१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘ओली विश्वासघाती, नरसंहारकारी, भष्मासुर, हिटलरको नेपाली संस्करण’

ओलीविरुद्ध नेपाल–दाहालको आक्रोश

नेपाल कम्युनिस्ट पार्टी (नेपाल–दाहाल) समूहका अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीले देखाएको प्रवृत्ति हेर्दा माफीमात्रै दिएर छाड्ने अवस्था नभएको बताएका छन् । राजधानीमा शुक्रबार आयोजित जनसभामा अध्यक्षद्वयले ओली भष्मासुर भएको र त्यस्ता व्यक्तिलाई सामान्य रुपको माफीले नपुग्ने बताएका हुन् ।  

जनसभामा अध्यक्ष नेपालले लामो समयदेखि ओलीले दुःख दिएको बताए । ‘केपी शर्मा ओलीलाई समयमै ठीक ठाउँमा ल्याउन सकिएन । त्यसैले अहिले संविधानमाथि नै प्रहार भयो । अब आत्मसमीक्षासहित अघि बढ्नुपर्ने छ’, नेपालले भने । तत्कालीन एमालेको नवौं महाधिवेशनमा जालझेल गरेर ओलीले जित हासिल गरेको आरोपसमेत उनले लगाए । पार्टी एकतापछि नयाँ तरिकाले अगाडि बढ्ने अपेक्षा गरे पनि पार्टी र सरकार सञ्चालनमा ओलीको निरंकुश शैलीलाई समयमै सच्याउन नसक्नु गम्भीर कमजोरी भएको नेपालको भनाइ थियो । ‘शिवजीले वरदान दिएर भष्मासुर बनाए तर उसले शिवलाई नै समाप्त पार्न खोजेपछि शिवजीले भष्मासुरलाई समाप्त पार्नुपर्‍यो’, नेपालले पुराणको दृष्टान्त अघि सार्दै भने, ‘पार्टीले पनि केपी ओलीलाई अध्यक्ष बनायो, प्रधानमन्त्री बनायो तर उनी भष्मासुर बने, त्यसैले अब पार्टीले ओलीको भष्मासुर प्रवृत्तिलाई समाप्त पार्नेछ ।’  

नेपालले ओली हिटलरको नेपाली संस्करणका रुपमा देखा परेको आरोप लगाए । ‘केपी ओली हिटलरको बाटोमा हिँड्ने हिटलरी नाजीवादको नेपाली संस्करण हुन् । नेपाली जनता त्यस्तो प्रवृत्तिसामु थरर कामेर दास बन्दैनन्’, नेपालले भने, ‘घरझगडा हुँदा घरकै मान्छे सिध्याउने, घरमा आगो लगाउनेजस्तै पार्टी, संसद्, संविधान सिध्याउने केपी ओली नरसंहारकारी हुन् ।’ ओली कम्युनिस्ट पार्टीको सदस्य हुन समेत लायक नरहेकाले कारबाही गरिएको बताउँदै नेपालले अपराध स्वीकार गरेर प्रतिनिधिसभा पुनस्र्थापना स्वीकार नगरेसम्म ओलीसँग पार्टी नझुक्ने प्रस्ट्याए । ‘प्रतिनिधिसभा विघटन गलत हो, पुनस्र्थापनाका लागि म पनि जुलुसमा सामेल हुन्छु भनेर भनिहाल्ने हो कि, मान्छेले गल्ती गर्छ, अपराध गर्छ, समयमै सच्चिन्छु भन्छ भने केही समय जेलमा राखेर फेरि निकालौंला केही फरक पर्दैन, होइन भने सीधै माफी दिउँला, केही फरक पर्दैन । तर केपी ओलीसँग नेकपाले झुक्ने कुनै काम गर्नेछैन । कसैले पनि सँगसँगै जान्छ भन्ने भ्रम नपाले हुन्छ’, नेपालले भने ।  

असंवैधानिक तवरबाट ओलीले संसद् विघटन गरेर संविधानमाथि कु गरेको आरोप नेपालको थियो । ‘ओलीको संसद् विघटनको कदम असंवैधानिक मात्र होइन संविधानमाथिकै कु हो,’ अध्यक्ष नेपालले भने । उनले केपी ओलीसँग साइबर झुन्ड र अरिंगालमात्रै भएको भन्दै उनीहरूले विशाल फौजको सामना गर्न नसक्ने दाबी गरे । नेपालले कांग्रेसलाई लक्षित गर्दै संयुक्त आन्दोलन सुरु गर्दा धोका पो पाइन्छ कि भन्ने आशंका नपाल्न आग्रह गरे । ‘अहिले कतिपय राजनीतिक पार्टीलाई शंका लागेको छ । कतै नाटक त गरिरहेका छैनन्, कम्युनिस्ट मिलेर कतै धोका त दिने होइनन् भन्ने शंका छ । हामी मूल्यको, विचारको राजनीति गर्छौं त्यसैले शंका नगर्दा हुन्छ’, उनले भने ।

