८ वैशाख २०८१ शनिबार
राजनीति

वैदेशिक हस्तक्षेपबाट बचाउन संसद विघटनः मुख्यमन्त्री पौडेल

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले वैदेशिक हस्तक्षेपबाट देशलाई मुक्त गर्न संसद् विघटन गरेको भन्दै बचाउ गरेका छन्। गृहनगर हेटौंडामा विहीबार नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) ओली समूहसम्बद्ध मोर्चा संगठन मकवानपुरद्वारा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वाधिनता र राष्ट्रलाई बचाउन ओलीले उचित कदम चालेको जिकिर गरे।

‘नेपाल हिजो भारतको खेल मैदान थियो, एउटा सचिव पनि दिल्लीबाट नियुक्ती हुन्थ्यो,’ उनले भने, ‘आज हाम्रो प्रधानमन्त्रीले खेल मैदानको अन्त्य गर्नुभएको छ।’ भारत, अमेरिका, युरोपियन यूनियन केपी ओली सरकारको विरुद्धमा रहेको भन्दै उनले उनीहरुले कठपुतलीको सरकार चाहेको र प्रचण्ड–नेपाल नेतृत्वको पक्षमा रहेको पनि तर्क गरे। ‘हाम्रा अध्यक्षले यो मुलुकलाई बचाउँदै अरुको हातमा पर्न नदिनको निमिक्त कुनैपनि हालतमा यिनीहरु(प्रचण्ड–नेपाल)को हातमा सत्ता सुम्पन सक्दीन भन्नुभयो,’ उनले भने।

सडकमा धेरै हल्ला चलाईएको र ओलीले लोकतन्त्रलाई समाप्त पार्‍यो, संघीयतालाई सिध्यायो भन्ने आरोपको पनि मुख्यमन्त्री पौडेलले खण्डन गरे। ‘सम्माननीय प्रधानमन्त्रीले लोकतन्त्रलाई सक्काएको होइन, लोकतन्त्रलाई बचाउन र संरक्षण गर्नको निमिक्त यो अभियान सुरु गरेको हो, यो कदम चाल्नु भएको हो,’ उनले भने।

ओलीले संसद् विघटन नगरेको भए मुलुकले अर्कै बाटो लिने र प्रतिगमन आउँथ्यो भन्दै उनले प्रधानमन्त्रीमाथि अविश्वासको प्रस्ताव र राष्ट्रपतिलाई महाअभियोग लगाउने प्रचण्ड–नेपालले सवै रणनीति तयार गरिसकेकाले अन्तिम हतियारको रुपमा प्रम ओलीले संविधानले दिएको अधिकार प्रयोग गरेको दाबी गरे।

केपी ओलीले गल्ती–बदमासी गरेको, व्यवस्था सिध्याउन खोजेको भन्ने भ्रममात्र भएको भन्दै उनले भने, ‘म हात जोडेर भन्छु, यो भ्रममा हामी कोही कतै पनि पर्नुपर्ने जरुरी छैन।’ ओलीको नेतृत्वमा पाँच वर्षे म्याण्डेड लिएर प्रचण्डले चुनाव जितेको भन्दै मुख्यमन्त्री पौडेलले प्रचण्ड–नेपालले धोका दिएको बताए। ‘केपी ओलीको फेर समातेर प्रचण्डले जितेको हो,’ उनले भने, ‘समृद्ध नचाहने व्यक्तिहरुले आरिस गरेर ओलीलाई विस्थापित गर्न प्रहार गरेको हो।’

कीर्तिपुरबाट चुनावमा पराजित भई सिराहामा पनि हार्ने भएपछि प्रचण्डको इज्जत बचाउन जिताईएको भन्दै ओलीले त्यत्ति गरेर ल्याउँदापनि प्रचण्डले बेईमानी गरेको आरोप लगाए। ‘पाँच वर्षे म्याण्डेड लिएर आएको सरकारलाई दुई वर्षमै गिराएर छिटो प्रधानमन्त्री बन्ने उहाँहरुको ईच्छा जागेर आएकाले यो वितण्डाको सिर्जना भयो,’ उनले भने।

ओली नेतृत्वको संघीय सरकार र प्रदेश सरकारले तीन वर्षमा धेरै काम गरेको भन्दै उनले सरकार प्रतिरक्षामा झुक्नुपर्ने, कुराहरु सुन्नुपर्ने अवस्था नरहेको पनि बताए । प्रदेशसभामा आफूविरुद्ध अविश्वासको प्रस्ताव विकास विरोधी सांसदहरुले दर्ता गराएको भन्दै उनले मकवानपुरमा विकास देखेर खपी नसकेर मकवानपुरका नेकपाकै सांसदहरुले पनि घात गरेको बताए।

प्रकाशित: १७ पुस २०७७ ०२:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App