१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

विराटनगरबाट ओलीको उद्घोषः चुनाव हामीले नै जित्नुपर्छ

विराटनगरमा शनिबार आयोजित नेकपा ओली पक्षको सभा । तस्बिर : चुमन बस्नेत/नागरिक

नेकपा ओली समूहले प्रतिनिधिसभा निर्वाचनमा होमिन कार्यकर्तालाई निर्देशन दिएको छ। विराटनगरमा शनिबार आयोजित सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलगायतका नेताले निर्वाचनमा होमिन कार्यकर्तालाई निर्देशन दिएका हुन्।

सभालाई सम्बोधन गर्दै ओलीले निर्वाचन तोकिएकै मितिमा हुने र आफूहरूकै जित हुने दाबी गरे। ‘निर्वाचन तोकिएकै मितिमा हुन्छ’, उनले भने, ‘अब, अलमलिने बेला छैन। निर्वाचनको तयारीमा गाउँगाउँबाट सबै जुट्नुपर्छ।’ सरकारले पहिलो चरणको निर्वाचन वैशाख १७ गते र दोस्रो चरणको निर्वाचन २७ गते हुने तोकेको छ।  

ओलीले आधिकारिक नेकपा आफ्नो समूह नै भएको दाबी गर्दै पार्टीको झण्डा र चुनाव चिह्न पनि आफूहरूले नै पाउने बताए। उनले नेकपा दाहाल–नेपाल समूहले सराप्ने राजनीति गरेको आरोप लगाउँदै अब सराप्ने राजनीति हैन विकास गर्ने राजनीति अघि बढाउन आफूलाई सबैको साथ आवश्यक रहेको बताए। उनले निर्वाचनविरुद्ध कुनै जाल, तिकडम भए आन्दोलनको आँधी ल्याउने चेतावनी पनि दिए। ‘निर्धारित मितिमै चुनाव हुन्छ। चुनाव हामीले नै जित्नुपर्छ। सूर्य चिह्न हामीले नै पाउँछौं। निर्वाचनविरुद्ध कुनै प्रकारको जाल, तिकडम भए फेरि पनि हाम्रो आन्दोलन अघि बढ्छ। त्यस्ता शक्तिलाई हामी आन्दोलनको बलले जित्छौं’, उनले भने। पार्टी भनेको मानिसको हुल मात्रै नभई देश र जनताप्रति समर्पित दल निर्माणमा आफूहरू जुटेको ओलीले बताए।

पुष्पकमल दाहाल र माधवकुमार नेपाल प्रति लक्षित गर्दै ओलीले केही मानिस नेपालबाट कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्दै सिध्याउने काममा लागेको आरोप लगाए। उनले दाहाल–नेपाल पक्षलाई सभामा जनताको सहभागिता हेर्न विराटनगर आउन आग्रह गर्दै भने, ‘जनताको सहभागिता हेर्न यता आउनुस्। सभामा मात्रै हैन, सभाबाहिर पनि हेर्नु होला।’ विराटनगरको सभालाई हेर्न ड्रोनले नभ्याएको भन्दै उनले थपे, ‘आजको सभा ड्रोनले भ्याउँदैन, चन्द्रमाबाट मात्रै प्रस्ट देख्न सकिन्छ।’  

ओलीले खिइँदै–खिइँदै गएका प्रचण्ड (दाहाल) को धेरै माया आफूलाई लागेको बताए। उनले भने, ‘खिइँदै–खिइँदै गएका प्रचण्डको धेरै माया लाग्छ। पहिले वैद्य, त्यसपछि डाक्टर, अहिले झाँक्रीलाई लिएर हिँड्नु भएको छ। वैद्य र डाक्टरले नसकेको झाँक्रीले के बचाउँला ?’ सिद्धिइसकेका प्रचण्डलाई आफूले पार्टीमा ल्याएर ठूलै जुरो र सिङ हालिदिएको भन्दै ओलीले जुरो र लामो सिङ भएपछि उनी गुन लगाउनेलाई नै सिध्याउन लागेको टिप्पणी गरे। अझै पनि फर्कने समय रहेकाले पार्टीमा फर्कन र जनसागरमा मिसिन ओलीले प्रचण्डलाई आग्रह गरे। उनले भने, ‘अझै पनि फर्किन चाहनुहुन्छ भने फर्केर आउनुस्। जनताको भिडमा मिसिनुस्।’  