प्रदर्शनमा बृहत् सहभागिता देखेर उत्साहित नेपालले आन्दोलनको उपस्थितिले पछिल्लो जनआन्दोलनको झल्को दिएको बताए । ‘आजको उपस्थितिले मलाई जनआन्दोलनको झल्को दिएको छ । ०६२÷६३ को जनआन्दोलनमा पनि यसैगरी जनता देशैभर जागेका थिए, सिंगै काठमाडौंलाई आन्दोलित बनाएका थिए । यसपटक पनि दायाँतिर, बायाँतिर सिंगै टुँडीखेलवरिपरि भरिएको छ, यसबाट जनता के चाहन्छन् भन्ने प्रस्ट भएको छ,’ नेपालले भने ।  

अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा विघटनले शान्ति प्रक्रिया नै खतरामा पार्न खोजेको आरोप लगाए । ‘केपी ओलीले संविधानविरुद्ध प्रतिनिधिसभा विघटन गरेको मात्र नभई शान्ति प्रक्रिया र संघीय व्यवस्था नै विघटन गर्न खोजेका छन्,’ दाहालले भने, ‘खबरदार, त्यस्ता कदमलाई यो जनसागरले पराजित गर्नेछ ।’  

दाहालले ०६२–६३ को जनआन्दोलनमा जस्तै फेरि एकपटक नागरिक समाज, पेसाकर्मी, मिडिया र बुद्धिजीवी वर्गले प्रधानमन्त्रीको असंवैधानिक कदमको विरोध गरेको बताए । अहिले देशका विभिन्न भाग र काठमाडौंमा उर्लेको जनसागरलाई अदालतले पनि हेरेको उनको भनाइ थियो । ‘संसद् विघटन ठीक हो भन्ने मान्छे मैले अहिलेसम्म देखेको छैन’, दाहालले भने, ‘सिंगो राष्ट्र प्रतिगमनविरुद्ध खडा भएको छ । जनताका अगाडि निरंकुश तानाशाहीको केही चल्नेवाला छैन ।’ तीन वर्षमा पनि ओलीले आफूलाई सुधार नगरेको र आफूहरूले पनि सुधार गर्न नसकेको भन्दै दाहाललले पश्चात्तापसमेत व्यक्त गरे । उनले ओली समूहमा लागेका पूर्वमाओवादीहरू भगौडा भएको टिप्पणी गरे । ‘ओलीसँग लागेका पूर्वमाओवादीका साथीहरूले ओलीका साइबर सेनाले भन्दा पनि बढी खरानी घसेको देख्दा लाज लाग्न थाल्यो’, दाहालले भने ।  

वरिष्ठ नेता झलनाथ खनालले केपी ओली विश्वासघाती भएको बताए । ओली कम्युनिस्ट पार्टीको अध्यक्ष बन्न लायक नभएको उनको टिप्पणी थियो । ‘उनी (ओली) अब कमरेड रहेनन् । पार्टी अध्यक्षबाट त हटाइनै सक्यौं । अब उनलाई कम्युनिस्ट पार्टीको सदस्यबाट नै हटाउँदैछौँ’, खनालले भने । उनले केपी ओली आफू भगौडा भए पनि अरुलाई भगौडा भन्दै आरोपित गरिरहेको बताए । ‘केपी ओली अरुलाई भगौडा भन्दैछन् । तर उनी नै कम्युनिस्ट आन्दोलन र नेकपाका भगौडा हुन्,’ खनालले भने, ‘रुख पनि बढ्दै जाँदा बोक्रा उप्किने हुँदोरहेछ । हाम्रो पार्टी पनि रुखजस्तै हुर्कियो र केपी ओली बोक्रा उप्किएझैं उप्किएर गए ।’ जीवनको उत्तरार्धमा केपी ओलीले लोकतन्त्र र कम्युनिस्ट आदर्श मात्र नभएर संविधान र कानुनसमेत भुलेको खनालको भनाइ थियो ।

आमसभामा स्थायी कमिटी सदस्य घनश्याम भुसालले ओली साइबर स्यालको नेता भएको बताएका थिए । उनले अदालतसँग पनि ओलीले हार खानुपर्ने दाबी गरेका थिए ।

प्रकाशित: १० माघ २०७७ ००:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App