पूजापाठ गर्न बिहीबार इनर्वासिरा आइपुगेका शर्मा बिहीबार राति मन्दिरमै बास बसेका थिए। रामनवमीका अवसरमा आयोजित धार्मिक मेलामा निःशुल्क भोजन र भजनकीर्तनको समेत व्यवस्था गरिएको अर्का स्थानीय ठाकुर धामीले बताए।
गाउँघरमा सन्त स्वभावका व्यक्ति भनेर चिनिने शर्माले जिल्ला न्यायाधीश हुँदादेखि नै सो ठाउँमा मन्दिर बनाउने र पुर्ख्यौली जग्गामा गरिबलाई निःशुल्क बस्न दिने गरेको स्थानीयले बताए। कामु प्रधान न्यायाधीश शर्माले आफू धर्मकर्म गर्न सपरिवार पुर्ख्यौली थलोमा आएको जानकारी दिए।
कम्मरमाथि नांगो शरीर र रुद्राक्षका माला पहिरिएका शर्मा हेर्न गाउँलेको भिड लागेको देखिन्थ्यो। शर्मा सर्वोच्च अदालतका कामु प्रधान न्यायाधीश भएपछि पहिलोपटक इनर्वासिरा आएकाले पनि उनलाई हेर्न स्थानीयको भिड लागेको थियो।
धार्मिक मेलाको उद्घाटन नेपाली कांग्रेस बारा सभापति राधेचन्द्र यादवले गरेका थिए। मेलामा अरु पार्टीका जिल्ला पदाधिकारीको समेत उपस्थिति थियो।
प्रकाशित: ६ वैशाख २०७० २१:५२ शुक्रबार





