६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

अविश्वासको प्रस्ताव विधि विधान विपरित : मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशसभामा आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव विधि विधान विपरित भएको बताएका छन्। ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राईले प्रदेश सभामा आफू विरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव विधि विधान विपरित भएको बताएका हुन्।  

राईले विधिविधान विपरित प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावका विषयमा  सरकार लचिलो नहुने स्पष्ट पारेका छन्। संघीयता कमजोर बनाउने उद्देश्यले मुख्यमन्त्रीविरुद्ध  अभियान चालिएको उनको भनाई छ। मुख्यमन्त्री विरुद्ध दर्ताभएको अविश्वासको प्रस्ताव सामना नगरी सरकार भाग्न खोजेको आरोप लगिरहेका बेला राईले आफूविरुद्ध दर्ताभएको अविश्वासको  प्रस्ताव सामना नगरी  भाग्न नखोजेको लाबी गरे। ‘अविश्वासको प्रस्ताव सामना नगरी सरकार भाग्न खोजेको छैन’ राईले भने‘तर, विधि विधान विपरितका गतिविधिमा सरकार लचिलो हुन सक्दैन।’ संविधान, कानुन र विधिबिधान मिच्ने कुरा सह्य नहुने राईले स्पष्ट पारे।  

राईले केहि दिन अघि प्रदेश सरकारले तीन वर्षमा गरेका उपलब्धी सार्वजनिक गरेको जानकारी दिए। तीन वर्षको अवधिमा सीमित स्रोत साधनका कारण सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको भए पनि जनताको अधिकार जनताकै घर दैलोमा पुर्यासउन सफल भएको बताए। उनले तीन वर्षको अवधिमा कानुन र विकासका संरचना तयार पारेर संघीयतालाई मजवुद बनाएको  उनको भनाई छ। प्रचण्ड माधव समूहलाई लक्षित गर्दै राईले  कुहिएका फल र सुकेका पात झरेर गए पनि सरकार कहिं पनि नचुकेको दाबी गरे। उनले सरकारले प्रदेशवासीको शिर झुक्ने कुनै पनि काम नगरेको बताए। राईले जनताका आवश्यकतालाई प्राथमिकताका आधारमा सम्बोधन गर्दैलैजाने राईको भनाई छ। मुख्यमन्त्री राईले  निर्वाचनको चाहना नभए पनि सरकार बनाउने र गिराउने फोहोरी खेल सुरू भएकाले ताजा जनादेशमा जाने निर्णय प्रधानमन्त्रीले गरेको बताए। राईले निर्वाचनमा न्यायोचित फैसला गर्न प्रदेशवासीलाई आग्रहसमेत गरे। यस अघि विराटनगर स्थित ट्राफिक चोकबाट प्रभात फेरीको पनि आयोजना गरिएको थियो। ट्राफिक चोकबाट सुरू भएको प्रभातफेरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा पुगेर समारोहमा परिणत भएको थियो।  

 

 

प्रकाशित: ७ फाल्गुन २०७७ १३:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App