coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

आफ्नै कदम जोगाउन नसक्दा केपी ओलीको ओठ–तालु सुकेको छ : रामचन्द्र पौडेल

तनहुँको दमौलीमा पत्रकारसँगको साक्षातकारमा कांग्रेसका वरिष्ठ नेता पौडेल । तस्बिरः श्रीहरि पौडेल÷नागरिक

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटन गरेर पनि आफ्नो कदमलाई जोगाउन खोच्दा पार नलाग्ने अवस्था आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको ओठतालु सुकेको बताएका छन् । तनहुँको दमौलीमा भएको साक्षात्कारमा पौडेलले प्रधानमन्त्री सहित उनका कानुनी सल्लाहकारको पनि ओठतालु सुकेको बताए ।  

शुक्रवार काठमाडौंमा गरेको सम्बोधनलाई देखेर प्रधानमन्त्रीको ओठतालु सुकेको प्रष्ट हुने पौडेलले बताए । ‘प्रधानमन्त्री र उहाँका वकिलको पनि ओठतालु सुकेको छ,’ उनले भने,  ‘उहाँले असंवैधानिक काम गर्नुभयो, यस कदमलाई वैधानिक सिद्ध गर्न ज्यान फालेर लागेपनि नहुने भएपछि उहाँ चिन्तित हुनुभएको छ ।’

सत्तरी वर्षको संघर्ष मार्फत संविधान बनाएर देशले विकास र निकासको बाटो लियो  भन्ने जनतामा आशा जागेको बेला प्रधानमन्त्रीले ओलीले जनताको भरोसालाई चकनाचुर पारेको पौडेलले आरोप लगाए । ‘भण्डै दुईतिहाईको मत प्राप्त सरकारले पार्टीको आन्तरिक कारणले संसद विघटन गर्नु दुःखद छ,’ पौडेलले भने ।

अब कांग्रेस पार्टीलाई भरोसाको केन्द्र बनाउन पनि आवश्यक रहेको पौडेलले बताए । कांग्रेसले पहिला संविधानको रक्षा गर्दै ७० वर्षदेखीको परिवर्तनलाई समेत संस्थागत गर्न सक्नुपर्ने पौडेलले बताए । संविधानलाई कमजोर बनाएर देशलाई विदेशीको क्रिडास्थल बन्न नदिनको लागि पनि कांग्रेस सचेत हुनुपर्ने पौडेलको भनाई थियो । ‘प्रधानमन्त्रीले पद छोडेर भएपनि संविधानको रक्षा गर्नुपर्दथ्यो तर ओलीले मनपरी रुपमा संसद भंग गर्नु गलत भयो,’ पौडेलले भने ।  

जिल्लाको विकासको सन्र्दभमा हेर्दा आफुहरुले जसरी छोडेको त्यस्तै रहेको उनले दाबी गरे । ‘नेकपाका साथीहरुले हामीले जीतेपछि त विकासमा कार्यपलट हुन्छ भन्नुभएको थियो तर ३ वर्षको अवधिमा एउटा पनि राष्ट्रिय योजना पार्नुभएन,’ उनले भने । 

प्रकाशित: २४ माघ २०७७ ०६:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App