'वार्ता गरेर कठिनाइ बुझेर चुनावमा आउन हामी सहयोग गर्न तयार छौं,' उनले भने, 'चुनाव मंसिर ४ मै हुन्छ, त्यसका लागि सहमति गर्न तयार छौं।' खिलराज रेग्मी नेतृत्वको सरकार, ११ बुँदे सहमति र २५ बुँदे सहमतिविरुद्ध सडकमा उत्रिनुभन्दा पनि एक भएर संविधान सभाको निर्वाचनमा जुट्न उनले दलहरुलाई आग्रह गरे।
'१०/१२ वर्षअघि जस्तै गल्ती गर्दै, आत्माआलोचना गरेर देशलाई पछि धकेलने यो समय होइन,' उनले भने, 'खिलराज रेग्मीले सरकार छाड्दा पनि निकास निस्कदैन्।' संविधान सभालाई भत्काउँछौ, हुन दिँदैनौं भन्नुभन्दा पनि सरकारविरोधी दलहरुले पार्टीको बैठकबाट वार्ताको म्यान्डेट लिएर विवाद अन्त्यमा जोड दिनुपर्ने पौडेलको भनाइ थियो। उनले भने, 'मैले वैद्यजीसँग भेटेर पनि म्यान्डेटबाट विवाद अन्त्यको पहल गर्न आग्रह गरेको थिए।'
राष्ट्रिय सम्मान, स्वभिमानको नारा फलाक्दैमा मात्र नहुने भन्दै नेता पौडेलले जनताको हित, स्वतन्त्रता, स्वाधीनता कायम राख्न एक हुनुपर्ने बताए। संविधान सभाका लागि युद्व गरेको भन्ने दलले नै संसदीय प्रजातन्त्र मान्दिन भन्नु राम्रो नभएको भन्दै उनले जनतालाई भ्रममा नपार्न आग्रह गरे।
प्रकाशित: १८ असार २०७० ०७:५० मंगलबार





