१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

‘कांग्रेसले ढुलमुले नीति त्याग्नु पर्छ’

प्रमुख प्रतिपक्षी दल कांग्रेस नेता रामचन्द्र पौडेलले आफ्नो पार्टीले ढुलमुले चरित्र त्यागेर संसद् पुनःस्थापनाको पक्षमा बलियो भएर लाग्नुपर्ने अडान दोहोर्‍याएका छन्। पार्टी सभापति शेरबहादुर देउवाले संसद् विघटनसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाले त्यसको विरोध गर्न नहुने र संसद् विघटनकै निर्णय आए चुनावी तयारीमा जुट्नुपर्ने धारणा सार्वजनिक गरिरहेका बेला नेता पौडेलले स्पष्ट शब्दमा आफ्नो अडान दोहोर्‍याएका हुन्।

 पार्टी क्षेत्रीय समितिले शनिबार मेलम्चीमा आयोजना गरेको सभामा उनले सभापति देउवातर्फ लक्षित गर्दै भने, ‘अहिले सांसद बन्न हतारिनेभन्दा लोकतन्त्र रहला कि नरहला भनेर चिन्ता गर्ने बेला हो।’ नेता पौडेलले पार्टीले एकातिर संसद् विघटनको विरोध गर्ने र अर्कोतर्फ पुनःस्थापना नभए पनि ठिकै छ भन्ने ढुलमुले चरित्र त्याग्नुपर्नेमा जोड दिए।

 ‘पार्टी एकपंक्ति भएर पुनःस्थापनाको पक्षमा जुट्नुपर्छ,’ उनले भने। संसद् विघटन गर्ने प्रधानमन्त्रीको निर्णयलाई संवैधानिक ‘कु’ को संज्ञा दिँदै उनले अदातले सच्याउने विश्वास व्यक्त गरे। पार्टीको मन्तव्य र गन्तव्य एउटै हुनुपर्नेमा जोड दिँदै पौडेलले थपे, ‘मन्तव्यमा अलोकतान्त्रिक कदम नै भन्ने हो। गन्तव्य संसद् पुनःस्थापा नै हो।’ कम्युनिस्टले मुलुकलाई विकास र निकास दिन नसकेको उनको आरोप थियो।  

नेता गगन थापाले अदालतबाट संसद् विघटन मान्य भए संविधान अमान्य हुनसक्ने खतरातर्फ सचेत गराए। संविधानमा व्यवस्था नै नभएको संसद् विघटन हुन नसक्ने भन्दै उनले भने, ‘मुलुकमा सेटिङको शासन चल्दैन। संविधानको शासन चल्छ।’ तत्काल चुनाव भए कांग्रेसलाई फाइदा प्राप्त भए पनि मुलुक र संविधानले हार्ने तर्क थापाले गरे। उनको प्रश्न थियो, ‘खेलको मैदान नै नरहे जित्ने कहाँ ?,’

संसद् विघटनको विपक्षमा अदालतबाट फैसला हुने विश्वास व्यक्त गर्दै उनले मिचिएको संविधानलाई सही ठाउँमा ल्याउनु कांग्रेसको मिसन हुनुपर्ने धारणा राखे। नेता थापाले राष्ट्रपतिले रानी बन्न खोजेर संस्थाको गरिमा आँच पुग्ने काम गरेको आरोपसमेत लगाए।

प्रकाशित: १८ माघ २०७७ ०२:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App