coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘दाहाल–नेपालले काम गर्नै दिएनन्’

काठमाडौंको बबरमहलमा बुधबार आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय बृहत् कार्यकर्ता भेलामा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत । तस्बिर : रासस

प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपालले काम गर्न नदिएकै कारण प्रतिनिधिसभा विघटन गरी नयाँ जनादेशमा जाने निर्णय गर्नुपरेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले बुधबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा सुदूरपश्चिम प्रदेशका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।  

दाहालले सधैं सत्ता र अर्का नेता नेपालले सम्मान मात्र खोजेर सरकारलाई काम गर्न नदिएको आरोप लगाउँदै ओलीले प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जाने आफ्नो रहर नभएर बाध्यता भएको स्पष्ट पारे । उनले तोकिएको समयमै निर्वाचन हुने बताए ।  

ओलीले पार्टी एकता, संविधान कार्यान्वयन र स्थायित्वका लागि पार्टीमा दाहाल र नेपाललाई दिएको बहुमतको दुरुपयोग भएको बताए । पार्टीभित्र दाहाल र नेपाल समूहसँग बहुमत छ भन्ने कुरा आफूलाई राम्रोसँग जानकारी भएको जिकिर गर्दै ओलीले भने, ‘त्यो संख्या एकता र यो देश बनाउनका लागि दिइएको थियो ।’  

विघटित प्रतिनिधिसभा पुनस्र्थापना नहुने जिकिर गर्दै ओलीले निर्वाचन तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए । उनले अन्य पार्टीका नेताहरूलाई पनि निर्वाचन तयारीमा जुट्न आग्रह गर्दै प्रतिनिधिसभाको ६४ प्रतिशत बहुमतको सर्वसम्मत नेता आफू भएको र त्यस हिसाबले गरेको विघटन सिफारिस संविधानसम्मत रहेको तर्क गरे । बाँकी ३६ प्रतिशतले नयाँ सरकार बन्ने अवस्था नभएको उनले बताए ।  

दाहालभन्दा नेपालप्रति बढी आक्रामक देखिएका ओलीले भने, ‘माधव नेपालजीबारे धेरै टिप्पणी गर्न चाहन्नँ, उहाँ प्रचण्ड (पुष्पकमल दाहाल) को मामुली कार्यकर्ता हो ।’

एकता जोगाउन दाहालसँग गरेका सहमतिले ब्रिफकेस नै भरिएको बताउँदै उनले भने, ‘तीन वर्षमा डोब साबुनका धेरै डल्ला खर्च भए, ड्रमका ड्रम पानी खत्तम भयो, उहाँलाई धुँदाधुँदा तर साबुन लायो, पखाल्यो, जस्ताको तस्तै । साबुन लायो, पखाल्यो, जस्ताको तस्तै । अन्तिममा देखिहाल्नुभयो ।’

यसैबीच प्रधानमन्त्री ओलीले दाहाललाई बुधबार टेलिफोन गरी उनकी पत्नी सीताको स्वास्थ्य अवस्थाबारे चासो राखेका छन् । दाहाल पत्नी सीता उपचारका लागि मेडिसीटी अस्पतालमा भर्ना भएकी छन् ।

प्रकाशित: १६ पुस २०७७ ००:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App