१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

'टाउको काटेर जिउ मात्रै समायोजन हुँदैन'

किरण पुन, काठमाडौं, भदौ २५- नयाँ राष्ट्रिय सेना बनाउन गरिने सेना समायोजनमा माओवादी जनजनमुक्ति सेनाले कमान्डर नन्दकिशोर पुन र डेपुटी कमान्डर चन्द्रप्रकाश खनाल दुवै कमाण्डरलाई पठाउने भएको छ।

सेना समायोजन विशेष समितिले जनसेनालाई आफ्नो मातहतमा लिने निर्णयलगत्तै राजधानीमा मंगलबार सम्पन्न जनसेना जनरल स्टाफ विस्तारित बैठकले यस्तो निर्णय गरेको हो।

'अनमिनले दर्ता गरेका दुईजना डेपुटी कमाण्डरबाहेक अरु सबै जाने कुरा भएको छ,' एक डिभिजन कमाण्डरले नागरिकसित भने, 'कि समायोजन नै हुँदैन भए पासाङ र बलदेव पनि पठाउँछौं। टाउको काटेर जिउ मात्रको समायोजन कसरी हुन्छ?' उनका अनुसार प्रमाणिकरणमा परे पनि दुई डेपुटी कमान्डर वर्षमान पुन र जनार्दन शर्मा जाने छैनन्।

समायोजन हाल दुवै सेनामा जुन जुन तहमा छन् ती तहमै हुने उनले बताए। नेपाली सेना र जनसेनामा तह भने फरक छ। नेपाली सेनामा २० तह छ भने जनसेनाको १५ तह। तर समायोजनमा त्यसले फरक नपार्ने उनले बताए।

नेपाली सेनाको सबैभन्दा माथिल्लो तह परमाधिपति हो। अहिले राष्ट्रपति रामवरण यादव छन्। त्यसैगरी त्यसपछि मानार्थको रुपमा रहेको अतिरथी छ। कुनै पनि पनि कार्य नहुने उक्त पदमा नीरशमशेर जबरा छन्।

अतिरथीपछि नेपाली सेनामा महारथी(प्रधानसेनापति) हुन्छ भने उता, जनमुक्ति सेनाको सबैभन्दा माथिल्लो तहमा कमान्डर हुन्छ। माओवादी सरकारमा जानुअघि जनसेनाका सुप्रिम कमान्डर अध्यक्ष पृष्पकमल दाहाल थिए। नेपाली सेनाका प्रधानसेनापति छत्रमानसिंह गुरुङ छन् भने जनसेनाका कमान्डर नन्दकिशोर पुन।

नेपाली सेनामा महारथीपछि रथी हुन्छ। कुलबहादुर खड्काको अवकास र गुरुङ महारथीमा बढुवा भएपछि दुवै पद अहिले रिक्त छ। जनसेनाको भने त्यो तहमा डेपुटी कमान्डर भएको जनाइएको छ। डेपुटी कमान्डर चन्द्रप्रकाश खनाल छन्।

नेपाली सेनामा रथीपछि उपरथी, सहायक रथी, महासेनानी, प्रमुख सेनानी, सेनानी, सहसेनानी, उपसेनानी, सहायक सेनानी गरी अधिकृत तह छ। रिटायर हुँदा राम्रा काम गर्नेलाई दिइने अधिकृत तहमा मानार्थ सहसेनानी र मानार्थ उपसेनानी पनि छ।

उता, जनसेनामा यो तहमा डिभिजन कमाण्डरलाई लिएको छ। जनसेनाका सात डिभिजनका सात डिभिजन कमान्डर छन् भने नेपाली सेनामा ६ पृटनाका पृटनापतिसहित यो तहमा संभार, कार्य, प्रबन्ध, स्वास्थ्य महानिर्देशक, युद्धकार्य, विकास निर्माण, आर्थिक
विभाग प्रमुख, प्राड, राष्ट्रिय सुरक्षा परिषद्मा सहनिर्देशक गरी विभागीयसहित १५ जना छन्।


उपरथीपछि नेपाली सेनामा सहायक रथी छ भने जनसेनामा ब्रिगेड कमान्डर। नेपाली सेनाका १९ बाहिनीका बाहिनीपति र जनसेनाका २९ ब्रिगेडका ब्रिगेड कमाण्डरको तहलाई जनसेनाले समान तह दाबी गरेको छ।


नेपाली सेनाको सहायक रथीपछि महासेनानी छ। त्यो तह बराबर जनसेनाले आफ्ना ब्रिगेड सहायक कमान्डर हुने बताएको छ। त्यसपछि प्रमुख सेनानी छ। त्यसको तहमा जनसेनाले ब्रिगेड सहमाण्डरलाई र सेनानीको रुपमा बटालियन कमाण्डरलाई मानेको छ।


