२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

ओलीको ज्यादतीबाट मुक्त हुन चुनावमा जानुपर्छः थापा

पोखरामा पत्रकार भेटघाटमा बोल्दै राप्रपा अध्यक्ष कमल थापा । तस्बिर ः सन्देश÷नागरिक

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको ज्यादतीबाट मुक्ति पाउन ताजा जनादेशमा जान उपयुक्त हुने बताएका छन् । मिडिया नेपालले आईतबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै थापाले भने, ‘ओलीको ज्यादतीबाट नेपाली जनतालाई मुक्ति दिलाउन जरुरी छ ।  

‘ओली नेतृत्वको कम्युनिष्ट सरकार असफल भइसक्यो,’ उनले भने, ‘कम्युनिष्टको असफलताको मुक्तिका लागि पनि ताजा जनादेशमा जानुपर्छ ।’ ओली तानाशाही र सर्वसत्तावादी भएको टिप्पणी गर्दै उनको कुशासनका कारण भ्रष्टाचार, धर्म परिवर्तन लगायत मौलाएको उनको आरोप छ ।

थापाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम पहिलो नजरमा भन्ने हो भने संविधानको भावना विपरित रहेको बताए । ‘प्रधानमन्त्रीको कदमले अहिलेको व्यवस्था र संविधानको औचित्यमाथि थप अस्पष्टता र जटिलता थपेको छ,’ उनले भने ।  

थापाले प्रधानमन्त्रीको कदम सम्बन्धी मुद्धा सर्वोच्चमा विचाराधीन भएकाले अहिले थप टिकाटिप्पणी गर्नु उपयुक्त नहुने बताए । ‘अब सर्वोच्चको फैसला नै अन्तिम हुन्छ र त्यसलाई सबैले मान्नुपर्छ,’ उनले भने । सर्वोच्च अदालतलाई नैतिक वा अन्य दृष्टिकोणबाट दवाब दिने काम कसैले गर्न नहुने बताउँदै उनले भने, ‘पूर्व प्रधानन्यायाधीश मात्रै होईन, जो कसैले पनि अदालतलाई दवाव वा प्रभावमा पार्नेगरी बोल्नुहुँदैन ।’  

अध्यक्ष थापाले संविधानमा संवैधानिक प्रावधानमा अस्पष्टता रहेकाले अहिले विवाद देखिएको बताए । ‘संसदमा बहुमत प्राप्त गरेको पार्टीले सरकार बनाउँछ भन्ने संविधानमा उल्लेख छ,’ उनले भने । उनले अहिले नेकपाको बहुमत रहेको र नेकपा औपचारिक रुपमा नफुटिसकेकाले केपी ओली नेतृत्वको सरकार हुँदाहुँदै अन्य दुई वा तीनदल मिलेर सरकार बनाउन सक्ने अवस्था नरहेकाले सर्वोच्च अदालतले नै यसको व्याख्या गर्नुपर्ने उनको भनाई छ ।

अध्यक्ष थापाले अहिले देखिएको अराजकता र अस्थिरताले कुनैपनि स्वाभिमानी नेपाली खुसी नभएपनि यसलाई अब अवसरमा बदल्नुपर्ने बताए । ‘राजनीतिक दृष्टिले भन्ने हो भने विकसित परिस्थितलाई विगतका त्रुटी र कमजोरी सच्याउने, मुलुकमा कायम रहेका विकृति र विसंगतीहरुबाट मुक्त तुल्याउने एक अवसरका रुपमा प्रयोग गर्नुपर्दछ,’ उनले भने ।  

ओलीले चुनाव गर्ने उद्देश्यले संसद विघटन नगरेकाले बैशाखमा कुनैपनि हालतमा चुनाव हुँदैन भनेर विश्लेषण भइरहँदा थापाले बैशाखमा चुनाव हुने दाबी गरेका हुन् ।

अध्यक्ष थापाले राजसंस्थासहितको लोकतन्त्र राप्रपाको सैद्धान्तिक मान्यता रहेको बताउँदै प्रजातान्त्रिक अभ्यास र जनताको मतबाटै राजसंस्था र हिन्दु राष्ट्र फर्काउने आफुहरुको उद्देश्य रहेको बताए । उनले राप्रपाको केन्द्रीय महाधिवेशन आगामी बैशाख २५ गतेदेखि काठमाडौंमा हुने जानकारी दिए ।

प्रकाशित: २६ पुस २०७७ ०७:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App