१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

दाहाल–नेपाल समूहको नेकपा इलाम अध्यक्षमा केसी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्र तहमा देखिएको विभाजन जिल्लासम्म आइपुगेको छ। जिल्ला अध्यक्षले बोलाएको बैठकलाई सचिवलगायत पदाधिकारीले इन्कार गर्ने र सचिवले बोलाएको बैठकको आधिकारिकता नभएको भन्दै अध्यक्षले विज्ञप्ति निकाल्नेक्रम सामाजिक सञ्जालमा चलिरहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीनिकट र दाहाल–माधव नेपालनिकट समूहबीच जिल्ला तहमा बेग्लाबेग्लै भेला र बैठक चलिरहेका छन्। यहीक्रममा शुक्रबार जिल्ला समन्वय समितिको हलमा सम्पन्न दाहाल–नेपालनिकट समूहको भेलाले भक्त केसीको अध्यक्षतामा जिल्ला कमिटी गठन गरेको छ। पूर्वनेकपा (एमाले)का जिल्ला उपाध्यक्ष केसी पार्टी एकीकरण भएपछिको नेकपाका कार्यालय सदस्य थिए।  

रविभाजनअघिको पार्टीकी जिल्ला सचिव सोममाया राई (सिन्धु) नै अहिले सचिव चुनिएकी छिन्। भेलाले कार्यालयमा केसीसहित सचिव राई, विजय राई, कान्छा लावती, रणबहादुर राई, उदय राई र जेबी फिलिहाङलाई सदस्य चयन गरेको छ। कार्यालय सचिवमा प्रकाश परियार र सोम शर्मा छानिएका छन्। पार्टी विभाजन हुनुअघि कार्यालय सचिवमा परियार र नवराज शंकर थिए। केसी र शर्मा पूर्वएमालेका हुन् भने सिन्धु र परियार माओवादीनिकट हुन्।  

रभेलामा प्रदेश सांसद धिरेन शर्मा (रमण), नेकपाका प्रदेश कमिटी सदस्यहरू कान्छा लावती, ध्रुव श्रेष्ठ, मणिकुमार लिम्बु र उर्मिला तामाङलगायत सहभागी भए। शर्मा, लावती र तामाङ पूर्वमाओवादी तथा लिम्बू र श्रेष्ठ पूर्वएमालेका हुन्। सूर्याेदय नगरपालिकाका प्रमुख रणबहादुर राई, सन्दकपुर गाउँपालिका अध्यक्ष उदय राई र माइजोगमाई गाउँपालिका अध्यक्ष जीतबहादुर राई पनि भेलामा सहभागी भए। उनीहरू तीनैजना झलनाथ खनालनिकट मानिन्छन्।  

भेलाले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान मिचेर प्रतिनिधिसभा भंग गरेकामा विरोधका कार्यक्रम गर्ने निर्णय गरेको केसीले बताए। ‘प्रधानमन्त्री र राष्ट्रपतिको कदम लोकतन्त्रमाथिको प्रहार भएकाले त्यसको प्रतिकार गर्ने निर्णय भएको छ,’ उनले भने, ‘तर, विरोधका कार्यक्रम तय गर्न बाँकी छ।’

विभाजनअघिको नेकपा जिल्ला कमिटीमा १ सय ४७ सदस्य छन्। बहुमत सदस्य आफूहरूको भेलामा सहभागी भएको केसीले दाबी गरे। विभाजनअघिका जिल्ला अध्यक्ष एवं १ नम्बर प्रदेशका भूमिव्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरलाई ओलीनिकट समूहले पार्टीको आउँदो महाधिवेशन आयोजक कमिटी सदस्य मनोनित गरेको छ। राष्ट्रियसभा सदस्य अगम बान्तवा, प्रदेश सांसद काजीमान कागते, जिल्ला समन्वय समिति प्रमुख गणेशप्रसाद बराल, इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत, सन्दकपुर गाउँपालिका उपाध्यक्ष शोभा पराजुली, जिल्ला तहका नेताहरू नरेन्द्रनाथ भट्टराई, जयप्रकाश राई, तारा गुरुङ र पूर्वसांसद पदम भण्डारी ओली समूहको महाधिवेशन आयोजक कमिटीमा मनोनित भइसकेका छन्।

ओलीनिकट पदाधिकारी र सदस्यले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जिल्ला भेला शनिबारका लागि आयोजना गरेको जनाएका छन्। यसअघि सचिव सोममाया राईले शुक्रबारका लागि आयोजना गरेको भेलाको सूचनालाई अध्यक्ष रामबहादुर मगरले विज्ञप्ति नै निकाले त्यस दिन (शुक्रबार) पार्टीको कुनै पनि आधिकारिक भेला आयोजना नभएको जनाएका थिए। शनिबारको भेलालाई पनि केसी नेतृत्वको नेकपाले आधिकारिक भेला आयोजना नभएको जनाएको छ।

प्रकाशित: १८ पुस २०७७ ०२:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App