नेपाली सेनाको सहसेनानी, उपसेनानी, सहायक सेनानीपछि प्रमुख सुबेदार, जमदार, बटालियन स्टाफ, हुद्दा, अमलदार, पिउठ, सिपाही र फालोर छ। जनसेनाको तल्ला तहमा सेक्सन कमाण्डर, एफजीएल र मेम्बर हुन्छ।

सांगठनिक बनोटमा भने दुवै सेनाको फरक छैन। जनसेनाको सबैभन्दा माथि डिभिजन छ भने नेपाली सेनाको पृटना। डिभिजनपछि जनसेनाका क्रमशः ब्रिगेड, बटालियन, कम्पनी, प्लाटुन र सेक्सन तह छन्। नेपाली सेनाको पृटनापछि क्रमशः बाहिनी, गण, गुल्म, से.मु.(सेना मुख) र सेक्सन छन्।

जनसेनाको पहिलो डिभिजनदेखि क्रमशः सातौंसम्म इलाम, सिन्धुलीको दुधौली, चितवनको शक्तिखोर, नवलपरासीको झ्याल्टुङडाँडा, रोल्पाको दहबन, सूर्खेतको दशरथपुर र कैलालीको तालबन्दमा गरी सात मुख्य २१ सहायक शिविर। नेपाली सेनाको पूर्वी पृटना इटहरी, मध्य पृटना हेटौडा, उपत्यका पृटना सिंहदरवारं, पश्चिम पृटना पोखरा, मध्यपश्चिम पृटना सूर्खेत, सुदूरपश्चिम पृटना दीपायल गरी ६ ठाउँमा छन्।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल विशेष समिति अध्यक्ष रहेको बेला जनसेनाले आफ्नो तहसित तुलना गर्दै नेपाली सेना र त्यसको अन्तर्राष्ट्रिय अभ्यासका तह तयार पारेको थियो।

बैठकले केन्द्रमा तुरुन्तै समायोजन गर्न सकिनेसमेत निष्कर्ष निकालेको छ। 'अहिले नै केन्द्रमा समायोजन गरेर क्रमशः त्यसको तल डिभिजन, ब्रिगेड, बटालियन हुँदै सबैभन्दा तल्लो तहसम्म नै एक वर्षभित्रै गर्न सकिने संभावना छ,' उनले भने।
मोडालिटीको बारेमा पहिले समितिले पेश गरेपछि मात्र आफूले पेश गर्ने बताइएको छ।

छलफल भए पनि यसलाई लिखित भने गरिएको छैन। 'हामीले लिखित त गरेका छैनौँ तर भनेपछि तुरुन्त गर्न सक्छौं,' प्रवक्ता चन्द्रप्रकाश खनालले भने, 'उनीहरुले लिऊन् त्यसपछि सहमत भए भइहाल्यो नभए सुझाव दिन्छौं।'

बैठकले समायोजन 'समूहगत' हुने निर्णय गरेको छ। यसका लागि पहिले कमान्डर तहको समायोजन गर्ने र दुवै सेनाका जवानहरुलाई छुट्टाछुट्टै ब्यारेकमा राखी क्रमशः समायोजन गरिने छ। लामो समयसम्म एकापसमा लडेका सेनालाई एकैचोटि मिसाउँदा 'नकारात्मक नतिजा पनि आउनसक्ने' भएकाले विस्तारै तिनलाई समायोजन गर्नुपर्ने उनको भनाइ थियो।

'कमाण्डरको समायोजन गर्ने र यताको कमाण्डरले उताको पनि हेर्न सक्छ, उताको यता पनि हेर्ने हुनसक्छ,' डिभिजन कमाण्डरले भने, 'जब तल्लो तहका सेनाबीच क्रमशः भावनात्मक एकता बढ्दैजान्छ तब मात्र सँगै बस्नेगरी सयोजन गर्नुपर्छ।'

नेपाली कांग्रेस, एमालेलगायतका दलले भने कहिले 'सेनामा समायोजन नहुने' र कहिले 'समूहतगत होइन व्यक्तिव्यक्तिलाई छानेर मात्र ल्याउने' अभिव्यक्ति दिइरहेका छन्। दलका नेताहरुले बेलाबेला समायोजन सेनामा नभई पुलिस, सशस्त्र र औद्योगिक क्षेत्रमा गरिने पनि बताइरहेका छन्। वृहत शान्तिसम्झौतामा 'दुवै सेनाको समायोजन, व्यवस्थापन र रेखदेख' उल्लेख छ। जनसेनाले रेखदेख र व्यवस्थापन प्रमाणितकरण नपरेकालाई हो र प्रमाणिकरणमा परेकालाई सेनामै समायोजन हो भन्ने जनसेनाको निष्कर्ष छ।

 

 

प्रकाशित: २४ भाद्र २०६६ २०:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App