१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

लोकतन्त्र जोगाउन सडकमा

नेकपा दाहाल–नेपाल समूहले बिहीबार आह्वान गरेको आमहडतालका क्रममा काठमाडौंको कोटेश्वरस्थित सडकमा कार्यकर्तासँग अध्यक्ष पुष्पकमल दाहाल (बायाँ) र सोही ठाउँमा कार्यकर्तालाई भेटेर घर फर्किने क्रममा अर्का अध्यक्ष माधवकुमार नेपाल (स्कुटरमा पछाडि)। तस्बिर : दिपेश श

नेपाल कम्युनिस्ट पार्टी (दाहाल–नेपाल) समूहले बिहीबारको आमहडताल अधिनायकवाद र गणतन्त्रका विरोधीविरुद्ध भएको जनाएको छ। समूहका अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहालले आमहडताल गणतन्त्रविरोधीविरुद्धको अभियान भएकाले जनतालाई थोरै दुःख भए पनि जनताकै पक्षमा र न्यायका लागि आफूहरू सडकमा आउनुपरेको बताएका छन्।  

‘यो आमहडताल जनतालाई दुःख दिन होइन, ओली (प्रधानमन्त्री केपी शर्मा ओली) ले संविधान कुल्चेको, संविधान, लोकतान्त्रिक गणतन्त्र र नेपाली जनताले ठूलो बलिदानीका साथ प्राप्त गरेका उपलब्धिहरूमाथि लगातार प्रहार गरेका कारण संविधान रक्षाका लागि पनि आमहडतालजस्तो कठोर आन्दोलनमा उत्रिन बाध्य छौं’, अध्यक्ष नेपालले भने। अर्का अध्यक्ष दाहालले लोकतन्त्रको रक्षाको लागि आमहडताल गर्नुपरेको बताए। ‘यो लडाइँ लोकतन्त्रको पक्षमा हो, गणतन्त्रको पक्षमा हो’, दाहालले भने।

सो समूहले आह्वान गरेको आमहडतालका कारण बिहीबार देशभरको जनजीवन ठप्प रह्यो। हडतालका समर्थक चोकचोकमा जम्मा भएर दिनभर बसेका थिए। आमहडतालका क्रममा शीर्ष नेताहरू नै सडकमा उत्रिएका थिए। अध्यक्ष नेपालले स्कुटरमा चढेर बन्दको अवलोकन गरेका थिए भने दाहाल पुल्चोकस्थित सडकमा धर्ना बसेका थिए। संवैधानिक आयोगमा नियुक्तिको विरोधमा सो समूहले आह्वान गरेको आमहडताल सफल पार्न सडकमा निस्किएका नेपालले प्रधानमन्त्री ओलीमा एकपछि अर्को गर्दै अधिनायकवादी चरित्र देखा परेको तर सच्चिने लक्षण नदेखिएको आरोप लगाएका थिए। ‘अहिलेका कामचलाउ प्रधानमन्त्री केपी ओलीजी संविधान मिच्दैमिच्दै अगाडि बढिरहनुभएको छ। उहाँको एकपछि अर्को अधिनायकवादी चरित्र उदांगो भएको छ, जसले गर्दा ओली निरंकुश शासक हुन् भन्ने पुष्टि हुन्छ। उनमा अलिकति पनि लोकतान्त्रिक चरित्र छैन, उनमा कुनै पनि प्रकारको सुध्रने लक्षण छैन’, अध्यक्ष नेपालले भने।

‘कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली संविधान मिच्दैमिच्दै अगाडि बढेका छन्। ओलीको एकपछि अर्को अधिनायकवादी चरित्र उदांगो भएको छ, जसले उनी निरंकुश शासक हुन् भन्ने पुष्टि हुन्छ।’ 

