२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गम्भीरतापूर्वक निर्वाचन तयारीमा लाग्नुस् : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले निष्पक्ष, भयरहित, विश्वसनीय रूपमा निर्वाचनका लागि गम्भीरतापूर्वक काम गर्न निर्वाचन आयोगलाई आग्रह गरेकी छिन्। आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति भण्डारीले आयोग पदाधिकारीसँग शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएकाले तोकिएको समयमै प्रतिनिधिसभाको निर्वाचन गर्न जरुरी भएको बताइन्। ‘शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य छ,’ उनले भनिन्, ‘प्रतिनिधिसभा निर्वाचनका लागि आयोगबाट भएको तयारी सकारात्मक छ, निर्वाचनका लागि गम्भीरता र दृढतापूर्वक कार्य गर्न आयोग सक्षम हुने विश्वास छ।’

राष्ट्रपति भण्डारीले संवैधानिक व्यवस्थाबमोजिम निर्वाचनको माध्यमबाट लोकतन्त्रलाई संस्थागत र सुदृढीकरण गर्ने काम आयोगको भएकाले बढीभन्दा बढी मतदाताको सहभागिता गराउने तर्फ कार्य गर्न आयोगलाई सुझाव दिइन्। उनले सबै मतदाताको मताधिकार सुनिश्चित गर्न तथा मतदानस्थल तथा केन्द्रहरू मतदातामैत्री बनाउन आयोगको ध्यानाकर्षण गराइन्।

आयोगले बुझाएको प्रतिवेदनमा आयोगले सम्पन्न गरेका कार्य, योजना अनुगमन, समावेशीकरण तथा वैदेशिक सम्बन्ध, मतदाता नामावली तथा निर्वाचन सञ्चालन, निर्वाचन शिक्षालगायत विविध विषय समेटिएको छ। प्रतिवेदन पेस गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक कार्यक्रम तथा मतदानस्थल, मतदान केन्द्र पुनरवलोकन कार्यक्रम आयोगबाट स्वीकृत भई दलहरूसँग परामर्श बैठक सम्पन्न भइसकेको बताए। उनले निर्वाचनमा लैंगिक तथा समावेशी नीति, निर्वाचन व्यवस्थापनमा मानव संशाधन नीति, निर्वाचन सञ्चालन आर्थिक निर्देशिका, तालिम, स्थानीय तहका निर्वाचन सम्पर्क व्यक्ति तोक्ने लगायतका निर्वाचन सञ्चालन एवं व्यवस्थापनका कार्य योजनाबद्ध रूपमा अघि बढाइएको बताए।

निर्वाचनको बजेट तयारी गर्दै

आयोगले आगामी वैशाखमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि बजेट बनाउन सुरु गरेको छ। आयोग र अर्थ मन्त्रालयका सहसचिवसहितको ५ सदस्यीय टोली बनाएर आयोगले निर्वाचनको बजेटको तयारी गरिरहेको हो। प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनका लागि आयोगलाई करिब ८ अर्ब रूपैयाँ लाग्ने अनुमान भए पनि बजेट बनाउने काम भइरहेको बताए। ‘निर्वाचनलाई मीतव्ययी कसरी बनाउन सकिन्छ भनेर हामीले सोचिरहेका छौं, निर्वाचनमा नयाँ गाडी खरिद गरिँदैन, पुराना निर्वाचन सामग्री काम लाग्ने भए त्यसलाई पनि प्रयोगमा ल्याइन्छ,’ उनले भने, ‘अब एक दुई दिनमा निर्वाचनका लागि कति बजेट आवश्यक पर्छ भन्ने यकिन हुन्छ।’

प्रकाशित: ६ माघ २०७७ ००:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App