१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

ओली समूहका सबै कमिटी 'जम्बो'

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले सबै कमिटी ‘जम्बो’ बनाउने भएको छ। विधान संशोधन गर्दै ओली समूहले केन्द्रीय कमिटी एक हजार पाँच सय एक सदस्यीय बनाउने तयारी गरेको छ। पार्टी विभाजनपछि ओली समूहको पुस ७ गते बसेको केन्द्रीय कमिटी बैठकले विधान संशोधन गर्दै एक हजार एक सय ९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको थियो। त्यसको दुई दिनपछि अर्थात् पुस ९ गतेको बैठकले भने सदस्य थपेर एक हजार पाँच सय एक जना रहेको केन्द्रीय कमिटी बनाउने निर्णय गरेको हो।  

‘अबको केन्द्रीय कमिटी एक हजार पाँच सय एक जनाको बन्नेछ। त्यसमा पनि ५० प्रतिशत थप गर्न सकिने व्यवस्था गरिएको छ। यसले गर्दा करिब २ हजार २ सयसम्मको केन्द्रीय कमिटी बन्नेछ,’ ओली समूहका एक नेताले भने। ओली समूहले गरेको अन्तरपार्टी निर्देशनमा विधान संशोधन गरिएको र त्यसैअनुसार तल्ला कमिटीहरू पनि बनाउन सकिने भनिएको छ। ‘केन्द्रीय कमिटीको पुस ७ र ९ गते बसेको बैठकले गरेको विधान संशोधनमा यो कुरा राखिएको छ,’ ओली समूहका ती नेताले भने।

७ गतेको बैठकमा विधान संशोधन गरेको जानकारी गराइएको भए पनि ९ गतेको बैठकमा भने सो विषय जानकारी गराइएन। पूर्वमाओवादीमा करिब ४ हजार केन्द्रीय सदस्य बनाइएको थियो। अहिले नेकपा ओली समूहले त्यसकै अनुशरण गरिरहेको छ।  

ओली समूहले तल्लो तहमा दाहाल–नेपाल समूहमा रहेका नेताहरूलाई आकर्षित गर्न पनि केन्द्रीय कमिटी जम्बो बनाउने भएको हो। धेरैजसो नेताकार्यकर्ता दाहाल–नेपाल समूहमा लागेका कारण उनीहरूलाई केन्द्रीय सदस्य दिएर भए पनि आफ्नो समूहमा ल्याउने प्रयासमा ओली लागेको स्रोतको दाबी छ।  

‘खासगरी माधवकुमार नेपाल र पूर्वएमालेसँग नजिक रहेका नेताहरूलाई आकर्षित गर्न जम्बो केन्द्रीय कमिटी बनाउन लागिएको हो। यसले गर्दा केही नेता कार्यकर्ता तान्न सहयोग मिलेको छ,’ स्रोतले भन्यो। दाहाल–नेपाल समूहमा लागेका नेताहरूलाई जसरी पनि ओली समूहमा ल्याउन अख्तियार गरिएका रणनीतिमध्ये केन्द्रीय सदस्य बनाउने पनि एउटा भएको ती नेताको दाबी छ। त्यसैगरी जिल्ला कमिटीमा रहेका नेताहरूलाई प्रदेश कमिटी र पालिका तहमा रहेका नेताहरूलाई जिल्ला कमिटीमा संगठित गर्ने ओली समूहको रणनीति छ। अहिले पनि ओली समूहले केन्द्रीय सदस्यहरूको संख्या थप गरिरहेको छ। 

पूर्वमाओवादी समूहका धेरैजसो नेताहरूलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिएर पार्टीमा ल्याउने नीति ओली समूहले अघि सारिरहेको छ। पूर्वमाओवादीका बिग्रेड कमान्डरहरू, डिभिजन कमान्डरहरूलाई ओली समूहले केन्द्रीय सदस्य बनाउने प्रस्ताव गरिरहेको छ। पूर्वमाओवादीका तर्फबाट रामबहादुर थापा, टोपबहादुर रायमाझी, मणि थापा, दाबा तामाङलगायतले यसको संयोजन गरिरहेका छन्। कालीबहादुर खाम र धनबहादुर मास्कीले दुई चरणमा ओलीलाई भेटेर कुराकानी गरिसकेका छन्। प्रहरीको नजरमा खाम फरार सूचीमा छन्। 

ओलीले काठमाडौंमा भएको सुदूरपश्चिमका कार्यकर्ता भेलामा खामको बारेमा चर्चा गरेका थिए। अहिले ओली समूहमा बालकृष्ण ढुंगेल केन्द्रीय सदस्य भइसकेका छन्। अहिले ओली समूहमा पूर्वमाओवादीको नेतृत्व थापाले गरिरहेका छन्। पूर्वमाओवादीमा उनीनिकट नेताहरू पम्फा भुसाल, देव गुरुङलगायत दाहाल–नेपाल समूहमा छन्।

प्रकाशित: २५ पुस २०७७ ०१:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App