झुक्याएर हस्ताक्षर गराइएका नेताकार्यकर्ता अहिले हस्ताक्षर फिर्ता लिएर आफ्नो पार्टीमा आउने क्रम बढेको उनले बताए। जनताले गरेको विश्वासको धागो नटुटाउन आग्रह गर्दै ओलीले जनताले पार्टी फुटाउन नभई बलियो बनाउन चुनावमा जिताएर पठाएको बताए। उनले लोकतन्त्रको पक्षमा संसद् विघटन गरेको दाबी गर्दै ६४ प्रतिशत सांसदको प्रतिनिधित्व गरेर प्रतिनिधिसभा विघटन गरेको उनले प्रस्ट पारे। संसद् पुनस्र्थापना भए बहुमतको सरकार नबन्ने, त्यसपछि सरकार बनाउने र ढाल्ने खेल सुरु हुने उनले बताए। ‘सरकार ढाल्ने र बनाउने नकारात्मक अभ्यासले लोकतन्त्र कमजोर हुने भएकाले ताजा जनादेशमा जानुपरेको हो’, उनले भने, ‘कसैको प्रभावमा परेर अदालतले निर्णय गर्छ भन्ने आफूलाई विश्वास छैन। सर्वोच्च अदालतले पनि यस्ता सभा हेरेको होला, जनताको अभिमत हेरेको होला।’  

नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष नेपाललाई लक्षित गर्दै उनले महाअधिवेशनबाट छानेको अध्यक्षको पद कुनै खेलौना नभएको बताए। ‘कार्की ब्यांकेटमा भोज खाएर कसैले अध्यक्ष बनाइदिए भनेपछि दंग परेर हिँडेकालाई निर्वाचन आयोगले चिन्दिन भनिदियो। उहाँ कस्तो अध्यक्ष हो ?’ ओलीले भने।  

ओलीले सम्बोधनको क्रममा उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटाको पनि चर्काे आलोचना गरेका थिए। उपराष्ट्रपति र सभामुखलाई उनले सरकारविरुद्धको झगडियाको संज्ञा दिए।

सभालाई सम्बोधन गर्दै गृहमन्त्री रामबहादुर थापाले स्थिरताको आन्दोलनमा देश अघि बढिरहेको बताए। उनले नेपालमा विशिष्ट परिस्थिति बनेकाले प्रतिनिधिसभा विघटन भएको स्पष्ट पारे। बाह्य शक्तिद्वारा नभई आन्तरिक शक्तिहरूबाटै देशलाई अस्थिरततर्फ धकेल्ने षड्यन्त्र भइरहेको उनले बताए।  

‘हाम्रो पंक्तिभित्रका अवसरवादीहरूले, पद लोलुपहरूले आजको असामान्य परिस्थिति निर्माण गरेका हुन्’, उनले भने। उनले नेकपा विवादले देशलाई अस्थिरतातर्फ धकेलेर प्रतिगमनलाई पुनस्र्थापना गर्न भनेर पर्खेकाहरू उत्साहित भएको बताए। यसबाट प्रतिगामीहरू खुसी भए पनि आमजनता दुखी भएको उनले बताए। उनले निर्धारित मितिमा चुनाव गराएर अस्थिरतालाई स्थिरतामा बदल्ने अभियानमा सरकार लागेको उनले बताए।

तीन वर्षमा सरकारले गरेका काम हेर्दा देश समृद्धितर्फ अघि बढिरहेको देखिएको गृहमन्त्री थापाले बताए। तीन वर्षमा सरकारले संघीयताको कार्यान्वयन सफलतापूर्वक अघि बढाएको, भ्रष्टाचारी र अपराधीलाई नियन्त्रणमा लिएको उनको भनाइ थियो। उनले बलात्कारी र हत्यारालाई कानुनको कठघरामा ल्याउने दाबी गर्दै उनले भने, ‘भागरथीको हत्यारालाई कानुनी कठघरामा ल्याइसकेको र निर्मला पन्तको हत्यारालाई पनि कानुनको कठघरामा छिट्टै उभ्याउँछौं।’

