१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘ओली–देउवा भेटको सत्ता राजनीतिमा अर्थ छैन’

फाइल तस्बिर।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको भेटघाटले सत्ता राजनीतिमा कुनै अर्थ नराख्ने बताएका छन्। सत्य साई बाबाको ९५औं अवतरण दिवसका अवसमा सोमबार शंखमूलमा आयोजित सत्य साई बाबा पार्कको उदघाटन गर्दै सिंहले जनताले कांग्रेसलाई प्रतिपक्षीमा बस्ने भूमिका देखिएकाले निर्वाचनसम्म जनमतको कदर गर्ने दाबी गरेका हुन्।

झन्डै दुईतिहाइ बहुमत पाएको सरकारले जनताको पक्षमा काम गर्न नसकेको बताउँदै सिंहले महिनौंदेखि आन्तरिक कलह र कुर्सी खेलमा लागेकाले महामारीका बेला जनताको समस्यासँग सरकार बेखबर रहेको आरोप लगाए। संविधान र जनताको मर्म र भावनाअनुसार काम नगर्ने सरकारलाई जनताले नै ठेगाउन लगाउने भन्दै सिंहले कांग्रेस त्यस्तो सरकारको बैसाखी नबन्ने स्पष्ट पारे।

नाम परिवर्तन गरेकोमा असन्तुष्टि
प्रतिनिधिसभा सदस्यसमेत रहेका सिंहले रत्नपार्कको नाम परिवर्तन गरेकोमा असन्तुष्टि जनाए। सत्ताको आडमा पुराना तथा इतिहास बोकेका पार्कहरूको नाम परिवर्तन नगर्न आग्रह गर्दै इतिहास मेटाउने काम नगर्न चेतावनी पनि दिएका छन्। ‘कांग्रेस सबैको इतिहास र उपस्थितिलाई सम्मान गर्नुपर्छ भन्ने मान्यतामा राख्छ,’ उनले भने, ‘सत्तारुढ दललाई सत्ताको अहं हुँदा जे पायो त्यही गर्दैछ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीले रत्नपार्कको नाम परिवर्तन गर्ने निर्णय उच्याउन आग्रह गरेको छ। राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर जबरा र प्रकाशचन्द्र लोहनीले संयुक्त विज्ञप्ति जारी गर्दै रत्नपार्कको नाम फेर्दा नेपालको मौलिक संस्कृतिका एक धरोहरको अवमूल्यन भएको उल्लेख गरेका छन्। त्यसलाई सच्याउन पनि आग्रह गरेका छन्। काठमाडौं महानगरपालिकाले हालै शंखधर साख्वाको सालिक अनावरण गरी रत्नपार्कको नाम शंखधर साख्वा उद्यान राखेको छ। राप्रपाले शंखधर साख्वाको योगदानको सम्मान गर्न भएका संरचना परिवर्तन गरेर नभई नयाँ र भव्य संरचना बनाउनुपर्नेमा जोड दिएको छ।

प्रकाशित: ९ मंसिर २०७७ ०२:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App