नेपालले संविधान, संघीयता र गणतन्त्रप्रति ओलीमा कुनै अपनत्व नभएको समेत जिकिर गरे। उनले संवैधानिक नियुक्तिको प्रक्रिया नै गलत भएको समेत बताए। ‘संवैधानिक परिषद्ले गरेको नियुक्ति प्रक्रिया नै गलत छ। सभामुखले प्रक्रिया पुगेको छैन भनेर फिर्ता पठाइदिनुभयो। नियुक्तिको वैधता पुगेको छैन। जबर्जस्ती शपथ गराइयो। कामचलाउ सरकारले एकातिर चुनावको घोषणा गरेको भन्छ, अर्कोतिर भूमि आयोगमा धमाधम नियुक्ति गर्छ। ओलीको अधिनायकवादविरुद्ध जनतालाई विरोध जनाउनुस् भनेर आमहडताल आह्वान गरेका हौं’, अध्यक्ष नेपालले भने।  

अर्का अध्यक्ष दाहालले फागुनको पहिलो साताबाट ठूलो आन्दोलन हुने बताए। ‘हामी अझ ठूलो आन्दोलन गर्दैछौं,’ उनले भने दाहालले अगाडि थपे, ‘माघ २८ गते विशाल जनसभा आयोजना गर्छौं। फागुनको पहिलो हप्ताबाट जनआन्दोलन नै सुरु हुन्छ। ठूलो जनआन्दोलन हुन्छ। त्यसले सबै लोकतन्त्रविरोधीलाई तह लगाउँछ, बढारेर लैजान्छ ।’ ओली समूहले शुक्रबार गर्न लागेको सभालाई दाहालले पञ्चर्‍यालीको संज्ञा दिए। दाहालले संसदीय सुनुवाइ नै नगरी संवैधानिक आयोगहरूमा नियुक्ति गरेकाले जंगली राजजस्तो भएको बताए। ‘यो बलमिच्याइँ हो। सरकार काम चलाउ भएको अवस्थामा भूमि आयोग, सुकुम्बासी आयोज तथा अन्य संवैधानिक आयोगहरूमा नियुक्ति गरिएको छ’, उनले भने।  

‘आमहड्ताल पूर्ण सफल’

सो समूहले आमहड्ताल पूर्ण सफल भएको जनाएको छ। साँझ पार्टी प्रवक्ता एवं आन्दोलनका संयोजक नारायणकाजी श्रेष्ठले विज्ञप्ति जारी गर्दै आमहडतालमा प्राप्त समर्थनले उत्साहित बनाएको उल्लेख गरेका छन्। आमहडताल असफल पार्ने र नियोजित रूपमा मुठभेड निम्त्याउने सरकारको हर्कत पार्टी र जनताको संयमले असफल पारिएको विज्ञप्तिमा उल्लेख छ। आमहडतालमा सहभागी नेताकार्यकर्ता र नागरिकलाई धन्यवादसमेत दिइएको छ।  

देशव्यापी हडतालका क्रममा काठमाडौंबाट स्थायी कमिटी सदस्यहरू अष्टलक्ष्मी शाक्य, विजय पौडेल, हितमान शाक्य, कृष्ण केसीलगायतका नेताहरू पक्राउ परेका थिए। जनकपुरमा रामचन्द्र झा घाइते भएका छन्। उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ। काठमाडौंका सबैजसो चोकमा प्रदर्शनकारीले सडक अवरुद्ध बनाएका थिए। काठमाडौंका केही स्थानबाहेक अन्यत्र शान्तिपूर्ण प्रदर्शन भएको थियो।  

‘साइबर सेनाले बदनाम गरे’

प्रतिनिधिसभा विघटनविरूद्ध गरिएको आमहडतालबारे देशभरका घटनाको ‘अपडेट’ गर्ने क्रममा पार्टीका केन्द्रीय सदस्य एवं विदेश विभाग उपप्रमुख विष्णु रिजालले सरकार पक्षीय साइबर सेनाले आन्दोलनको बद्नाम गरेको बताए। पार्टीको फेसबुक पेजमा लाइभमार्फत जानकारी गराउँदै रिजालले साइबर सेनाले आमहडताललाई बद्नाम गर्न खोजेको आरोप लगाएका हुन्।  

