निर्वाचनको स्वच्छता प्रवर्द्धन, पारदर्शिता अभिवृद्धि तथा लोकतान्त्रिक वैधता सुनिश्चित गर्न आयोगले निर्वाचन पर्यवेक्षणलाई महत्वका साथ अघि बढाइरहेको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि आयोगले राष्ट्रियतर्फका ३७ वटा र अन्तर्राष्ट्रियतर्फ चारवटा गरी ४१ संस्थालाई पर्यवेक्षण अनुमति प्रदान गरेको छ।
अनुमति पाएका संस्थाका तर्फबाट पर्यवेक्षकको नाम प्रविष्ट गर्ने कार्य सम्पन्न भई आयोगले संस्थाका प्रतिनिधिहरूलाई अभिमुखीकरण सम्पन्न गरिसकेको छ। आयोगले अनुमतिप्राप्त संस्थाका करिब चार हजार ३०० जना पर्यवेक्षकका लागि परिचयपत्र जारी गरिसकेको छ।
आम मतदाता तथा सरोकारवालाको निर्वाचनसँग सम्बन्धित जिज्ञासा सम्बोधनका लागि आयोगले माघ ५ गतेदेखि सञ्चालनमा ल्याएको कल सेन्टरमा फागुन ७ गतेसम्म ‘भ्वाइस मेल’समेत गरी जम्मा तीन हजार ६४ वटा जिज्ञासा तथा प्रश्न प्राप्त भएका छन्। प्राप्त जिज्ञासामध्ये मतदाता नामावलीसँग सम्बन्धित एक हजार ५०८, निर्वाचन आचारसंहितासँग सम्बन्धित ३११ मतदाता शिक्षासँग सम्बन्धित १२५ र अन्य ८०० रहेका छन्।
कुल जिज्ञासामा ३२० वटा भ्वाइस मेल आएको आयोगले जनाएको छ।
प्रकाशित: ८ फाल्गुन २०८२ १९:५७ शुक्रबार





