सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गम्भीर मोडमा पुगेको भए पनि विभाजन नहुने बताएका छन्। नेकपा दोलखा जिल्ला जिल्ला समिटीले आज बिहान चरिकोटमा आयोजना गरेको जिल्ला कमिटीका सदस्य तथा शैलुङ गाउँपालिका–७ का वडाध्यक्ष प्रेम लामाको श्रद्धाञ्जलिसभामा मन्त्री गुरुङले पार्टी विभाजन नहुने बताएका हुन्।
'पार्टी गम्भीर मोडमा छ तर विभाजन हुँदैन, विभाजन हुन दिँदैनौ', मन्त्री गुरुङले भने, मुलुकको स्थायित्व र समृद्धिका लागि नेताहरुले पार्टी विभाजन हुन दिनुहुन्न भन्ने विश्वास छ। उनले पार्टीभित्र देखिएको समस्या समाधान गर्न आफू जस्तोसुकै त्याग गर्न पनि तयार रहेको स्पष्ट पारे।
बुधबार निधन भएका पार्टीका नेता लामा इमान्दार व्यक्ति भएको स्मरण गर्दै मन्त्री गुरुङले उनको इमान्दारिताबाट सबैले पाठ सिक्नुपर्नेमा जोड दिए। रासस
प्रकाशित: ४ पुस २०७७ ०६:३५ शनिबार