै दिनमा तीन सय बढी अस्पतालको सिलान्यास गरेका छौँ,’ उनले भने,‘अब उपचार नपाएर कोही मर्नुपर्ने छैन।’  

 

प्रकाशित: १० फाल्गुन २०७७ १२:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App