४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘असंवैधानिक कदम नसच्याएसम्म विरोध’

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नेपाली कांग्रेसले १ सय ६५ वटै निर्वाचन क्षेत्रमा सोमबार विरोध प्रदर्शन गरेको छ। प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादी सोचबाट प्रेरित रहेको दोहोर्‍याउँदै त्यसको डटेर सामना गर्ने नेताहरूले बताएका छन्। काम चलाउ सरकारका प्रधानमन्त्री ओलीको कदम र सरकारका गतिविधिको चर्को आलोचना गरे पनि कांग्रेस नेताहरूले प्रतिनिधिसभा पुनःस्थापनका विषयमा भने खासै बोलेनन्।

प्रतिनिधिसभाका सबै निर्वाचन क्षेत्रमा सरकारविरुद्ध प्रदर्शनलाई सम्बोधन गर्ने अधिकांश नेताले कम्युनिस्ट नेतृत्वको सरकारले जनादेशको अपमान गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई नै संकटमा धकेलेको आरोप लगाए। त्यसको रक्षा गर्दै मुलुकमा आर्थिक समृद्धि र विकास कांग्रेसले मात्र गर्न सक्ने जिकिर नेताहरूले गरे। पार्टीभित्रको झगडाका कारण संविधान च्यातेर प्रतिनिधिसभा विघटन गर्नु खेदजनक रहेको नेताहरूले टिप्पणी गरे। उनीहरूले अहिलेको जटिल परिस्थिति सिर्जना हुनुमा प्रधानमन्त्री ओली मात्र नभएर सिंगो कम्युनिस्ट पार्टी नै जिम्मेवार रहेको धारणा राखे। कोरोना कहरबाट मुलुकलाई जोगाउन सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने समयमा कम्युनिस्ट पार्टीभित्रको झगडाले मुलुक अन्योल र अस्थिरतातर्फ धकेलिएको कांग्रेस नेताहरूको मत छ।

अलोकतान्त्रिक कदम सच्चिनैपर्छ : देउवा

भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा आयोजित विरोधसभालाई सम्बोधन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले  कम्युनिस्ट सरकारको आतंककारी गतिविधि समाप्त पार्नुपर्ने बेला आएको बताए।

उनले ओली नेतृत्वको सरकारले गरेका असंवैधानिक र अलोकतान्त्रिक काम नसच्याएसम्म निरन्तर विरोध गरिने बताए। उनले सोमबार देशभर आयोजित विरोधको मूल्यांकन गरी पार्टीको अर्काे बैठकबाट नयाँ चरणको विरोधको कार्यक्रम सार्वजनिक गर्ने जानकारी गराए। उनले ओलीको कदमविरुद्ध विभिन्न पार्टीले संयुक्त रूपमा विरोध गर्न प्रस्ताव आए पनि पार्टी एक्लै आन्दोलनमा होमिने बताए। जुनसुकै बेला पनि आन्दोलनमा सरिक हुन तयार रहन उनले पार्टी कार्यकर्तालाई निर्देशन दिए। प्रतिनिधिसभा विघटनका सम्बन्धमा अदालतको निर्णय नआएसम्म आन्दोलन जारी रहने बताए। पञ्चायतकालमा पनि अदालत स्वतन्त्र भएको चर्चा गर्दै उनले भने, ‘हामी अदालतको निर्णय मान्ने पार्टी, सम्मान गर्ने पार्टी हो। अदालतलाई स्वतन्त्र रूपमा निर्णय गर्ने अधिकार दिनुपर्छ।’ कम्युनिस्ट सरकारले अदालतलाई पनि प्रभावमा पार्न खोजेको उनले बताए।

यसैबीच प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरुद्धको विरोध प्रदर्शनमा सहभागी सबैलाई कांग्रेस सभापति शेरबहादुर देउवाले धन्यवाद दिएका छन्। प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको दोहो¥याउँदै देउवाले सोमबार देशभरि भएको प्रदर्शनमा सहभागी सबैलाई धन्यवाद दिएका हुन्। उनले १ सय ६५ निर्वाचन क्षेत्रमा भव्य प्रदर्शन भएको जनाएका छन्। उनले साँझ जारी गरेको विज्ञप्तिमा छ, ‘प्रदर्शनले केपी शर्मा ओलीको नेतृत्वमा रहेकोे नेकपाको सरकारले गरेको संसद् विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम, सर्वसत्तावाद, कुशासन एवं भ्रष्टाचारविरुद्ध जनभावना अभिव्यक्त गरेको छ।’