रिजालले नेकपाको ओलीसमूहलाई लक्षित गर्दै ‘साइबर  

सेना’ ले त्यस्तो काम गरेको आरोप लगाए। ‘आज बिहानैदेखि साइबर अपराधमा अभ्यस्त व्यक्तिहरूले विभिन्न आन्दोलनका तस्बिर राखेर, अरू देशका आन्दोलनका तस्बिर राखेर परिस्थितिलाई भड्काउने, जनसमुदायलाई उत्तेजित बनाउन खोजेको पनि पाइयो,’ केन्द्रीय सदस्य रिजालले भने। उनका अनुसार बंगालदेशको तस्बिर राखेर भक्तपुरको तस्बिर भन्दै प्रचार गरिएको थियो। ‘किसानहरूको भक्तपुरको तस्बिर भन्दै बंगलादेशको तस्बिर राख्ने, २०७० सालको चुनावमा भएको आगजनीको तस्बिरलाई गाडीमा आगजनी भन्ने। किसानहरूका अरू सामग्रीहरू नष्ट गरियो भन्ने खालका कुराहरू पनि सामाजिक सञ्जालमा भएका थिए। हिजो नै आमहडताल फिर्ता भयो भन्ने कुप्रचार पनि भएका थिए। केही समयअघि गठन गरिएको कथित ‘साइबर सेना’नामको ‘साइबर क्राइम ग्रुप’को काम हो भन्ने कुरामा ढुक्क हुनुहोस् भन्ने म निवदेन गर्न चाहन्छु,’ उनले भने।  

रिजालका अनुसार आमहडताल शान्तिपूर्ण बनाएको थियो। ‘हामीले मूलरूपमा आमहडताललाई शालीन र शान्तिपूर्ण बनाएका छौं। आन्दोलनका क्रममा आदरणीय जनसमुदायले भोग्नुपरेको असजिलोप्रति पार्टीको तर्फबाट विनम्रतापूर्वक क्षमायाचना गर्न चाहन्छु। साथसाथै यस आन्दोलनको बदनाम गर्न भएका प्रयासहरूलाई पनि चिनिदिनुहुनेछ भन्ने आग्रह गर्न चाहन्छु,’ उनले उनले भने।

ओली पक्षको सभा  

यति बेला सरकार नै मुलुकभर आमसभा गर्न लागिपरेको छ। सरकारमा रहेको नेकपा ओली समूहले मुलुकका विभिन्न भागमा आभसभा गरेर शुक्रबार राजधानीमा वाग्मती प्रदेशको नामबाट आमसभा गर्न लागेको हो। गृहमन्त्री रामबहादुर थापा नै यसको प्रचारप्रसारमा लागेका छन्। थापाले बिहीबार साँझ आफ्नो फेसबुक पेजबाट शुक्रबारको आमसभामा सहभागिता जनाउन आग्रह गरेका छन्। सभाको प्रमुख वक्ता प्रधानमन्त्री केपी शर्मा ओली रहेका छन्। शुक्रबारको आमसभामा सबै तह र संगठनलाई सहभागी जनाउन ओली समूहले निर्देशन दिएको छ।  

कोरोना जोखिम रहिरहेका बेला आमसभाको आयोजना गरेर सरकार नै स्वास्थ्य मापदण्ड उल्लंघनमा लागेको छ। यसअघि पनि ओली समूहले देशभर सभा आयोजना गरेर स्वास्थ्य मापदण्ड उल्लंघन गर्दै आएको थियो। दरबारमार्ग क्षेत्रमा सो समूहले विशाल आमसभा गर्न लागेको आयोजक एवं वाग्मती प्रदेशका अध्यक्ष आनन्द पोखरेलले बताए। उनका अनुसार पार्टीको राजनीतिक धारणा सार्वजनिक गर्न आमसभाको आयोजना गर्न लागिएको हो। प्रधानमन्त्री नै पार्टी अध्यक्ष भएका कारण आमसभामा प्रधानमन्त्री आउने र सम्बोधन गर्ने काम सामान्य भएको ओली समूहले जनाएको छ। 

माधव नेपाल र पुष्पकमल दाहाल समूहले यसअघि काठमाडौंमा दुईवटा विशाल आमसभा गरेपछि ओली समूहले पनि काउन्टर दिन शुक्रबार आमसभा आयोजना गरेको हो। सत्तामा रहेको फाइदा उठाउदै ओली समूहले काठमाडौं उपत्यका आसपासका जिल्लाबाट मान्छे ल्याएर आमसभा गर्न लागेको आरोप दाहाल–नेपाल समूहले लगाएको छ ।

प्रकाशित: २३ माघ २०७७ ००:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App