५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

कर्णाली सरकार झन बलियो, मन्त्री रावल र सांसद रोकाय प्रचण्ड–नेपाल समूहमा

मुख्यमन्त्री शाही

नेकपा विभाजनले अरु प्रदेशका सरकार परिवर्तनको तयारी भइरहेको बेला कर्णाली प्रदेश सरकार भने झन बलियो भन्दै गएको छ। ४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपाका ३३ जना सांसद छन्। आइतबार सामाजिक विकास मन्त्री दल रावल र जुम्लाका सांसद पदमबहादुर रोकाय प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीको क्याम्प परिवर्तन गरेर प्रचण्ड–नेपाल समूहमा आएपछि कर्णाली प्रदेश सरकार झन बलियो बनेको छ। नेकपाका ३३ जना सांसद मध्ये मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग अव २१ जना सांसद हुनेछन्।  

गत असोज २५ गते नेकपाका सांसद यामलाल कँडेलको नेतृत्वमा १८ जना सांसदले संसदीय दलका नेता एवम् मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। प्रदेशको विवादको तरंग केन्द्रसम्मै पुगेको थियो। उति बेला अल्पमतमा रहेका मुख्यमन्त्री शाही नेकपा विभाजसँगै सुविधाजनक बहुमतमा आइपुगेका छन्।  

नेकपाका ३३ सांसद मध्ये तत्कालीन नेकपा एमालेबाट २० र माओवादीबाट १३ जना सांसद निर्वाचित भएका थिए। अविश्वासको प्रस्तावमा माधवकुमार नेपाल समूहका आठ जनासँगै माओवादीका तीन सांसदले हस्ताक्षर गरेका थिए। पार्टी विभाजनपछि ओली समूहबाट केन्द्रीय सदस्यमा मनोतिन भएका प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले कर्णालीको समृद्धिका लागि प्रदेश सरकारको स्थायित्व प्रमुख मुद्धा भएकाले आफू प्रचण्ड–नेपाल समूहमा फर्किएको बताए।  

‘समग्र कर्णालीको समृद्धि र विकासका लागि प्रदेश सरकारको स्थायित्व महत्वपूर्ण मुद्धा हो,’ हुम्ला जिल्लाका नेकपाका पार्टी सचिवसमेत रहेका रावलले भने, ‘त्यसैले पार्टीको मुलधार (प्रचण्ड–नेपाल समूह)मा फर्किने निर्णय गरेको हुँ।’ उनीसँगै हुम्लाका अधिकांस नेताहरु प्रचण्ड–नेपाल समूहमा फर्किएका छन्।

आइतबारै प्रदेशसभा सांसद पदमबहादुर रोकाय पनि प्रचण्ड–नेपाल समूहमा फर्किएका छन्। रोकायले पद पाउनु भन्दा पनि संघीयतालाई बाचइराख्नका लागि आफू प्रचण्ड–नेपाल समूहमा फर्किएको बताए। मन्त्री रावल र सांसद रोकाय प्रचण्ड–नेपाल समूहमा आएसँगै प्रदेशसभामा मुख्यमन्त्री शाहीसँग २१ जना सांसद पुगेका छन्। कर्णाली प्रदेशमा अव ओली समूहमा सभामुख राजबहादुर शाहीसहित १२ जना, नेपाली कांग्रेसका छ र राप्रपाका एक सांसद छन्। ४० सदस्यीय कर्णाली प्रदेशसभामा बहुमतका लागि २१ जना सांसदको आवश्यकता पर्छ।

 

प्रकाशित: १९ पुस २०७७ ११:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App