coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

ओली समूहको केन्द्रीय सदस्यमा उदयपुरका आधादर्जन

पार्टी विभाजनसँगै सत्तारुढ दल नेकपाको ओली तथा प्रचण्ड–माधव समूहको अलग–अलग भेलाले नेता कार्यकर्ता तानातानमा पर्न थालेका छन्। यसै क्रममा मंगलबार विहान सम्पन्न ओली समूहको भेलाले उदयपुरका आधादर्जनलाई महाधिवेशन आयोजक समिति (केन्द्रीय सदस्य) मा मनोनयन गरेको खुलेको छ।  

ओली समूहको भेलाले आउँदो ०७८ मंसिरमा गर्ने गरी महाधिवेशनको मिति तय गर्दै १ हजार १ सय ९९ सय सदस्यीय महाधिवेशन आयोजक समिति गठन गरेको हो। आयोजक समितिमा उदयपुरबाट मणिराज पौडेल, बेदप्रसाद पोखरेल, पदम राई, दुर्गाकुमार थापा, विमल कार्की, अम्बिका थापा, ज्ञानेन्द्र श्रेष्ठ र शैलेस लामालाई मनोनयन गरेको केन्द्रीय सदस्य मञ्जुकुमारी चौधरीले बताइन्। उनका अनुसार थप नामहरु पनि आईरहेकाले बुधबारको बैठकले अन्यको नाम थप्ने संभावना रहेको छ।  

आयोजक समितिमा पर्ने पौडेल तत्कालीन नेकपा (एमाले) उदयपुरका सचिव हुन्। पोखरेल र राई तत्कालीन जिल्ला विकास समिति सभापति र उपसभापति हुन् भने थापा जिल्ला सचिवालय सदस्य तथा बेलका नगरप्रमुख हुन्। कार्की पार्टी एकीकरणअघिको एमाले जिल्ला उपाध्यक्ष तथा प्रदेश १ (क) का सांसद हुन् भने समानुपातिक प्रदेश सांसद अम्बिका थापा अनेम संघ केन्द्रीय सदस्य हुन्। कटारी नगरप्रमुख श्रेष्ठ पूर्व एमाले जिल्ला उपाध्यक्ष तथा हाल सचिवालय सदस्य हुन् भने लामा अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष हुन्।  

मनोनयनबारे सामाजिक सञ्जालमा बधाईका पोष्टहरु आईरहे पनि अधिकांशले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्न मानेका छैनन्। उनीहरुको धारणा बुझ्न सम्पर्क गर्दा धेरैको मोवाईल सम्पर्क हुन सकेन भने सम्पर्क हुनेले प्रतिक्रिया दिन मानेनन्। सदस्य मनोनित बेलका नगरप्रमुख थापाले केहीदिनभित्र आधिकारिक धारणा सार्वजनिक गर्ने बताए।  

सुरुदेखि ओली समूहमा खुलेर लागेका जिल्ला समन्वय प्रमुख तथा जिल्ला सचिवालय सदस्य खड्ग परियारले विशिष्ट परिस्थिति सिर्जना भएकाले नयाँ जनादेशका लागि प्रधानमन्त्री ओलीले चालेको कदमको स्वागत गरेका छन्। पार्टी एकीकरण प्रक्रियाको टुंगो नलागिसकेको अवस्थामा झट्ट हेर्दा दुःखदायी कदम देखिए पनि विकल्प नभएरै संसद विघटन गर्न बाध्य हुनुपरेको परियारको विश्लेषण छ।  

उदयपुरमा ओली र प्रचण्ड–माधव समूहबीच चर्को प्रतिस्पर्धा छ। पूर्व एमालेभित्र संख्या केही सानो भए पनि ओली समूह चुनावी माहौलमा टिकट वितरण र जनप्रतिनिधि निर्वाचित गराउनेमा बराबरको हाराहारीमा छ। एकीकरणपछि पूर्व माओवादीको संख्या जोड्दा भने ओली समूह पूर्ण अल्पमतमा परेको कार्यकर्ताहरु बताउँछन्। एकीकरणको लामो समयपछि मंसिर पहिलो साता मात्र जिल्ला, नगर र गाउँ पार्टीले पूर्णता पाए पनि वडातहसम्म पूर्णता नपाउँदै पार्टी विभाजन भएपछि नेता कार्यकर्ता तानातानमा परेका हुन्।

प्रकाशित: ८ पुस २०७७ ०६:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App