१६ चैत्र २०८० शुक्रबार
राजनीति

संसद् पुनःस्थापनाको विकल्प छैन : डा. कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसद् पुनःस्थापनाको कुनै विकल्प नरहेको दाबी गरेका छन्। ‘हामीले संविधान निर्माण गर्दा स्पष्ट शब्दमा बहुमत प्राप्त प्रधानमन्त्रीले संसद् विघटन गर्न नपाउने व्यवस्था गरेका छौं,’ उनले भने, ‘संविधानमा भएको व्यवस्था नै सर्वोच्च अदालतका न्यायाधीशहरूले व्याख्या गर्ने हो। त्यसैले अधिकार नै नभएको प्रधानमन्त्रीले कसरी संसद् विघटन गर्न सक्छन् ? त्यसैले पुनःस्थापनको विकल्प छैन।’

संसद् विघटनको निर्णयलाई सर्वोच्चले सदर गरेमा संविधानको कुन धारा, उपधारा प्रयोग गरेर सदर गरियो भन्ने कुरा आमनागरिकले बुझ्ने भाषामा प्रष्ट जानकारी गराउनुपर्ने उनको भनाइ थियो। न्यायाधीशले विवेकपूर्ण निर्णय गर्ने उनले विश्वास व्यक्त गरे।  

संसद् पुनःस्थापना नभएपनि वैशाखमा निर्वाचन हुने अवस्था नरहेको भन्दै नेता कोइरालाले त्यसपछि संघीयता नै संकटमा पर्ने चिन्ता व्यक्त गरे। फरक प्रसंगमा नेता कोइरालाले कांग्रेसको १४औं महाधिवेशनबाट आफू सभापति बन्ने दाबी गरे। अबको महाधिवेशनमा सभापतिको उम्मेदवार हुने र निर्वाचित भएर एक कार्यकालको मात्रै पार्टीको नेतृत्व गर्ने उनको भनाइ थियो।  

शनिबार जनकपुरमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले केन्द्रमा सबै नेताहरूसँग आफ्नो उम्मेदवारीका विषयमा छलफल भइरहेको स्पष्ट पारे। ‘म एक्लै चुनाव लड्ने होइन, केन्द्रमा साथीहरूसँग निरन्तर छलफल भइरहेको छ,’ उनले भने, ‘सबैको सहयोगबाट अबको महाधिवेशनबाट निर्वाचित भएर पार्टीको नेतृत्व गर्छु।’

पार्टी सभापति भएपछि आफूले सरकारको नेतृत्व नगर्ने नेता कोइरालाको भनाइ छ। पार्टी र सरकार फरक–फरक व्यक्तिले नेतृत्व गर्नुपर्नेमा उनको जोड थियो। चर्चाका लागि मात्रै उम्मेदवारीको कुरा नगरेको भन्दै उनले नेतृत्व गरेर पार्टीलाई सुधार गर्न नेताहरूसँग छलफल भइरहेको बताए।

प्रकाशित: ९ फाल्गुन २०७७ ०१:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App