उनले प्रतिनिधिसभा विघटन संवैधानिक भएको दाबी गरे। ‘संसद् विघटन ठूलो राजनीतिक कदम भएकाले यो संवैधानिक पनि छ। संविधानको भावना देशलाई स्थिरतातर्फ लैजाने हो’, उनले भने। स्थायित्वका लागि नयाँ संकल्प आवश्यक रहेको, जसका लागि ताजा जनादेशमा जाने निर्णय सरकारले गिरेको स्पष्ट पार्दै प्रधानमन्त्रीले संविधानमा रहेको विशेषअधिकार प्रयोग गरेर संसद् विघटन गरेको बताए। प्रधानमन्त्रीको यो कदम सही रहेको दाबी गर्दै थापाले लाखौं जनताले सरकारको निर्णयलाई समर्थन गरेको बताए।

थापाले निर्वाचनमा सहभागी भएर जनताको विश्वास लिनु लोकतान्त्रिक विधि र प्रक्रिया भएको भन्दै आन्दोलनरत सबैलाई निर्वाचनमा सहभागी भएर आफ्नो आकांक्षा पूरा गर्न आग्रह गरे। उनले देश निर्वाचनमा होमिइसकेकाले अदालतले सरकारको निर्णयलाई सदर गर्ने र आन्दोलनमा लागेकाहरू पनि निर्वाचनमा आउने विश्वास व्यक्त गरे। उनले मूलधारको राजनीतिबाट टाढा रहेका केही शक्तिलाई सरकारले शान्तिपूर्ण माध्यमबाट मूलधारमा ल्याइसकेको र केहीलाई ल्याउने तयारीसाथ आवश्यक काम गरिरहेको पनि बताए।  

सभालाई सम्बोधन गर्दै नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले देशमा निर्वाचनको वातावरण सुरू भइसकेको बताए। सरकारले निर्वाचन घोषणा गरेपछि सत्तारुढ दलमात्रै हैन, प्रतिपक्षी दल पनि निर्वाचनमा होमिइसकेको उनले स्पष्ट पारे। उनले भने, ‘काँग्रेस रुख चिह्न लिएर जनताको घरदैलोमा पुगिरहेको छ। सरकारको विरोध गरेजस्तो गरेर निर्वाचनको तयारीमा कांग्रेस लागेको छ तर आफ्ना केही साथी भने निर्वाचनविरुद्ध आन्दोलनमा लाग्नु भएको छ। उहाँहरूलाई पनि चुनावी प्रचारमा लाग्न आग्रह गर्छु।’  

नेम्वाङ्ले प्रधानमन्त्रीले काम गर्न नपाएपछि प्रतिनिधिसभा भंग गरेको दाबी गर्दै यो कदम अदालतबाट सदर हुने विश्वास व्यक्त गरे। ‘अदालतबाट संसद् विघटन सदर हुने प्रधानमन्त्रीलाई विश्वास छ’, उनले भने, ‘हामीलाई पनि विश्वास छ।’  

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले दाहाल–नेपाल कम्पनीले देशलाई अस्थिरतातर्फ धकेलेर धमिलो पानीमा माछा मार्ने प्रयास गरेको आरोप लगाए।

काउन्टर सभा

केही दिनपहिले नेकपा दाहाल–नेपाल समूहले विराटनगरमा सभा गरेपछि ओली पक्षले पनि शनिबार काउण्टर सभा आयोजना गरेको हो। सभामा प्रदेशका १४ वटै जिल्लाबाट नेता, कार्यकर्ता तथा सर्वसाधारण सहभागी थिए। विराटनगरभित्र र आसपासबाटसमेत ओलीको भाषण सुन्न धेरै संख्यामा समर्थक तथा सर्वसाधारण भेला भएका थिए। विराटनगरका चोकचोकमा माइक राखेर भाषण सुन्ने व्यवस्था मिलाइएको थियो। चोकमा राखिएका माइकवरिपरि पनि स्थानीय झुम्मिएका थिए। ओली पक्षको सभालाई सर्वसाधारणले समेत चासोका साथ हेरेका थिए। विराटनगर–२ स्थित मैदानमा आयोजित सभामा कार्यकर्ता तथा सर्वसाधारणको निकै बाक्लो उपस्थितिले विराटनगरको ट्राफिक व्यवस्थापनसमेत अस्तव्यस्त भएको थियो।  

विराटनगरमा जनसागर उर्लिएपछि ओली पक्षीय नेताहरू निक्कै उत्साहित भएका थिए। विराटनगरमा सुरक्षा व्यवस्था पनि निक्कै कडा पारिएको थियो। नगरका चोक, गल्ली र सभास्थल आसपास बाक्लै सुरक्षाकर्मी खटाइएको थियो।

प्रकाशित: ९ फाल्गुन २०७७ ००:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App