१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रभु साहको आरोप : प्रचण्डले माओवादलाई विसर्जन गरे

सहरी विकासमन्त्री तथा नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहले नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले माओवादलाई बिसर्जन गरेको आरोप लगाएका छन्।

रौतहटको गरुडामा जिल्लास्तरीय बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री साहले माओवादी पार्टी हुँदाको अवस्थाका सबै सिद्धान्तलाई बिर्सदैँ गएको आरोप लगाउँदै प्रचन्डमाथि इमानदार कार्यकर्ताको मूल्यांकन गर्ने क्षमताको अभाव रहेको आरोप लगाए।  

जनतामा जान नचाहनेहरुको भीड माधव–प्रचण्डले जम्मा गरेको आरोप लगाउँदै मन्त्री साहले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई कहिल्यै चुनाव नजित्ने तर पद सधैँ चाहने नेताको रुपमा सबैले बुझेको बताए। संसदीय चुनाव हारेपछि षड्यन्त्र गरेर प्रधानमन्त्री बनेको र पार्टीको अध्यक्षको चुनाव हारेर फेरि चोरबाटोबाट पार्टीको अध्यक्ष बनेको आरोप लगाउँदै चुनाव हारेर पनि पद नपाउँदा नेतृत्वविरुद्ध सधैँ षड्यन्त्र गर्ने प्रवृत्ति नेपालको रहेको बताए। पार्टीका नेताहरुले चौतर्फी घेराबन्दी गरेपछि बाध्य भएर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको बताउँदै संसद विघटन र नयाँ जनादेशको लागि जनतामा जानु दुवै संवैधानिक कदम भएको बताए।  

कतिपयले संसद विघटनलाई प्रतिगमनको संज्ञा दिइरहेको तर्कलाई खन्डन गर्दै मन्त्री साहले संसद विघटन गरेर सम्पूर्ण अधिकार आफैँमा राखेको नभई चुनावको नयाँ मिति घोषणासमेत गरिएकोले ताजा जनादेशका लागि सबैलाई जनतामा जान पनि सुझाव दिए।  

चुनावमा जान पनि डराउने र सर्वोच्च अदालतको फैसला कुर्न पनि नसक्नेहरुले पार्टी र सरकारविरुद्ध निरन्तर षड्यन्त्र गरेको यथार्थ सबैले बुझनुपर्ने मन्त्री साहको भनाइ छ।

नेकपाको प्रदेश इन्चार्ज तथा स्थायी समिति सदस्य सत्यनारायण मन्डल, रेखा झा, अबुल कलाम आजाद, कुन्दन कुशवाहालगायतले मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री ओलीको बचाउ गरेका थिए भने प्रचन्ड–नेपाल समूहमाथि खनिएका थिए।

 

प्रकाशित: १६ पुस २०७७ ११:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App