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा आयोजित विरोधसभालाई सम्बोधन गर्दै कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री ओलीले संवैधानिक कु गरेको बताए। उनले भने, ‘ट्र्याकबाहिर गएको संविधानलाई सबै मिलेर पुरानै ठाउँमा ल्याउनुपर्छ।’ विश्वासको मत लिन डराएर प्रधानमन्त्री ओलीले झन्डै दुई तिहाइ मतलाई खण्डित गरेर प्रतिनिधिसभा विघटन गरेको सिंहले बताए। संसद् र पार्टी कमिटीको सामना गर्न नसक्ने प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार कसले दियो भन्ने प्रश्न गर्दै उनले भने, ‘संसद्ले प्रधानमन्त्री दिनै नसक्ने अवस्थामा मात्र विघटनको परिकल्पना संविधानको धारा ७६ ले गरेको छ। अन्य अवस्थामा विघटन हुनै सक्दैन।’

कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले ओली नेतृत्वको सरकारले बितेका दुई वर्ष आर्थिक विकासका नाममा आकाश–पाताल जोड्ने गफ चुटेर खेर फालेको बताए। काठमाडौं–५ को विरोधसभालाई सम्बोधन गर्दै सहमहामन्त्री महतले ओली नेतृत्वको सरकार आर्थिक अनियमितता र भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए।

त्यस्तै काठमाडौं–२ को सभालाई सम्बोधन गर्दै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेस ओली वा पुष्पकमल दाहाल र माधवकुमार नेपालको पक्षमा नलाग्ने धारणा राखे। कम्युनिस्ट पार्टी भरोसा गर्न योग्य नभएको भन्दै सत्तारूढ नेकपाले चुनावमा देखाएको सातवटा सपना खण्डित भएको बताए। उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई असंवैधानिक कदमको साक्षी नबस्न सुझाउँदै पदको गरिमा राख्न सचेत गराए।

नेपाल अफगानिस्तान बन्ने खतरा : पौडेल

कास्की, तनहुँलगायत जिल्लाका निर्वाचन क्षेत्रमा पनि कांग्रेसले प्रदर्शन गरेको छ। कांग्रेस नेता रामचन्द्र पौडेल तनहुँँ निर्वाचन क्षेत्र २ भीमादमा आयोजित विरोधसभामा सहभागी भए। विरोधसभालाई सम्बोधन गर्दै पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले तमासा देखाएको बताए। उनले प्रतिनिधिसभा विघटन लोकतन्त्रको मर्मविपरीत भएको बताए। चुनाव गराउने नियतले प्रतिनिधिसभा विघटन नभएको उनले दोहोर्‍याए। ‘चुनाव गराउने मनसाय अहिले छैन,’ पौडेलले भने, ‘अहिलेको कदमले राष्ट्रलाई खतरामा पार्नेछ। संविधान फ्याँक्ने खतरा बढेको छ।’ नेपाल अफगानिस्तान बन्न सक्ने खतरा बढेको पनि पौडेलले बताए। उनले पाँच वर्षका लागि चुनिएको सरकारले जनतालाई बीचैमा धोका दिएको बताए। ‘प्रतिपक्षले पनि काम गर्न, विकास गर्न सरकारलाई भनेको हो। हामीलाई सरकारमा जान हतार छैन भनेका हौं,’ उनले भने, ‘तर त्यसो हुन सकेन।’

यसैगरी नेता पौडेलले कम्युनिस्टको बितण्डाले देशको चरित्र नास गरेको पनि बताए। दमौलीमा नेपाली कांग्रेसद्वारा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले शृंखलाबद्ध रूपमा सरकारले आफैं अपराध गर्ने र त्यही अपराध ढाकछोप गर्न पुनः शपक्तको दुरूपयोग गरेको आरोप लगाए।

‘संविधानविपरीत प्रतिनिधिसभा विघटन गर्ने केपी ओली नेतृत्वको सरकार अलोकप्रिय बन्दै गएको छ,’ उनले भने।

कास्की कांग्रेसका प्रवक्ता नवीन सिग्देलका अनुसार कास्की निर्वाचन क्षेत्र १ को लेखनाथ, २ को पोखरा सभागृह र ३ को पोखरा हरिचोकमा प्रदर्शन गरियो। ‘निर्वाचन क्षेत्रअन्तर्गत कांग्रेस कार्यकर्ता विरोधसभा सहभागी भए,’ उनले भने।

दाहाल–नेपाल ओलीका मतियार : कोइराला

यसैगरी विराटनगरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पुष्पकमल दाहाल र माधव नेपाल कोपी ओलीको मतियार बनेकै कारण समस्या आएको बताएका छन्। ओलीलाई निरंकुश बनाउन दाहाल र नेपालले नै भूमिका खेलेको उनको भनाइ थियो। ‘ प्रचण्ड (पुष्पकमल दाहाल) र माधव नेपाल केपी ओलीको मतियार बनेर जे गर्न पनि सहयोग गरेका कारण अहिलेको अवस्था आयो,’ उनले भने। उनले संविधानविपरीत प्रतिनिधिसभा विघटन हुनुनमा ओलीजत्तिकै दाहाल र नेपाल पनि दोषी रहेको उनले बताए।

