१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

किन गरे रअ प्रमुख गोयलले ‘सरप्राइज भिजिट’ ?

बुधबार मध्यान्ह करिव १ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भारतीय वायु सेनाको विमान ल्यान्ड भयो। उक्त विमानमा को को छन्? कति जना छन्? भन्नेबारे विमानस्थल कर्मचारीसमेत जानकार थिएनन्। अहिले नेपाल र भारतबीच कोरोनाका कारण नियमित उडान बन्द छ। यही बन्दका कारण उक्त विमानले कुटनीतिक उडानको अनुमति लिएको थियो। उडान अनुमतिका लागि भारतीय दूतावासले मंगलबारमात्र नागरिक उड्डयन मन्त्रालयलसँग अनुमति मागेको थियो र मन्त्रालयले उही दिन परराष्ट्रलाई पठाएको थियो। बुधबारको उडानका लागि फास्ट ट्रयाक जस्तै गरेर उही दिन अनुमति दिएको थियो। स्रोत भन्छ कुटनीतिक उडानका लागि अनुमति लिएको भए पनि विमानमा को को हुनेछन् भन्नेबारे न मन्त्रालयले चासो राख्यो न दूतावासले नै जानकारी दियो।  

दुई देशबीचको नियमित उडान बन्द, हतार हतार कुटनीतिक अनुमतिको लागि आग्रह र तुरुन्तै अनुमति प्रदान त्यो पनि वायु सेनाको जहाज। ‘कमनसेन्स’ लगाउँदा पनि कुनै न कुनै खेल हुँदैछ भन्ने बुझ्न असजिलो थिएन। यसो त नेपालमा भारतबाट सुटुक्क गुप्तचर निकायका हाकिम र कुटनीतिक मानिस बेला बेला आउनु नौलो होइन। कहिले औपचारिक भ्रमण पनि हुन्छन्।  

लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको नयाँ नक्सा नेपालले जारी गरेपछि दुई देशबीचको सम्वन्धमा चिसोपन देखिएको छ। नेपालले सीमा समस्याबारे भारतसँग बार्ताको प्रयास गरेपनि त्यो सफल भइरहेको छैन। उता भारत र चीनको पनि सीमा समस्या यतिनै बेला अरु बढेर गइरहेको छ। विभिन्न क्षेत्रमा दुई देशका सेनाबीच ज्यानै जाने गरी झडप पनि भए। यति नै बेला रअ प्रमुख नेपाल आएका हुन्।

तर बुधबारको भ्रमण अली फरक थियो। भारतीय गुप्तचर निकाय ‘रिसर्च एण्ड एनालाइसिस वीङ’ (रअ) का प्रमुख सामन्त  गोयल भारतीय वायु सेनाको विमान लिएर काठमाडौं उत्रिएका थिए। भ्रमण र परिचय यति गोप्य राखिएको थियो कि विमानस्थलमा उनीहरुबारे सोध खोजसमेत गरिएन। न उनीहरुको पासपोर्ट स्क्यान गरियो न वायो म्याट्रिक्स लिइयो। यसको अर्थ थियो उनीहरुको भ्रमणको रेकर्ड नरहोस्। अर्थात यो पूर्णरुपमा ‘खुफिया भ्रमण थियो।’

गोयल आफ्नो भ्रमण सकेर आज १० बजे भारत फर्केको स्रोत बताउँछ। २१ घण्टा नेपाल रहेका उनले यहाँ के के गरे भन्ने  सबै कुरा खुलिसकेको छैन। होटल द्वारिकाजमा उनलाई बसोवासको व्यवस्था भारतीय दूतावासले मिलाएको थियो। उनको भ्रमणबारे भारतीय दूतावासले औपचारिकरुपमा केही भनेको छैन। मिडियाहरुमा समाचार आउन थालेपछि भने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले प्रधानमन्त्री ओली र गोयलबीच भेट भएको भन्दै प्रेस नोट जारी गरेका छन्। भेटका क्रममा उनले नेपाल-भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा आफ्नो धारणा राखेको नोटमा उल्लेख छ।  

पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल र  माधव नेपालले आफुहरुले गोयललाई नभेटेको बताएका छन्। यता कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई भेटेका समाचार आए पनि कांग्रेसले त्यसलाई खण्डन गरेको छ।  

भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरावणेको नेपाल भ्रमण तय भइसकेको समयमा गोयल नेपाल आएका हुन्। तर एउटा कुरा के सहजै अनुमान गर्न सकिन्छ भने सेनापतिको भ्रमण अघि कुनै चाँजो मिलाउन रअको प्रमुख आउँदैनन्। किन भने खुफिया एजेन्सी ‘रअ’ ले आफुलाई आफ्ना मिसनका कारण विशिष्ट सोच्ने गर्छ। र अर्को कुरा नेपाल सरकार र प्रधानमन्त्रीको जानकरी विना पनि त्यो लेवलको मानिस छिमेकी देश आउँदैन। राष्ट्रिय अनुसन्धानका एक पूर्व अधिकारी भन्छन् ‘रअ’ को हाकिम छिमेकमा जासुसी गर्न आउँदैन ‘कुरा मिलाउन’ आउने गर्छ।  

लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको नयाँ नक्सा नेपालले जारी गरेपछि दुई देशबीचको सम्वन्धमा चिसोपन देखिएको छ। नेपालले सीमा समस्याबारे भारतसँग बार्ताको प्रयास गरेपनि त्यो सफल भइरहेको छैन। उता भारत र चीनको पनि सीमा समस्या यतिनै बेला अरु बढेर गइरहेको छ। विभिन्न क्षेत्रमा दुई देशका सेनाबीच ज्यानै जाने गरी झडप पनि भए। यति नै बेला रअ प्रमुख नेपाल आएका हुन्। नेपालको आन्तरिक राजनीतिमा भारतीय एजेन्सीको प्रभाव कम भइरहेको र नेपाल चीन तर्फ ढल्कन सक्ने डर उनीहरुलाई छ नै। नेपाल र चीनबीच जोडिएको सीमाको भुराजनीतिक अर्थ छ। यसले भारतलाई झस्काउने गर्छ। अर्को तर्फ क्षेत्रीय शक्ति भारतसँग सम्वन्ध सुधार नगरि सहज हुँदैन भन्ने प्रधानन्त्रीले पनि बुझेका छन्। यी दुई फ्याक्टरले गोयल नेपाल आएको हुनसक्ने एक कुटनीतिज्ञ बताउँछन्।  अर्को नेपालको आन्तरिक राजनीतिबारे पनि उसले चासो राखेको पाइन्छ। यहाँको राजनीतिलाई भारतले आफु अनुकुल बनाउन प्रयास गरिरहन्छ।  

खुफिया एजेन्सीका हाकिम छिमेकमा आएको लुकाउन खोज्दा खोज्दै पनि बाहिरिएको छ। प्राय यस्ता भ्रमण सरकारकै आग्रहमा हुने गर्छन् ताकी आफ्नो शक्ति सन्तुलमा केही सजिलो होस्।

प्रकाशित: ६ कार्तिक २०७७ ०८:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App