कोइरालाले कम्युनिस्टसँग कुनै पनि हालतमा कांग्रेसले सहकार्य नगर्ने स्पष्ट पारे। उनका अनुसार तोकिएको समयमा निर्वाचन गराउन दबाब दिने उद्देश्यले कांग्रेसले सडक आन्दोलन थालेको हो। निर्वाचन सुनिश्चित नभएसम्म सडक आन्दोलन जारी रहने उनले बताए। उनले कांग्रेस ओलीको मतियार बन्न सरकारमा नजाने पनि बताए। उनले भने, ‘ओलीको मतियार बन्न हामी सरकारमा जाँदैनौं।’

उनलले निर्वाचनपछि कांग्रेसले बहुमतको सरकार बनाउने दाबी पनि गरे। कांग्रेसले विराटनगरस्थित वीरेन्द्र सभागृहबाट ¥याली निकालेको थियो। र्‍याली नगरका विभिन्न भाग परिक्रमा गरी जनआन्दोलन चोकमा पुगेर सभामा परिणत भएको थियो।

प्रधानमन्त्रीले मुलुकलाई अराजकतातर्फ धकेले : थापा

यसैगरी नेपाली कांग्रेसका नेता गगन थापाले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री ओलीले मुलुकलाई अराजकतातर्फ धकेलेको आरोप लगाएका छन्। नेपाली कांग्रेस बाँके–२ ले नेपालगन्जमा सोमबार आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीको कदम सर्वसत्तावादी र अधिनायकवादी रहेको जिकिर गरे। ‘प्रधानमन्त्रीको यो कदमले नेपाललाई ठूलो अराजकतातर्फ लिएर जाँदैछ, ठूलो अनिश्चिततातर्फ लाँदैछ,’ उनले भने, ‘यो नेपालमाथिको ठूलो षड्यन्त्र हो।’ जनमतको सुविधा, संसद्भित्रको गणितको सुविधा र देश तथा विदेश सबैतिरको अनुकूल वातावरण पाउँदै गर्दा पनि नेकपा र त्यस पार्टीबाट निर्वाचित प्रधानमन्त्री ओलीले संविधान र व्यवस्थाप्रति विश्वासघात गरेको पूर्वमन्त्रीसमेत रहेका थापाले बताए। ‘यो संविधान र व्यवस्थाप्रतिको विश्वासघातले गर्दा आज सिंगो व्यवस्थामाथि नै प्रश्न उठिरहेको छ,’ उनले भने।

प्रधानमन्त्रीको अधिनायकवादी कदमबाट जनताको विश्वास डगमगाइरहेको कांग्रेस नेता थापाले जोड दिए। संसद्भित्र टाउको गनेर प्रधानमन्त्रीमा निर्वाचित भएका ओली अहिले टाउको गन्दाखेरि संख्या कम हुँदा मैदान छाडेर भागेको आरोप उनले लगाए। देशको सर्वोच्च पदमा बसेका राष्ट्रपति र प्रधानमन्त्रीले नेपाली जनतासँग कपटी र जाली काम गरेको थापाले बताए। ‘यो नेपाली जनतालाई हेपेको हो, यस्तो हेप्न त हिजोका राजा ज्ञानेन्द्रले पनि आँट गरेका थिएनन्,’ उनले भने, ‘यो हामीलाई हेपेको हो, नेपाली जनताको विवेकलाई हेपेको हो, हाम्रो स्वाभिमानलाई हेपेको हो।’

प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीभित्रको झगडा मिलाउन नसकेर त्यसको भारी नेपाली जनतालाई बोकाउने काम गरेको नेता थापाको टिप्पणी थियो। ‘यो घटनाको दोषी प्रधानमन्त्री, यो अपराधको मतियार राष्ट्रपति हुन्, पार्टीभित्रको कलह मिलाउन नसक्ने, पार्टीभित्रको हिसाबकिताब मिलाउन नसक्ने अनि त्यसको भारी तपाईंहामीले बोक्नुपर्ने ?’ उनले प्रश्न गर्दै भने। प्रधानमन्त्री र राष्ट्रपतिले सिंगो संसद्लाई विघटन गरेर संविधानलाई नै दुर्घटनातर्फ लिएर जान थालेको नेता थापाले टिप्पणी गरे।

अर्को प्रसंगमा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकीकरण आलु र काउलीजस्तै भएको भन्दै उनले व्यंग्य गरे। ‘त्यो अप्राकृतिक र आपराधिक गठबन्धन केवल सत्ता गठबन्धनका निम्ति मात्रै थियो, सत्ता स्वार्थका निम्ति मात्रै थियो,’ थापाले भने। स्थिरताको र समृद्धिको नारा दिएर आएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पतन देखेर यो व्यवस्थाप्रति जनताको विश्वास नगुमोस् भन्नेमा कांग्रेस चिन्तित रहेको उनले बताए।

प्रकाशित: १४ पुस २०७७ ०२:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App